दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात

डिसी नेपाल
९ असोज २०८१ ७:१३

काठमाडौं। सरकारले कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि विलासितायुक्त सामानमा कडाइ गरेर आयात प्रतिस्थापन गरेको २ वर्षपछि विलासितायुक्त सामानको आयात बढ्न थालेको छ ।

घरजग्गा कारोबारमा आएको केही सुधार अनि साउन र भदौमा नेप्से पनि २ हजारबाट ३ हजार बिन्दुमा पुगेपछि आम्दानी गरेकाहरूले विलासी सामान खरिद गरेका कारण आयात बढेको हो ।

यसरी आयात भएका विलासीयुक्त सामानमा हजारदेखि १ हजार ५ सय सीसीका ५ सय १ वटा सवारीसाधन रहेका छन् । दुई महिनामा ५८ करोड ६२ लाख रुपैयाँबराबरका चारपांग्रे सवारीसाधन आयात भएका हुन् ।

दसैंलक्षित सामानहरूको आयात बढेका कारण पनि आयातमा सुधार भएको बताइन्छ । सरकारले भन्सारबिन्दुबाट राजस्व बढाउन भन्सार अधिकृतहरूलाई लक्ष्य तोकेर दबाब दिएका कारणले पनि आयात बढेको भनाइ अर्थविद्हरूको छ । यस अवधिमा विद्युतीय कार तथा अन्य सवारीसाधनको आयात पनि बढेको छ । दुई महिनामा ९ सय ३८ वटा विद्युतीय कार, जीप आयात भएका छन् ।

यस अवधिमा २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँबराबरका इलेक्ट्रिक सवारीसाधन आयात भएका हुन् । १६ अर्ब ७४ करोड रुपैयाँबराबरका सवारीसाधन र त्यससँग सम्बन्धित पाटपुर्जा आयात भएका छन् । गत वर्ष १० अर्ब ८२ करोड रुपैयाँका मात्रै सवारीसाधन आयात भएका थिए ।

भदौमा कुल ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँबराबरका १ हजार ६ सय २ वटा ईभी सवारीसाधन (कार, जीप र भ्यान) नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । साउनमा मात्रै ८९ करोड ७० लाख २१ हजार रुपैयाँबराबरका ३ सय ८१ वटा ईभी सवारीसाधन आयात भएका थिए ।

भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ७१ करोड ९५ लाख २० हजार रुपैयाँबराबरका ३ सय ६१ वटा ईभी सवारीसाधन भित्रिएको छन् । यसैगरी, भारतबाट ३२ करोड ६६ लाख ४८ हजार मूल्यका १ सय ९९ वटा सवारीसाधन आयात भएका छन् । ५० किलोवाट मोटर क्षमता भएका यी सवारी आयात हुँदा सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २ सय ७६ र चीनबाट ६ सय ६२ गरी जम्मा ९ सय ३८ वटा आयात भएका छन् । यसबाट सरकारले १ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अमेरिकाबाट भने १ सय १ देखि २ सय किलोवाट क्षमताका १ र चीनबाट ९८ वटा ईभी सवारीसाधन भित्रिएका छन् । २ सय १ किलोवाटभन्दा बढी क्षमता भएका ईभी सवारीसाधन चीनबाट दुईवटा र जर्मनीबाट एउटा आएका छन् ।

मोटरसाइकल मात्रै १३ हजार १ सय ३३ वटा आयात भएका छन् । सुन मात्रै १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँबराबरको आयात भएको छ ।

भन्सार विभागका अनुसार ४ लाख ५४ हजार ९ सय ५८ वटा स्मार्ट फोन आयात भएका छन् । स्मार्टफोन मात्रै १ अर्ब २५ करोड ८ लाख ५६ हजार रुपैयाँको आयात भएको हो । यसबाहेक नेपालमै उत्पादन हुनसक्ने फलफूल र तरकारी मात्रै पनि दुई महिनामा १० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।

भन्सारको साउन र भदौको तथ्यांकनुसार ६ अर्ब २४ करोडको हरियो तरकारी र ३ अर्ब ७९ करोड रुपैयाँको फलफूल गरी १० अर्ब ३ करोड रुपैयाँका आयात भएको हो । विभागले ६ अर्ब २४ करोड रकमबराबरको १ लाख ४ हजार मेट्रिक टन तरकारी आयात भएको जनाएको छ । फलफूल भने ३ अर्ब ७९ करोड रुपैयाँबराबरको ४६ हजार मेट्रिक टन आयात भएको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *