उत्तर कोरियाले जित्यो यू–२० महिला फुटबल विश्वकपको उपाधि

काठमाडौं । यू–२० महिला विश्वकप फुटबलको फाइनलमा उत्तर कोरियाले जापानलाई १–० ले हराएको छ । बोगोटामा भएको खेलमा उसले जापानलाई पराजित गरेको हो ।
योसँगै उत्तर कोरियाको टोली जर्मनी र अमेरिकासँगै विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ ।
कोलम्बियाको राजधानी बोगोटामा आइतबार भएको खेलमा १५औं मिनेटमा चो इल–सनले गरेको गोलमा उत्तर कोरियाले जापानलाई पराजित गर्न सफल भएको हो । यस प्रतियोगितामा उत्तर कोरियाले आफ्ना सबै खेल जितेको छ ।
१७ वर्षीय चो इल–सन यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी थिइन् । उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितिन् ।
उत्तर कोरियामा किम जोङ उनको शासन छ। विश्वका अन्य देशभन्दा धेरै कुरामा पछि परेको उत्तर कोरियाको महिला फुटबल टोली बलियो टोलीमध्येको एक हो ।
सन् २००७ मा उत्तर कोरियाली टोलीले अमेरिकाको सामना गर्दा विश्वमा पाँचौं स्थानमा थियो र एक दशकमा तीनवटा एसियाली उपाधि जितेको थियो।
Facebook Comment