प्रधानन्यायाधीशको अवकाश समय नजिकिएपछि सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिको तयारी

डिसी नेपाल
७ असोज २०८१ १५:२०

काठमाडौं । अहिले नै ४ न्यायाधीश रिक्त रहेको सर्वोच्च अदालतमा अबको एक महिनामा प्रधानन्यायाधीश र अर्का एक न्यायाधीश समेत अवकाशमा जाने भएपछि एकैपटक ६ न्यायाधीशको नियुक्तिको तयारी थालिएको छ ।

यसको लागि आज न्यायपरिषदको बैठक बस्दैछ । आजको न्यायपरिषद बैठकमा जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस भइसकेकाहरुविरुद्ध परेको उजुरीबारे पनि छलफल हुने बताइएको छ । हिजो पनि बसेको न्यायपरिषद बैठक आज पनि निरन्तर जारी राख्ने सहमति हिजै भएको थियो ।

सर्वोच्चका न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । न्यायपरिषद अध्यक्ष प्रधानन्यायाधीश स्वयं हुने अवस्थामा प्रधानन्यायाधीश नै अवकाशमा जान लागेपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा हुँदासम्म प्रक्रिया लम्बिन सक्ने भएकोले अहिल्यै नियुक्तिको विषय टुंग्याउन लागिएको बताइएको छ ।

बहालवाला न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल अब करिब २ हप्ता मात्र बाँकी छ । त्यसपछि उनी स्वतः अवकाशमा जानेछन् । त्यसपछि प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्दैछन् । राउत अहिले पनि बरिष्ठतम न्यायाधीशको हैसियतमा न्यायपरिषद सदस्य हुन् ।

सर्वोच्च अदालतमा ४ न्यायाधीशको पद अहिले नै रिक्त छ । दुई सातापछि प्रधानन्यायाधीश श्रेष्ठले अवकाश पाउनेछन् भने कार्तिकको पहिलो साताबाट न्यायाधीश प्रकाशकुमार ढुंगाना पनि अवकाशमा जाँदैछन् । उनीहरु अवकाशमा गइसकेपछि पनि सर्वोच्चका सबै न्यायाधीशको पदपूर्ति हुनेगरी नियुक्ति गर्न थालिएको हो ।

यसअघिका अभ्यासमा सर्वोच्चमा न्यायाधीश नियुक्त गर्दा उच्च अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट नियुक्ति गर्ने गरिएको छ । पहिलेका अभ्यासलाई आधार मान्ने हो भने ६ न्यायाधीश नियुक्त गर्दा उच्च अदालतबाट ४ जना र कानुन व्यवसायीबाट २ जना नियुक्त हुने सम्भावना छ । कानुन व्यवसायीबाट कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति नभए उच्च अदालतबाट ४ जना मात्रै भए पनि नियुक्ति गर्ने तयारी छ ।

उच्च अदालतबाट आउन सक्ने सम्भावित न्यायाधीशको सूचीमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला अगाडि छन् । उनलाई यसअघि नै नियुक्त गर्ने भनिए पनि पछि उनको नाम हटाइएको थियो । बरियतामा उनीभन्दा पछाडि रहेका न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त भइसकेर अहिले प्रधानन्यायाधीशको रोलक्रममा छन् ।

मुख्य न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, नित्यानन्द पाण्डे, श्रीकान्त पौडेल र रमेशप्रसाद राजभण्डारी महिलाबाट मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाममा पनि छलफल भइरहेको छ । डा. रत्नबहादुर बागचन्द नियुक्त भए पनि दलित समुदायबाट सर्वोच्च अदालतको पहिलो न्यायाधीश भन्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *