आशिकी-मुग्लिन : एक प्रेम कहानी !

हृषिकेश ढकाल
५ असोज २०८१ ७:३८

ब्रो-सिस ब्यान्डको “बस सुन्दरी ठन्डी महिना जाडो छ… ” भन्ने गीतमा समर्पित।

श्रीराधेश्याम

“देउरालीको चौतारीमा सङ्गिनीले
आँखा छोपेको आउँछ अझै झझल्को
आउँछ अझै झझल्को…”

जिन्दगीमा न कुनै देउराली थियो, न मनको तराईमा कुनै देउरालीको चौतारी थियो।
न सङ्गिनी थिए, न प्रेमसङ्गिनी-कसैले आँखा छोपेको थियो।

झमक्क पनि हुन नचाहने खुल्ला आँखा, मनोरम दृश्य। त्रिशूली किनारै किनार राजमार्गमा गाडी गुडिरहेकै थियो। गाडी भित्र अक्सर यस्ता गीतहरू बज्दथे। हर गाडीका यी हर गुरुजीहरू या त जबरन आशिक थिए, या त प्रेम स्फुरित प्रेममा चुरचुर तिनका आशिकी हृदय हुन्थे।

यात्राको सुरुमा भिडभाड गाडी, यात्रा केही अगाडि बढे पछि नजिकका यात्रु ओर्लन्थे, गुरुजीका आशिकी मार्ग प्रशस्त गर्दिन्थे। त्यति बेरसम्म गुरुजीको अक्खा आशिकी हृदय “वार्मअप” गर्थ्यो सायद ! सीट बाहेकका यात्रु नभए पछि गाडीको ढोका लाग्दथ्यो।

एउटा मात्रै ढोका भएको गाडीको ढोका सहचालकले लाउँथे। सिनेमा हल सम्झौं, तर सिनेमा हल जत्तिको हैन, झ्यालका प्राय: पर्दा यात्रुहरूले नखोलिहालेकाले र ढोका लागे पछि केही मन्द अँध्यारोको महफिलमा गुरुजीका आशिकी “फुलफेजमा” नृत्य गर्न थाल्थे र सुरु हुन्थ्यो आशिकी महफिल।

अविवाहित भए प्रेमिका सम्झी बहन थाल्दा हुन्, विवाहित भए घरकी श्रीमती; “बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली..” । मापसे गरी सवारीसाधन चलाउनु जघन्य अपराध हो। ती गुरुजीहरूका यस्ता बदमासी चाहिँ हुन्न थियो र यस्तो कहिल्यै देखिएन पनि अनि कहिल्यै नदेखियोस् पनि।

तर यिनका “आपसे” हुन्थे – “आशिकी पदार्थ सेवन”। आपसे पदार्थ चाहिँ सङ्गीत हो-प्रेमसङ्गीत। “आपसे”का  “फुल”  नसामा यी हुन्थे! आशिकी पदार्थ भनेको प्रेमरस हो, सेवन गर्नेवाला चाहिँ हृदय हो, आशिकी मन हो।

मन प्रेममा मनमगन भएपछि बेहोसी हैन जागरण आउँदो रहेछ कसो – गाडीका यात्रु सबैलाई उनको आशिकी महफिलमा उनी आफूसँगै बगाउँदथे। गाडीसँगै दौडाउँदथे। गाडीसँगै सबैलाई दौडाइ प्रेमाकाशमा विचरित गराउँदथे।

गाडीमा गीत बजिरहेको नै छ:

“हेर सुन्दरी यो मन मेरो साँचो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ
बस सुन्दरी ठन्डी महिना जाडो छ..”

यता भर्खर एक किशोर, यिनै गाडीमा एक यात्रु – न कुनै प्रेम थियो, न कुनै ट्र्याजिडी-वियोग। गीत सँगसँगै गुडिरहेको गाडीको झ्यालवाला सिटबाट उडेर मन त्रिशूली पारीको डाँडामा पुग्दथ्यो, डाँडाका घनाजङ्गल बिच पातला ती घर-आँगन चहार्दथ्यो।

त्यहाँको रामारुमि चकमन्नतामा एक अमिलो असमञ्जसलाई मनले लिएर त्यतै अनवरत हेरिरहेको आफ्नै यो मनोलोकमा फेरि फर्कन्थ्यो। र, फेरि मनोलोकको यो गुँड छाडी भुर्र उतै दौडन्थ्यो। खै के चुम्बकत्व धारित थिए ती परिदृश्यमा!

बालक मन-किशोर मन एकटक अडिन्थे, च्याप्पै जम्दथे, घुल्दथे, रम्दथे, पहाडका ती कुना-कन्दरामा त्यतै कतै सधैँलाई बिलाउन चाहन्थे। समतल तराईका मान्छेलाई पहाडका उबडखाबड रोमाञ्चक लाग्दो रहेछ, पहाडका ती कुनाको पिँधमा निक्लन नचाहने भाँडाको पानी झैँ मन थिग्रिने रहेछ, अड्किने रहेछ।

अनि पहाडका अग्लाइमा उक्लि दौडिने रहेछ, सिङ्गो पहाड नै बिछट्टै मन पर्ने रहेछ। पहाडको परिकल्पना नै रोमाञ्चक परिकल्पना हुने रहेछ, पहाडी परिकल्पना मै मनमा पुरै रोमाञ्चकता उभरेर आउने रहेछ।

मधुरीमा हुन्,
श्यामश्वेत जिन्दगी अरुणिमा हुन्।
सिर्फ एक हिमाली मुस्कान नै काफी छ,
रामारुमि जिन्दगी पूर्णिमा हुन्।

अर्कोतिर पहाडका मान्छेलाई तराईका रपट फैलिएका फाँट मन पर्दा हुन्।

प्रेमको लागि व्यक्ति त माध्यम मात्र हो। कोही व्यक्तिसँग प्रेम गर्नु, आफूलाई नै ऐनामा देख्नु हो। दोस्रो व्यक्ति त माध्यम मात्र हो। यहाँ सबैले आफैँलाई प्रेम गरिरहेका छन्। अरू मार्फत आफैंलाई प्रेम गरिरहेका छन्।

परब्रह्म परमात्माले जुराइदिएको अरूलाई प्रेम गर्ने बहानामा अस्तित्वको हरेक एकाइले आफैंलाई प्रेम गर्दै छ, यसरी सिङ्गो अस्तित्व प्रेममा रत छ। प्रेम जब हृदयमा स्फुरित हुन्छ, तब अर्को व्यक्ति चाहिने कुरा गौण हुन पुग्छ। कोही होस् नहोस् ऊ केवल प्रेममा मग्नमस्त हुन्छ।

योगीहरूको अवस्था सायद यही हो – दैव्य प्रेममा चुरचुर हुनु, प्रेम स्वरूप हुनु, प्रेमरूप हुनु, प्रेमावतार हुनु। अतः ईश्वरले प्रेमको यो उच्चतम आयाममा उक्लिन हरेक जीवलाई कसैलाई प्रेम गर्ने बहाना दिएर सिकाइ रहेको छ, आध्यात्मिक प्रेमशेखरमा उक्लन घच्घच्याइ रहेको छ । आशिकी गर्नु त टुटेर गर्नु !

यता राजमार्ग छेउछाउका ती छाप्रा-कटेराका चिया पसलमा धेरै बेर पाकेर तयार भएको दूधको स्वदिलो गाढा बाक्लो चियाले पहिलो मिठो सुरुपमा जिब्रो डामेको अझै ताजा छ, चियाको तातोले तातेको स्टिलको तातो कपको त्यो पोलाइ भर्खरै आलो छ, यही जिब्रोमा छ झैँ लाग्छ।

खैर ! अब त चिया पनि छुटेछन्, गाडीका ती यात्रा छुटे, अनि मुग्लिनका ती छोटो तर नमेटिने प्रेमविश्राम छुटे, बरसात झैँ बग्रेल्ती उसबखत बर्सिएका अनेक साङ्गीतिक समूहका यी कालजयी गीत पनि अब अतित सँगै हामीमाझ आउन छुटे।

गाउनेवालाहरू अतीत मै छुटे, ती गायन समूह त्यतै छुटै, कोही फुटे, गायनको त्यो लहर नै छुट्यो। तर आज आएर फेरि-फेरि पनि त्यसबखत ती जबरन आशिक गुरुजीहरूले सिकाएका – प्रेम गर्ने, प्रेम गरिनै रहने अनि कोही होस् नहोस् आफैँ प्रेममा मग्नमस्त रहिरहने सिकेको पाठमा यिनै गीत बजाउँदै बहने रहर चैँ रहिनैरह्यो।

सुखै सुखको जिन्दगी फिक्का-फिक्का, निरस सुख्खा
जिन्दगीमा कमी एउटा, पीडा एउटा हुन आवश्यक छ ।

दर्द भरे दिलको उकुसमुकुस मिठो, पीडाको तड्पन मिठो
जिन्दगीमा पिरती एउटा, अधुरो हुन आवश्यक छ ।

दर्द मिश्रित भावना मिठो, भावनाको रोमाञ्चक बगाई मिठो
जिन्दगीमा मनस्वी एक मन, आवारा-रसिक हुन आवश्यक छ ।

यसरी दुःखको पहाडमा बसेर पनि प्रेममा आनन्दित हुन तिनै गुरुजीहरूले सिकाए ।

मुग्लिन:

गाडी अघि बढ्दै जाँदा गुरुजी झन् झन् प्रेममा डुबेका छन्, यस्तै लाग्थ्यो ! गाडीमा गीतको श्रृङ्खला पपबाट नेपाली चलचित्रका गीत तर्फ सोझिएको छ यसरी जसरी गाडी काठमाडौँ तर्फ सोझिँदै छ पिरतीका घुमाउरा भावित राजमार्गमा-

“त्रिशूली बगेर मर्स्याङ्दीमा खसेछ…”

त्रिशूली बगेर कहिल्यै मर्स्याङ्दीमा खसिनन्। बरु मर्स्याङ्दी त्रिशूलीमा खसेकी छन्। त्रिशूली प्रेमको कारण हायलकायल व्यग्र मर्स्याङ्दी त्रिशूलीमा मिस्सिएर त्रिशूलीमय, त्रिशूली नै भएकी छन्।

अनि बरु मर्स्याङ्दी पाएर त्रिशूली पनि मर्स्याङ्दीमय छिन्। जसरी श्रीराधारानी पाएर भगवान् श्रीकृष्ण श्रीदेवी राधामय हुनु भएको छ र भगवान् श्रीकृष्ण पाएर श्रीराधिकारानी श्रीकृष्णमय हुनुभएको छ।

उदितनारायण झाको खुस मिजाज दिलखुस स्वरमा प्रेमनाच नाचेको यस मिठो गीतबाट गीतकारले आफ्नो हृदयको मिठो प्रेमितभावको मग्नता प्रकट गरेका होलान् सायद ! रक्सीको नसाले झैँ पिरतीमा लट्ठिँदा त्रिशूली नै मर्स्याङ्दीमा खसेको प्रेमबेहोसी भाव व्यक्त गरेका होलान्।

त्यही भएर दोस्रो पङ्क्तिमा उनी भन्छन् –

“तिम्रो मायाँ लौ मलाई रक्सी झैँ चढेछ… ” पिरतीको नसा चढेको दिलजले एक आशिक मनलाई अतः यो गीत सर्वथा सही सिद्ध देखिन्छ, नसा बगैर यो गीतलाई हेर्दा अल्मलिएको भान परे पनि ।

सभ्यताको जननी त्रिशूलीमा कयौँ रचना रचिए झैँ लामो यात्राको देउराली चौतारी-प्रेमविश्राम दिने मुग्लिनमा पनि कैयन गीत लेखिए;
“मुग्लिन पारि तरेर गण्डकी..”

गीतले भने झैँ मुग्लिन तरेर पारी तनहुँमय, कास्कीमय, अझै पर स्याङ्गजामय, उता लमजुङ्गमय या यता गोरखामय या पश्चिम नेपालको पहाडीमय हुँदा ती पहाडी मिठासको कहानी बेग्लै छ।

अनि मुग्लिन वारी काठमाडौँ आउँदा या मुग्लिन पारी सुन्दर चितवन तर्फ अघि बढ्दा पनि चुम्बकमय मुग्लिनको वियोगी न्यास्रोले च्याप्तै ल्याउँछ, तानिरहन्छ । आखिर के नशा छ हँ मुग्लिनमा ?!

त्यस समयको यस भविष्यबाट फेरि फर्केर सुस्केरामयी हेराइ हेर्दा अतीतमा मिठास मात्र चैँ किन छुट्छ हँ ?! र, रहिरहन्छ केही आनन्द दिएको जस्तो गरेर ठग्न आउने अमिलो याद ! तर फेरि-फेरि यिनै गीत बजाउँदै बहने, बग्ने, बगिनैरहने रहर चैँ रहिनैरह्यो …. खै किन-किन त्यो मुग्लिनसँग यस्तो प्रेम भयो, भयो… ?!….

श्रीराधेश्याम

hrisheekeshdhakal@gmail.com

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *