संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन

डिसी नेपाल
७ असोज २०८१ २२:२२

काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ।

‘रामायणः साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे।

उनीहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए। सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकनसमेत गरे।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस्ता प्रदर्शनीनले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उनको भनाइ छ। प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए।

यही असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन्। भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहेको यस प्रदर्शनीमा कलाकारले रामायणसम्बन्धी चित्र सिर्जना गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *