सवै दलको सहमतिमा संविधान संशोधन गरिन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
३ असोज २०८१ १२:०७

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्ने भन्दै यसका लागि सवै दलहरुबीच सहमतिको अधिकतम प्रयास गरिने बताए।

संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उनले बताए। प्रधानमन्त्री ओलीले जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सह-अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको धारणा राखे।

प्रधानमन्त्री ओलीले संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको बताए।

उनले अहिलेको राज्यव्यवस्था कुनै वंशको निरंकुश शासनको निरन्तरता नभएको र जनताले आफ्नो शासक आफैले छान्ने विधिद्वारा परिचालिन प्रगतिशील प्रणाली भएकाले पछाडि नफर्कने स्पष्ट पारे। अहिले सामाजिक मर्यादालाई महत्व नदिने प्रवृतिहरु समाजमा देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता प्रवृतिहरु कदापी स्वीकार्य नहुने धारणा राखे।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने स्पष्ट गरेका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गरे।

संविधानमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रुपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरुपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे।

“संविधानमा लेखिएका कतिपय अधिकारहरु नागरिकका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरु कुनै मुद्धा छैन ।’’, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भने, “युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरुलाई म भन्न चाहान्छु, तपाईँहरुसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरुबाट बचाउनुुहोला ।’’

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *