कविता : छोरी दान किन ?
जाउँ पराइ घरमा कसरी म आज
बाबा, आमा, दाजु भाइ यही हुन्छ राज
जन्मेर हुर्किएँ म यही समाजमा
छोरी पराइ भई जानु र मर्नु कहाँ ?
यही हो चलन गजबको कस्ले चलायो ?
विना अग्नी जीवन भर मुटु यो जलायो
पानी समाई कन छोरी दिएर दान
यो पून्य कर्म भनी कोही पनि नठान
झन पाप हुन्छ बुझ मानिस दान गर्दा
ती छोरीको नयन बाट त आँसु झर्दा
झन् पाप हुन्छ बुझनु धर्म हुँदैन कहिल्यै
छुटाउ यो चलन समाज मिलेर पहिले
बिन्ती म गर्छु दिन रात दुई हात जोडी
सक्तिन बस्न पर माया र मोह तोडी
मज्जा थिए ती दिन बाह्र र पन्ध्र सम्म
बस्थे म खुशी सँग सब चिज थियो अगम्य
प्यारी थिएँ म सबकि अति हाइ हाइ
खेल्थे म दाजु भाइ सँग बहुत रमाइ
आफ्नै ठानी आँगन चौकीहरु बनाई
रोप्थे म फूल गमला बीच खुब सजाई
फूले सबै फूलहरु ती सुबास छरेर
त्यही फूलका बटुकीमा रस खुब भरेर
त्यही फूलका रसमा भमरा झुलेर
गाउँथे मिठो गीतहरु रसमा भुलेर
राता, नीला, पहेँला पुतलीका ताँती
नाँच्थे मिलेर सब कम्मर भाँची भाँची
हेर्थे म नाँच खुशी भई कन एक बेला
माहुरी, भमरा, पुतलीहरुको त्यो मेला
घुन घुन गरी गीत ती गाउँदथे दोहोरी
सुन्थे म मख्ख भई कन गीत एकोहोरी
रोपे अझै फूल ती कौशीहरु सजाई
हाल्थे पानी र फूल गोड्दथे रमाइ
आफ्नै थिए कोठा चोटा सब आँखीझ्याल
यस्तो होला भनी मलाई थिएन ख्याल
के ले म बदलिन गएँ के थियो तरङ?
स्वप्ना सरी जीवन यो मन भो भरङ
माता, पिता, साथी, संगी ती भए पराई
बित्ने भयो जीवन हाय सधैं डराई
ठन्डा थियो दिल हिजो किन आज जल्छ ?
पञ्चाग्नी ले सब जलाएर देह गल्छ
देवता, ऋषिमुनिहरु सब ती मिलेर
लेखे होलन केही कुरा विषय भुलेर
दान गर्नु पर्दछ ती छोरी र हुन्छ धर्म
मिल्ने छ युग युग भर पनि पुन्य कर्म
भन्ने सुनि सब ती शाश्त्र पुराण सारा
लिए ती पुर्खाहरुले पनि त्यही सहरा
एउटै छ रक्त विजको एउटै छ नाता
एउटै छ गर्भाशय फेर एउटै ती माता
छोरा र छोरीहरुमा किन भेद भाव ?
बुझ्दैन मर्म विचराहरुको समाज
पीडा र मर्म जननीहरुमा छ एक
राख्तैन आज विधिले किन केही विवेक ?
जन्मन्छ हाय नवजात शिशु जसै ता
खलबल र हलचल मच्चियो मनमा सबैका
छोरा भएछ सबका ओठमा छ हाँसो
छोरी भएत भयो जीवन भरको नासो
सुक्यो ती माता, पिताको ओठ मुख सारा
वर्षे नयन विच सहश्र ती अश्रु धारा
यस्तै छ नारीहरु माथी थिचो मिचो धेर
पर्ने छ गर्नु अब केही कुराको हेर फेर
मानिस दान गर्ने छाडी देउ विद्वान
विद्या र वुद्धि दिनु यही छ पुन्य जान
छोरो र छोरी एउटै हो रक्त विज
हुँदैन दान दिनु यो छ अमूल्य चिज
जस्तै अमूल्य चिज होस जब हुन्छ दान
दाने भनी अपहेलन हुन जान्छ जान
यही हो अन्याय अत्याचार सब नारी माथि
धोखा दिन्छन जीवन भर अब नाना भाति
छिया, छिया भइ चिरिन्छ किन आज छाती ?
मानिस खान गर्नु बहुतै नजाति
दास हुन्छिन् छोरी जब पराइ घरमा गएर
काम गर्नु पर्छ जीवन भर दासी समान भएर
एक बात त्रुटि हुन गए पनि मार्छन् लात
जा निस्की मुन्टी यहाँ नबस चलि जाइ जा त
भन्ने यी वातहरुले अज गर्छ डंक
लाउछ माइतीहरुमा पनि धेर कलंक
विन्ती म गर्दछु ज्योतिषी पण्डितहरलाई
दान गर्ने यो रिति छुटाउनुहोस मिलाई
हुर्किन यही आँगनमा तीनि हाँसि खेली
गाई समान अब दान भइन ती चेली
नारी भइन शिव हरे ती पशु समान
नारी दान लिइ पुरुष बन्छन बडो महान
जा सम्म लाउँछिन् बधूले धनको त्यो धारो
हुन्छिन् उ घरमा सबको पियारो
दाइजो कम यदी भए पछि हुन्छिन् हेला
छाती दुख्यो मुटु फुट्यो अब यस बेला
विना अग्नी मुटु जली जब हुन्छ ताप
गर्छिन् ती माइतीहरुलाई पनि धेर श्राप
यो श्राप थापि शिरमा कति हुन्छ धर्म?
मानव भै मानवको बुझ्दैनन् मर्म
यस्तै हुँदा मानव शिक्षा भयो अधुरो
स्वप्ना सरी क्षण छ जीवन जीवन भो मधुरो
हेररफेर कत्ति भए शताब्दी र रुप चित्र
छोरी दान गर्ने उही प्रथा छ बढो विचित्र
टीका लगाई दिनु वर-बधुलाई राखी
हुँदैन दान दिनु तिल कुश पानी समाति
यही गर्छु रोज अनुरोध विनम्र साथ
त्रुटी भए गर्नु हवस गरुहरु माफत
छोरी र बहिनीहरुको बुझिदेउन मर्म
यो मर्म बुझ्छ जसले त्यही हुन्छ धर्म
गर्छु प्रणाम शिर झुकाएर बार बार
यो दुःख पुकार गर्दै विन्ती हजार ।
सुन्दरहरैंचा-६, दुलारी मोरङ
Facebook Comment