नेपाल डेः एक विरोधाभासपूर्ण वास्तविकता

जितेन्द्र जिसी
८ असोज २०८१ १०:४४

संविधान दिवसलाई ‘नेपाल डे’ मनाउँदा नारायणहिटीको मुलद्वार अघि बजेका गीत संगीतको इको अझै छ होला। त्यसको प्रत्यक्ष साक्षी नहुनुमा आफ्ना कमजोरी ठानेको छु।

अमेरिका आउँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोहा ट्रान्जिटबाट एउटा ड्रोन भिडियो सार्वजनिक गर्दै अभूतपूर्व खुशी ब्यक्त गर्नुभयो। राजाको शालिकसम्म नागरिक उफ्रिँदै थिए।

तर स्तम्भकार आधा खुशी भयो। प्रधानमन्त्रीको खुशी त्यतिबेला पूर्ण हुन्थ्यो जति बेला संविधान दिवसलाई (कतिपय) केही नेपालीले कालो दिवस नभनेका वा भन्ने वातावरण नबनेको भए। कतिपयलाई लाग्ला विरोध लोकतन्त्रको सुन्दर पक्ष। तर कुनै दिन सबै नेपालीको खुशीको दिन बनेको भए त्यो वास्तविक ‘नेपाल डे’ हुने थियो।

प्रधानमन्त्री ओलीसँग अपेक्षा किन थियो भने दुई तिहाइको बलियो सरकार अनि संविधान संशोधनको मुद्दा। यो बुँदाले सबैलाई एउटै मञ्चमा ल्यान सक्थ्यो। प्रयास भएन वा सोच, उनीहरु नै जानुन्।

त्यसको अर्को दिन बिपक्षी दलका नेता प्रचण्डले आफू सरकारमा हुँदा ‘शहीद घोषणा’ गर्ने महत्व पूर्ण काम गरेको बताए। सदनमा माओवादी ‘हिंसा’ भन्ने शब्दले सदन नचल्ने भनिरहेका थिए प्रचण्ड।

तर दाङको घोराहीमा एमाले महासचिव शंकर पोखरेलले भने ‘माओवादीकालागि जनयुद्ध होला तर अरूका लागि नहुन सक्छ। नेपाली कांग्रेसका ४–५ हजार कार्यकर्ता त्यो द्वन्द्वको सिकार भए। एमालेका झण्डै पौने ५ सय कार्यकर्ता मारिए। कांग्रेस र एमालेले त्यसलाई जनयुद्ध भन्न सक्छन् कि सक्दैनन्? माओवादी नेतृत्वले हेक्का राख्नुपर्ने हो।’

शान्ति प्रकृयाका सबै जसो काम सकिन लाग्दा यो खाले बहस उचित होइनन् होला लोकतन्त्रको आयुका लागि। हतियार बुझाई सकेपछि केही हप्ता अघि पूर्वी नेपालमा भएका विष्फोट र अबोध बालबालिकाको ज्यान जाने कुराको जिम्मा कसको? त्यो हत्या हो कि हिंसा? परिभाषित हुनुपर्दछ।

के हो प्रतिवाद? कसको प्रतिवाद? कस्तो राजनीतिक र सामाजिक न्याय स्थापना गर्न खोज्दै छन्? उनी यस अघि पनि भीड कै सहारामा चितवनबाट छुटेका थिए। के देश, राज्यशक्ति भीडसँग तर्सिएर आम मानिसले अन्याय सहने हो? के यही लोकतन्त्रको परिकल्पना गरिएको हो?

शहीद को हुने÷बन्ने पनि पुनःपरिभाषित हुन जरुरी छ। चितवनको माडी जस्ता कैयन् घटनालाई हिंसा भन्न संकोच कोही नेपालीले नगर्नु पर्ने हो। त्यस्ता घटना नागरिकको बाँच्न पाउने प्राकृतिक हक बिरोधी हुन्।

एउटा प्रसँग हेरौं, समीक्षा गरौं। २ सय ४८ वर्ष अघिको एक अमेरिकी जासुस जसलाई अहिलेको अमेरिका पनि शहीद भनेर नतमस्तक हुन्छ, के त्यस्तो योगदानको बलिदान हो? हेरौं।

नाथन हेल, एक युवा, शिक्षक-बाट-सिपाही, द्वन्दको एक महत्वपूर्ण समयमा न्युयोर्कमा ब्रिटिश सेनाको गतिविधिहरूको बारेमा जानकारी संकलन गर्ने खतरनाक मिशनकालागि स्वेच्छाले अघि सरे।

डच स्कूल मास्टरको भेष लिएर, हेल, शत्रु रेखा पार गरे। तर, उनको मिशन चाँडै समाप्त भयो जब उनलाई ब्रिटिशहरूले समाते र औपचारिक सुनुवाइ बिना नै फाँसीमा झुण्ड्याइयो। तर उनको अन्तिम शब्दहरूले इतिहासमा गहिरो प्रभाव छोडे।

‘मलाई केवल यो पछुतो छ कि मेरो देशकोलागि मसँग मात्र एउटा जीवन गुमाउन बाँकी छ।’ यी शब्दहरूले अमेरिकी देशभक्तिको भावना समाते र, हेलको विरासतलाई स्वतन्त्रताका लागि निःस्वार्थ बलिदानको प्रतीकको रूपमा स्थिर र स्थापित बनायो।

क्रान्तिको वर्षहरू पछि नाथन हेल, राष्ट्रिय नायक र अमेरिकी देशभक्तिको प्रतीक बने। भविष्यका पुस्ताहरूले उनको बलिदान सम्झना सुनिश्चित गर्दै, स्मारक, मूर्ति र विद्यालय उनको सम्मानमा नामकरण गरिएका थिए।

हेलले आफ्नो देशको लागि आफ्नो जीवन जोखिममा राख्ने इच्छुकताले संयुक्त राज्य अमेरिकाको उदियमान पहिचानलाई आकार दिन मद्दत गरेको छ, साहस, वफादारी र निस्वार्थताका मूल्यहरूलाई जोड दिँदै। सबै दलहरु, हामी शहीद घोषणा गर्दा के कस्ता राष्ट्रिय हितका लागि ज्यान गुमाने शहीद हुनुपर्ने हो? एउटै स्वर हुनु पर्दछ, योगदानका आधारमा।

त्यस्तै संविधान दिवस अपराधीले सजाय माफ पाउने दिन हुन नदिन कानुनको बाटो समातेर रोकेको भन्दै अधिकारकर्मी जस्मिन ओझाले खुशी ब्यक्त गर्दै थिइन्। के यस्ता मुद्दामा राष्ट्र एक ठाँउ हुन जरुरी छैन?

यति मै सीमित छैन राजनीतिक संकिर्णता। भनिए अनुसार ७० लाख बढी नागरिक (जो एक चौथाइ जति जनसंख्या) को पैसा डुबेको र अन्यायमा छन्। सो सम्बद्ध मुद्दाका अरोपी अनि कानुन कार्यान्वयनको प्रमुख गृहमन्त्री समेत रही सकेका रवि लामिछानेल ‘पक्राउ गरिए प्रतिवाद गर्छौं’ भन्दै कुर्लिन्छन्।

के हो प्रतिवाद? कसको प्रतिवाद? कस्तो राजनीतिक र सामाजिक न्याय स्थापना गर्न खोज्दै छन् यिनीहरु? उनी यस अघि पनि भीड कै सहारामा चितवनबाट छुटेका थिए। के देश राज्यशक्ति भीडसँग तर्सिएर आम मानिसले अन्याय सहने हो? के यही लोकतन्त्रको परिकल्पना गरिएको हो?

नर्क त होइन अमेरिक नै पठाको-पठाउने कोसिश गरेको भनेर उप-सभामुख र नक्कली भुटानी शराणार्थी काण्डका दोषी र आरोपितले पनि प्रतिवाद गर्दा हुने भयो।

गिरी वन्धु घोटाला भनेर किन रोइलो गर्नु पर्‍यो, केही भुसतिघ्रेको जामत जम्मा गरेर प्रतिवाद गरे त भयो। लडाकु शिविर घोटालाको बारेपनि त्यही बाटो उचित होला। प्रतिबाद्, प्रतिरोध। अझै उनीहरुसँग त बाँकी हतियार पनि होलान् (अनुमान), हतियार चलाउन जान्ने, अनुभवी मानिस पनि होलान्। भीडपनि अलि ठूलो जम्मा हुनसक्छ। प्रतिवाद गर, हाई सञ्चो।

कोभिडको चरम महामारीमा घटित ओम्नी काण्ड वालाहरुका पनि केही कार्यकर्ता होलान्, नभए भाडामा लिएर भएपनि प्रतिवाद गर। कानुन त कागजमा लेख्ने कुरा हो, लेखियो भावी पुस्ताले पढ्ने छन्।

सुन तस्करहरु किन भागेका छौ? देशलाई सुनको जरुरत पूरा गरेका हौं भनेर आउ, प्रतिवाद गर। तिम्रा पनि पार्टी आवद्धता होलान्, सोसल मिडियामा फलोअर्स पनि होलान्, प्रतिवाद गर।

ललिता निवास काण्डका नाइके-मतियार, क्रेता–बिक्रेतासँग पनि तर्क होलान् नै। खाली रहेको जमीन, बढ्दो जनसंख्यालाई आवासको जोहो गर्नका लागी किन बेच गरेका थियौं भनेर प्रतिबाद गर्दा भयो।

त्यस्तो ठाँउमा कारोबार गर्नेहरु पक्कै धनाढ्य होलान् नै। त्यसैले केही भाडाका मानिस नै भएपनि २-४ सय को भिड त जम्मा गर्न सक्छन् होला नै। उनीहरुपनि प्रतिवादमा निस्के भयो।

कानुन त लेख्ने काम हो, लेखियो। आम मानिसले पालना गर्ने हो, गरेका छन्। किनकि लोकतन्त्रमा सबैले पालना गर्नुपर्ने थियो। यो भीडतन्त्रमा समूह, भिड, दल संगठन नहुनेले सहने, पालना गर्ने हो गरेका छौं। कसैले सार्वजनिक बद्नाम गरेपनि हुने, निजत्व लगेर चोक-चोक पुर्‍याउँदा पनि हुने।

हो, यो लोकतन्त्र सबैका लागि भएन र त संविधान दिवसको दिनपनि मानिसले कालो दिन मनाए। मनपरी बोल्न, लेख्न, भीडमा चिच्याउन हुने। भीड नहुनेको लागि यो तन्त्र रहेनछ भन्ने भाषा होइन ब्यबहारमा लागू गरिँदैछ।

त्यसैले कसैले बंगलादेश सम्झिरँदा तरंगित हुनुपर्ने अवस्था सृजना मात्रै होइन बल पुग्दैछ। दुःखद् कुरा भनौं वा असन्तुष्टीको बिगुल बुझ्ने ‘स्कुल अफ थट’ मा भर पर्ला। तर ‘नेसनल डे’ मा केही युवा (संख्या भन्दा स्वर हेर) विरोधमा उत्रिनु असमानता व असन्तुष्टिको बिउ सम्झेर ‘एड्रेस गर्न’ ढिला गर्नु हुँदैन।

अन्याय, अत्याचार वा असमानताले यस्ता स्वर निस्किन्छन् भने त शिर्ष नेताहरुले बुझेकै कुरा हो। त्यस्तै आवाज बोकेर उनीहरु त्यो पोजिसनमा आलोपालो गरी रहेकाछन्।

कति कुराहरु गलत र कानुन विपरित हुने गतिविधि रोक्न कुनै ‘अधिकार’ ले रोकिनु हुँदैन। यसको उदाहरण पनि रवि लामिछने नै काफी छन्। टिभी प्रस्तोता हुँदा उनले नेपालीको ‘सेन्टिमेन्ट र मास फ्रस्ट्रेसन’ क्याच गर्दै आजको रवि बनेको हुन्।

पत्रकारिताका निम्नोतम सिद्धान्त र इथिक्स बाहिर पुगेर ‘घुम्दै नाकको डाँडी भाँच्ने’ भन्दा त्यो मिडिया इथिक्स बाहिर भन्दै रोक्न राज्य असफल भयो। सबैले अरु दलका नाक भाँचिएको देखे।

उनलाई निर्वाध छोडे। राज्य निरीह बन्यो। उनले ‘केपी ओली बालकोट बस्छन्, बाटो हेरेर ढंगा हान’ भने अरु सबैले ओली! बल्ल खाइस् भने। रोकेनन्। त्यसको फल अहिले सरकारले कारवाहीको सिफारिस गर्दा ‘प्रतिवाद’ को ध्वाँस दिँदै छन्।

के यो सबै नेपाली युवाले खोजेको र लोकतन्त्रले बनाउन खोजेको समाज व्यबस्था हो? हुनै सक्दैन। हुन त सबै दल गरेर करिब ४० लाख स्थायी कार्यकर्ता भएको राजनीतिमा तमासा हेर्ने धेरै छन्। तर यो धेरै चल्दैन।

यस्तै व्यक्ति जसले मासिमा नकारात्मक भावना पुर्‍याउँछन् अनि त्यस्ता नेता जसले उछितो काढ्ने बाहेक भाषण गर्दैनन् त्यसले ‘स्याडिस्ट सोसाइटी’ निर्माण गरी रहेका छन् जुन सबै तन्त्रका लागि खुम्ले किरा हुन्।

पारिवारिक सम्बन्ध बाँध्ने सिन्दुरलाई सर्जकहरुले ‘दुई पैसे सिन्दुर’ लेखेर सनातनी पद्धतीमा बम पड्काउँछन्। कुनै निकाय बोल्दैन।

यहाँ एउटा सांगीतिक ब्याण्ड, एउटा एल्बमले के कति गर्छ भनेर आलेखको अन्त्य गरिँदैछ। यो प्रसंग ‘नेपाल डे र नेपाल डे’ को कन्सर्टको परिप्रेक्ष्यमा जोडिएको हो। संविधान दिवस सबैले आत्मसाथ गर्न सकेको भए (मुख्य त एक हुँदो हो तर) देशैभर गच्छे अनुसारका कन्सर्ट हुँदा हुन्। पार्टीका झण्डा झुण्डिने घर वा गाडीमा स्वतस्फुर्त राष्ट्रिय झण्डा हुनुपर्ने थियो।

ठ्याक्कै २० वर्ष ३ दिनअघि २१ सेप्टेम्बर, २००४ मा, अमेरिकी पंक रक ब्यान्ड ग्रीन डे ले उसको सातौं स्टुडियो एल्बम अमेरिकन इडिएट सार्वजनिक गर्‍यो।

सो एल्बमलाई ‘राजनीतिक रूपमा चार्ज गरिएको रक ओपेरा’ भनिन्छ। ध्वनि र सन्देश दुवैका हिसाबले सो एल्बम उसकै अघिल्ला काम भन्दा फरक थियो।

अमेरिकन इडियट ले २००० को दशकको सुरुमा अमेरिकी समाजमा बढेको असन्तुष्टि, राजनीतिक वातावरणसँगको निराशा, र बढ्दो सामुदायिक दूरीका मुद्दाहरूलाई सम्बोधन गर्‍यो। एक साहसी, विद्रोही, र निडर गिती एल्बम जसले संगीत उद्योगमा मात्र होइन, व्यापक सांस्कृतिक परिदृश्यमा पनि हलचल ल्यायो।

ग्रीन डे ले अमेरिकी राजनीति र मिडियामाथिको आलोचना एक निराश नायकको कथा मार्फत प्रस्तुत गर्‍यो, जसले संसारको अवस्थाबाट अलग महसुस गरिरहेका एक पुस्ताका श्रोताहरूसँग जोडिन सफल भयो।

यो एल्बमको रिलीज, मात्र संगीतको क्षण थिएन-यो एक सांस्कृतिक घटना थियो। अमेरिकन इडियट ले केवल पंक रक दृश्यमा चर्चामात्र ल्याएन-यसले त मुख्यधारमा पनि सफलता प्राप्त गर्‍यो। र, २००५ मा यसले ग्रामी अवार्डमा सर्वश्रेष्ठ रक एल्बमको उपाधि जित्यो।

‘अमेरिकन इडियट’ र नेपाली युवाको राजनीतिक चेतनाबीच धेरै समानताहरू छन्। दुवैले स्थापित व्यवस्थाप्रतिको असन्तुष्टि, मिडियाको प्रभाव र व्यक्तिगत स्वतन्त्रताको खोजीलाई प्रतिनिधित्व गर्दछ। यद्यपि, दुवै देशमा युवाहरूले आफ्नो आवाज उठाउन र परिवर्तन ल्याउन विभिन्न तरिकाहरू अपनाएका छन्।

यसलाई २००९ मा, रक ओपेरामा रूपान्तरण गरियो। जसले ब्रड वे मा आलोचनात्मक प्रशंसासहित प्रिमियर पनि गर्‍यो। स्टेज रूपान्तरणले विद्रोह, पहिचान र राजनीतिक असन्तोषका विषयलाई नयाँ ढाँचामा जीवन्त बनायो, जसले यसको कथालाई अझ फराकिलो पार्दै दर्शकसमक्ष पुर्‍यायो।

रक ओपेराको सफलताले देखायो कि अमेरिकन इडियट केवल एक संगीतमय क्षण थिएन-यो एक स्थायी सांस्कृतिक टिप्पणीको अंश बनेको थियो।
अमेरिकन इडियट साधारण गीतहरूको संग्रहमात्र थिएन-यो एक कन्सेप्ट एल्बम थियो जसले ‘जिजस अफ सबर्बिया’ नामको पात्रको जीवन्त यात्रा बोकेको थियो।

जसले ९/११ पछि अमेरिकाको यथार्थलाई सामना गरिरहेको थियो। यसको आक्रामक ऊर्जा र कडा शब्दहरूले ग्रीन डे ले धेरै युवा अमेरिकनहरूको निराशा व्यक्त गर्‍यो, जो आफ्नो सरकारबाट धोका महसुस गर्थे र सामाजिक मान्यताबाट असन्तुष्ट थिए।

‘होलिडे’, ‘बुलेवार्ड अफ ब्रोकेन ड्रिम्स’, र ‘अमेरिकन इडिएट’ जस्ता गीतहरू एउटा पुस्ताको प्रतिनिधि र प्रतीक बने, जसले आफ्नो असन्तोषलाई खुला रूपमा व्यक्त गर्न खोजिरहेको थियो।

अमेरिकि सम्भ्रान्त मिडियाले राजनीतिमा गर्ने चाकडी र आम मानिसमा छर्ने भ्रम चिरेको थियो त्यसले। जसरी अहिले नेपाली ‘मिडिया इथिस्क’ पर ‘सोसाईटी ब्रिजिङ भन्दा डिभाइड’ मा रमी रहेको छ, दुःख पूर्वक भन्नु पर्दछ।

अन्त्यमा,

बलियो सरकारले दोश्रो नेपाल डे कन्सर्ट दरवार मार्गको साँघुरो सडक, साँघुरो मनले होइन ३ करोड नेपालीको फराकिलो मनमा रोमाञ्चित गर्ने गरी, डेभलपमेन्ट डिपाचर, न्यायिक सामाज, नागरिकको प्रकृति प्रदत्त बाँच्न पाउने हक, पहुँच र सुबिधा दिन सकोस्।

सबै दल र नेता आफ्नो करेसा बारी दिनु परे जस्तो बोझिलो नसम्झी सम-दृष्टी राख्ने बनुन्। अधिकारसँगै कर्तव्य पालन होस्।  प्रतिवाद ध्वनी पश्चात लाचार बनेर भिजेको बिरालो बन्न कोही मुखिया नपरोस्। लोकतन्त्रले दिने अनुभूती फरक होस्।

यति धेरै मुद्दा र मामिलाहरु छरपस्ट हुँदा पनि राज्य मौन रहिरह्यो, उन्मुक्तिका उपाएमा अल्झियो भने नतिजा फरक र विकराल हुने नै छ।

सिंहदरवार भित्र नेता, मन्त्री र नीति कार्यान्वयन गर्ने अड्डा प्रमुखका तस्विर लाइन लागेर सजाइने छन्। अभियुक्त र दागीहरुका तस्विर सिंहदरवारको बाहिरी पर्खालमा पोतिने छन्।

समय, सहनशीलताको तह भन्दा माथि आउञ्जेल पनि सम्बोधन नभए लाखौं मानिसले प्रतिवाद अबश्य गर्नेछन्। किनकि देश केहीथान नेताको सनक र समझमा मात्रै सधैं अल्झिन सक्दैन।

(जिसी सार्वजनिक नीति विषयका सोधार्थी हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *