शंकरप्रसाद रिजालका ५ कविता

शंकरप्रसाद रिजाल
५ असोज २०८१ ६:५३

भर्‍याङ

भर्‍याङ सोपान हो तल माथि उक्लिने
यो चढ्दै जाने हो कतैबाट नझुक्किने

पद सातको बाटो बिस्तारै माथि पुगिने
यो बाटो नजानेमा तल नै अल्मलिरहने

माथि टेक्न भुलेमा हुन्छ उकालो पथ
सुते झैं उठेको छ यो सोपानको पद

थाह पाइ चढेमा फेरि पुगिन्छ परम्पद
अज्ञानी मुर्ख त्यो मानिस यसदेखि परैबसी

चढ्दैन उसले फेरि सर्पको डरले खसी
बाटो छ चढ्न सक्तैन उसको लक्ष्य कँहा छर

चक्र कायामा नै छ कहाँ उक्लिन सक्छ र
अँध्यारो ज्ञानमा उसको हुन्छ त्यो ठूलो भय

नबुझ्दा ज्ञानको बाटो त्यो बन्छ अति दुर्बल
बाटो छ एउटै यो मार्ग उक्लिने सधैं गर

ओर्लेमा साथमा कोही हुँदैनन् यसको भर
जीवको मार्गमा जान भर्‍याङ नै चढ्नु पर्छ है

भाग्यको डोरीमा हिँड्न यसैको पछि लाग्नु है
जतिले जे गरेनि चढ्ने यो नै हो भर्‍याङमा

यसैले पुर्याउँछ मानिसलाई त्यो सिंहासनमा
पहिल्याउ त्यो मार्ग भर्‍याङ लिइ साथमा

हेर अनि यसको उचाइ तिम्रो त्यो जीवनमा
कति बसन्त बिते यसमा त्यो मार्ग खुलाउन

सकेनौ यसमा चढ्न पुग्न त्यो उचाईमा
जान यसको सुत्र त्यो सोपानमा चढिकन

बढाउ आफ्नो मान त्यो माथि उठिकन
योग कर्मको रोज यसको पूजा गरिकन

कृष्णको दर्शनमा लाग निरन्तर बुझिकन
कर्मको गतिले तिम्रो अन्धकार हटाउँछ

यसैको भक्तिले तिम्रो महाज्ञान बढाउँछ
आखिर यसैले सबलाई कैवल्यमा पुर्याउँछ

निन्द्राको तर्कना

देशको अवश्था हेर्दा निद्रा छैन आँखामा
धेरै दिन भयो यस्तो सुतेको छैन रातमा

तर्कना छुट्छ यो मनमा रातदिन यसैगरी
बिकास छैन देशमा बनेनन् धनी कसैगरी

व्यवस्थाको परीबर्तन कति, कति भो यहाँ
सबैको रिस एकै छ एकै छ सधैं यहाँ

समृद्धि अरुको देख्छु देशको म देख्दिन
मनको आँसुको धारा कहिले रोक्न सक्तिन

रोउँ त सोध्छन् किन रोएको यस्तरी
हाँसौं त हाँस्न सक्तिन बिदेसमा जस्तरी

लागेन निद्रा कहिले रातमा कसैगरी
बिते रातका निद्रा रोइ रोइ यसैगरी

राजापनि रुने गर्थे गर्छिन् पुकार आमा भनी
प्रजापनि रुने गर्छन् यही निद्रा नलागेपनि

निद्राको खोजमा हिँड्ने सारा निद्रा टुटेसरी
निद्रादेबी उठी हाल्छिन् टन्न निद्रा परेसरी

म जस्ता कतिछन् देशमा जो अनिद्रा बनी
बसेका छन् चिन्ताले देश बन्लाकी भनी

सक्दैनन् अब ब्युँझेर बस्न कोही सधैं भरी
प्रमाण खोजेमा कोहीले ताराहरु रोए सरी

मस्त निद्रा कसैका छन जोसबै परिपूर्ण छ
शोक उसका कुनै हुन्न जो सधैं गतिशून्य छ

झगडा मेलको छैन छ सधैं रिस रागको
उम्लेको पानीमा जस्तै हात चोपल्नु जत्तिको

उठेको तर्कनाले सारा निद्रा खुलेको छ
देशको आशले हाम्रो सारा दीप निभेको छ

भयो लोकतन्त्रको जन्म कहिले यो बुढो हुने
कहिले देसमा सबको सारा इच्छा पूरा हुने

नेपाली सुतेका छैनन् पर्खेर बस्ने जति
अनिद्राको झोकमा आफ्नै ऐना फोडे कति

रोकिन्न यसको यात्रा यो निरन्तर रहन्छ नै
यसको झोकमा एकदिन नवनिर्माण हुन्छ नै

चिता

लासमाथि चिता जल्छ आगोको संसारमा
जिउँदो शरीर ढल्छ सुती आफ्नै आराममा

मलामी उसका सारा हेरी रन्छन टुलुटुलु
रोइ शोकका सास फेरीरन्छन खुरु खुरु

रिसराग कतै छैन मानौ संसारमा कतैपनि
इच्छा धनको लोभ छैन यहाँ कुनैपनि

नदीको तुरतुरे पानी बगेको छ सामुमा
कालो गोलको थुप्रो बनेको छ डीलमा

झिल्का आगको पिल्को चारैतिर वरिपरी
फैलिन्छ नभमा त्यो चिताबीच घरीघरी

घन्टौं जल्दछ त्यो लास ठूलो मुढा जलेसरी
पानी आगोमा पर्दा ठूलो सास फेरेसरी

कहिले कटकटे बाजा बजेको छ लासमा
कहिले जलजले आगो बलेको छ शीरमा

यस्तैमा कालको मुख ठूलो भइ डर लाग्दो
कुरेको छ अर्को लास खाइ पटक पटकको

एक चिता जलिजान्छ अर्को सारी अघिअघी
खित्का छोडी चिता हाँस्छ मलामीको पछिपछि

चिता रुने कुरै छैन यो हाँस्नेछ सधैंभरी
मरेका लासको ढेर खइरन्छ घरीघरी

खानकी उसको ठूलो हामी कहाँ सक्नु र
गाँस मासुका फाला खाइ के थेग्नु र

चराझैं चारो चर्नुछ यो हाम्रो जीव भोजन
खाइ डकार डाक्ने हो सक्तैनौ हामी गर्जन

सक्तैन मानिसले चिताको जोरी खोज्न
बोलाइरहेछ उसले आफ्नो काखमा लिन

चिता मानिसको हेर देखिन्छ यो अन्तिममा
त्यही चिताको हेर रुप मणिकर्निकाको घाटमा

हजारांँ लासको चिता जल्छ एकदिनमा
आनेजाने गरिरन्छन् चिताको नजिकमा

चिता मनको हाँसो गर्छ खित्का छोडिकन
उसको हाँसोमा जीवन ढली आउँछन् मरिकन

दन्दनी आगको ज्वाला चिता बन्दिन्छ यौवन
जलेर आगमा लास चिता बस्छ हाँसीकन

चिताको रुपनै घोर यो अति कालरुप छ
खरानी मनको धुलो यो कालो अती मौन छ

रोइ कराई के गर्नु छोड्दैन यसले झोला
चितामै बस्नुपर्नेछ एकदिन यो मानिसको चोला

बालेन हाम्रो नयाँ नेता

आशाको दीपको दियो, बलेको छ नेपालमा
बालेन हाम्रो नेता, देखिएका छन् यो देशमा

कामको बेग नै उनको, सर्बत्र जनप्रिय छ
सफा काठमाडौं सहर, सर्बत्र लोकप्रिय छ

फोहर कतै कतै छैन, सब सहर छन् सफा
यसैले नै देखाएको छ, वाह! बालेनको विधा

मुख छोपी हिड्नु पर्दैन, अब त्यो गयो कता
सफा, सुग्गर निक्कै नै छन्, अरु नेता कताकता

नबजे बाँसुरी पहिले, यो काष्टमण्डप नजरमा
बजे शंख फुके अहिले, उनै बालेनले सहरमा

बुट्टाको फुटपाथै त्यो, नजरै लोभ लाग्दो
छेउका बिरुवा सारा, हराभरा र मोह लाग्दो

नैतिकता मन बुद्धिको, शिक्षा इन्जिनियरको
सारा निष्ठाको मुट्ठी बाँध्ने, धर्म छ कर्मको

कसैको पछि लाग्दैनन्, आफ्नो स्वकर्म बुझिकन
दोष उनको कुनै छैन, आफ्नो काममा कुनै दिन

दोषीको दोष खोतल्ने, कस्तो खोजनीति छ त्या
रहेनन् कोही ती भ्रष्ट, खोजी पत्ता लगाउँछ त्यो

सानो उमेरको हेर बालेन शाह, कति रुष्ट छन्
बिग्रेका सडक ती हेर!, आज कति झल्लमल्ल छ

प्रेस चौतारी कुनै छैन, धाक फूर्ति जमाउने
गरेका कामको सारा, सारा यत्र तत्र फिजाउने

राजनीति कुनै छैन, स्वतन्त्रबनी उनी हिँड्दछन्
सारा विश्वलाई नै, आश्चर्य चकित पार्दछन्

जात्रा भिडमा हेर, उनको सर्बत्र स्वागत
पुराना देशका नेता, लुकेका छन् भित्र

बोलीको शब्द सुनिन्न, कामनै उनको छवि
छोटो समयमा नै उनले, गरे काम कतिकति

उनको कामले गर्दा, बुढा, युवा भए जति
प्रशंशा गरी हिँड्दैछन, सडकमा कतिकति

राजनेता बनी हिँड्ने उनमा छ त्यो गुण
सारा बुझी उनी गर्छन्, काम उनको छ त्यो सुन

अरु नेतापनि हेर, घोक्रो मात्र फुलाउने
कर्ममा छैन केही तिनको, धाकमात्र जमाउने

बोली दुष्टको शब्द, अरुलाई होच्याउने
पाए बिचरा जनतालाई, बिदेशमा पठाउने

दूर दृष्टि भएदेखि, सबै बालेन बन्दिने
कर्मको खोजमा हेर, फेरि बालेनै सम्झिने

सम्झिने कर्म उनको छ, यो देश नेपालमा
नियमै खोजी हिँड्ने, रहेछ उनको नजरमा

आशा उनको एउटै छ खोट कुनै नभेटिने
सारा युवा डटेका छन् उनैलाई सर्बोच्च बनाउने

तसर्थ जाग हे! जाग,हे! युबा यो नेपाल बनाउन
लाग है लाग हे! युबा, यो बालेनलाई जगाउन

आँखाको महिमा

आँखा दृश्यको जालो जो परैबाट देखिने
त्यो आँखा झट्ट हेर्दा कतैबाट नदेखिने

अर्काको आँखको बिन्दु हेरी चित्त बुझाउनु
सबैको आँखको सिन्धुमा आफूपनि नुहाउनु

आँखा ज्योतिको जोडी टक्क एक देखिने
दुबैको दृश्य हेर्दामा एकै चिज बन्दिने

राति निदाई यो पुग्छ आफ्नै अदृश्य लोकमा
बिहान उठी यो हेर्दा फर्किन्छ आफ्नै नजरमा

आँखा टक्क अडी हेर्छ आफ्नो प्रिय बस्तुमा
यही आँखा डुलिरन्छ आफ्नै त्यो संसारमा

भर छैन आँखाको जहाँपनि त्यो देख्ने
कसैको गोप्य बस्तुमा आँखा टक्कलगाउने

बाहिरको दुई आँखा प्रिय अप्रिय छुट्याउने
अन्तरंगको त्यो आँखा सबै समान देख्ने

आँखामा आँसुको धारा बग्छ त्यो नदी बनी
त्यही आँखाबाट आँसुका थोपा खस्छ मोतीबनी

आँखा निदको पाना किताब सरी सुत्दछ
यही आँखा बिहानीमा खुरुक्क फेरि उठ्दछ

आँखाको महिमा हेर संसारमा नबिर्सिन
आखा मोनालिसाको हेर संसारै छक्क पार्ने

आँखा सबको प्यारो संसारै सब देखिने
त्यसमा गाजलको रेखा भित्रैदेखि लोभ्याउने

सुन्दर आँखाको बर्णन सबैले गर्दछन् यहाँ
यसको सुन्दरतामा खुसी हुन्छन जहाँत्यहाँ

यही आँखा खुसीमा चारैतिर रमाउँछ
आँखा सोकमा फेरि आँसुधारा बगाउँछ

आँखाले परेला छोपी दिन निशा बनाउँछ
यसैको हेराइमा फेरि स्वर्गे तुल्य बनाउँछ

परेलाले छोपी आँखा भित्र कतै निदाउँछ
खोलेमा यसले फेरि निर्मल दृष्टि देखाउँछ

हेर्ने आँखा जोडी छन् यो सधैं अतृप्त छ
तेस्रो आँखा एकै छ यो सधैं तृप्त छ

बाहिरको दुई आँखाले हेरेमा संसारै रमाउने
निधार भित्रको आँखा भित्र भित्रै देखाउने

आँखाको महिमा हेर यसको मूल्य अपार छ
त्यही आँखा निदमा हेर कतै लुकी बस्दछ

अगाडि देख्ने आँखा अगाडिनै बनेको छ
पछाडि हेर्ने आँखा निधारमा लुकेको छ

हेरेमा तेस्रो आँखाले संसार एक देखिने
जोडी आँखाले हेरेमा जगतै रम्य देखिने

खुलेको आँखामा हेर मुहार कति झल्ल छ
सुतेको आँखमा हेर नारायण सुते सरी छ

दुबैको मिलनमा हेर विश्व कति क्रौन्च छ
यसको बिछोडमा हेर दृष्टि कति मौन छ

ठूलो संसारको बाटो आँखाले नै देखाउँ
यसको बन्द पर्दामा अन्धो नै बनाउँछ

हेर आँखा दिनमा बलेको बत्तिको दियो
आँखा अँध्यारोमा हेर अन्धोले खोज्ने सियो

आखीर यही आँखाको नानीमा छोडी सबै मरेसरी
आशाका तिरका तार छर्रा बनी उडेसरी

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *