चीनमा बढ्दै वैदेशिक लगानी, ७ महिनामा ७९ अर्ब अमेरिकी डलर भित्रियो

डिसी नेपाल
२८ साउन २०७६ १२:३२

बेइजिङ । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ।

जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ। सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन्। नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ। वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ।

प्रत्यक्ष विदेशी लगानी चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले लगानी वृद्धि भएको छ। यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ। जर्मनीबाट ७२.४ र कोरियाबाट ६९.७ प्रतिशत लगानी वृद्धि भएको छ।

वाणिज्य मन्त्रालयको तथ्याङ्कमा युरोपेली युनियनबाट पनि अघिल्लो वर्षको तुलनामा १८।३ प्रतिशत बढी लगानी भएको छ। बेल्ट एन्ड रोड (बिआरई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशतको झिनो लगानी भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *