‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

डिसी नेपाल
३ असोज २०८१ २०:०६

काठमाडौं। संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु सहभागी भएका छन्।

कन्सर्टमा उनले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरुसँग संविधान दिवसको खुसी साटे। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए। नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रुपमा मनाउन सबैमा आग्रह गरे।

उनी उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो। सहभागीहरुले नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए। कलाकारहरुले गीत प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री ओली कार्यक्रममा पुगेका थिए।

त्यसअघि कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन्।

समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। कन्सर्ट चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ।

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *