रविलाई तत्काल पक्राउ नगरिने

डिसी नेपाल
८ असोज २०८१ ७:३८

काठमाडौं। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले तत्काल पक्राउ नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरसमेत देशबाहिर रहेका बेला लामिछानेलाई तत्काल पक्राउ नगरिने भएको हो।

यसअघि सहकारी प्रकरणमा संसदीय विशेष छानविन समितिले गरेको सिफारिशको आधारमा लामिछानेलाई आइतबार राति नै पक्राउ गर्ने तयारी थियो। तर, उच्च राजनीतिक नेतृत्वबाट ‘ग्रिन सिग्नल’ नपाएपछि प्रहरी पछि हटेको उच्च स्रोत बताउँछ। उनलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा आइतबार प्रहरी पुगेको थियो।

तर, उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रविलाई पक्राउ गर्ने कार्य तत्काललाई रोक्न उच्च राजनीतिक नेतृत्वबाट निर्देशन आएको उच्च स्रोतको भनाइ छ। स्रोतका अनुसार सरकारले तत्काल पक्राउ नगर्न निर्देशन दिएपछि प्रहरी पछाडि हटेको हो। तर, लामिछानेमाथि निगरानी भने गरिरहन निर्देशन आएको प्रहरी स्रोतको दाबी छ।

प्रहरी महानिरीक्षक कुँवर सोमबार इन्टरपालेलको कार्यक्रममा सहभागी हुन ग्रिस प्रस्थान गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी हुन यसअघि नै अमेरिका पुगिसकेका छन्। प्रधानमन्त्री र प्रहरी नेतृत्वसमेत फर्केपछि उचित राजनीतिक परामर्श गरेरै रविलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ।

प्रहरीले यसअघि आइतबार नै सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो। जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको थियो।

संसदीय विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको देखाएको थियो।

समितिको प्रतिवेदन बुझेलगत्तै सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै प्रतिवेदन कार्यान्वयन गर्न लिखित निर्देशन आएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेएका जोशीलाई सोही दिन जहाजबाट कास्की लगिएको थियो। प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले भने सुरुमा १० दिन म्याद थप मागेको थियो।

सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्ष थिए। तर, पछि भने उहाँले आफ्नो भागको सेयर बेचेर बाहिरिएका थिए।

पूर्वडिआइजी जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने भएको छ। जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जिबी) नै प्रमुख जिम्मेवार रहेको बयान दिएका छन्।

कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा उनले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बताएका हुन्। कास्की प्रहरी स्रोतका अनुसार जोशीले बयानमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।

उनले जिल्ला अदालतमा म्याद थपका क्रममा पनि आफ्नो कुरा राखेका थिए। जसमा पनि उनले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरे। ‘म गलत संगतमा परेँ, सहकारीबाट पैसा लैजाँदा सही पनि छैन, मैले पहिल्यै सेयर फरफारक गरेर गोर्खा मिडिया नेटवर्कबाट बाहिरिसकेको हो,’ उनले भने।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *