सरकारको कार्यशैलीप्रति किन असन्तुष्ट छन् शेखर कोइराला?

डिसी नेपाल
९ असोज २०८१ १०:५८

काठमाडौं। ६-६ महिनामा सरकार परिवर्तन हुने, राजनीतिक अस्थिरता र पाँच वर्षसम्मका लागि जनतासमक्ष गरेको प्रतिवद्धता पूरा नहुने अवस्था भएको भन्दै दुई ठूला दल नेपाली कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला यतिबेला सरकारको कार्यशैलीलाई लिएर असन्तुष्ट छन्।

कांग्रेस-एमाले मिलेर सरकार बनउनुपर्ने सुरुदेखि नै वकालत गर्दै आएका कोइराला यी दुई ठूला दल मिलेर सरकार बनाएपछि भने सरकारको कार्यशैलीलाई लिएर असन्तुष्ट भएका हुन्।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउने कोइराला सरकार गठन भएको तीन महिना पूरा हुन लाग्दासमेत सरकारले कामको गति लिन नसकेको भन्दै असन्तुष्टि जनाउन थालेका हुन्।

‘६-६ महिनामा सरकार परिवर्तन हुने, राजनीतिक अस्थिरता र जनतासँग गरेका प्रतिवद्धता कहिल्यै पूरा नहुने स्थितिको अन्त्य गर्न पनि दुई ठूला दलबीच सहकार्य अपरिहार्य थियो,’ डा. कोइरालाले डिसी नेपालसँग भने, ‘तर यो सरकार बनेको तीन महिना पूरा हुन लाग्दासमेत सरकारको कामले गति लिन सकेको छैन। यो सरकार पनि परम्परागत शैलीबाटै चलिरहेको छ।’

संविधान संशोधन, सुशासन र भ्रष्टाचार अन्त्य गर्ने प्रतिवद्धतासहित गठन भएको सरकारको कामले गति लिन नसकेको भन्दै असन्तुष्ट कोइराला प्रतिवद्धता अनुसार सरकारकाले काम गर्न नसकेको भन्दै असन्तुष्ट छन्।

‘६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्यका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवस्यक पर्छ। त्यसका लागि कांग्रेस एमाले मिल्नुपर्छ भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘तर अहिले संविधान संशोनको मुद्दा कहाँ पुग्यो? सुशासनको अवस्था हामी सबैले देखिरहेका छौं। भ्रष्टाचार दैनिक बढिरहेको छ। सरकारको काम गर्ने शैली पनि परम्परागत नै देखिन्छ। अनि यो सरकारबाट जनताले के अपेक्षा गर्ने?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *