सबै फरम्याटबाट सन्यास लिएको ११ घण्टामै ड्वेन ब्राभो कोलकाता नाइटराइडर्सको मेन्टर नियुक्त

डिसी नेपाल
११ असोज २०८१ १४:३९

काठमाडौं । वेस्ट इन्डिजका महान अलराउन्डर ड्वेन ब्राभो आईपीएलको फ्रेन्चाइजी कोलकाता नाइट राइडर्सको मेन्टर बनेका छन् । उनले केकेआरमा गौतम गम्भीरको स्थान लिनेछन् ।

ब्राभोले बिहीबार राति क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । त्यसको ११ घण्टापछि उनले केकेआरको मेन्टरको जिम्मेवारी पाएका हुन् ।

उनले इन्स्टा पोस्टमा लेखेका छन्– ‘मेरो मन खेल्न चाहन्छ, तर शरीरले साथ दिइरहेको छैन । म आफ्नो टिममेट, फ्यान र टोलीलाई निराश पार्ने स्थितिमा राख्न चाहन्न। त्यसैले म पूर्ण हृदयका साथ सन्यासको घोषणा गर्दछु।’

४० वर्षीय क्रिकेटरले यो सिजन नै आफ्नो अन्तिम सिजन हुने बताएका थिए तर चोटका कारण उनले क्यारेबियन प्रिमियर लिगको बिचमा सन्यासको घोषणा गर्नुपरेको थियो । ब्राभोले गत वर्ष आईपीएललाई अलविदा भनेका थिए । उनले अहिलेसम्म खेलेका ५८२ टी–२० खेलमा ६३१ विकेट लिएका छन् । उनी यस फर्म्याटमा सबैभन्दा बढी विकेट लिने बलर हुन् ।

ब्राभोले इन्स्टा पोस्टमा लेखेका छन्- ‘एक पेशेवर क्रिकेटरको रूपमा २१ वर्ष एक अविश्वसनीय यात्रा थियो जसमा धेरै उतारचढावहरू थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले आफ्नो सपना पूरा गर्न सकें किनभने मैले सधैं आफ्नो शतप्रतिशत दिएँ, यद्यपि म यसलाई जारी राख्न चाहन्छु, तर अब वास्तविकताको सामना गर्ने समय आएको छ।’

ब्राभोले आफ्नो १८ वर्षको टि–२० करियरमा विभिन्न टोलीसँग क्यारेबियन प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बिग ब्यास जस्ता फ्रेन्चाइज प्रतियोगिता जितेका छन्। यति मात्र होइन, उनले वेस्ट इन्डिजबाट दुई पटक टी–२० विश्वकप जितेका छन् ।

ब्राभोले ३ वर्षअघि २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए, तर फ्रेन्चाइज क्रिकेटमा खेल्नेसँगै उनी प्रशिक्षक पनि छन् । ब्राभोले विगत १२ महिनादेखि आईपीएल फ्रेन्चाइज चेन्नई सुपर किंग्ससँग काम गरेका थिए । उनलाई २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानको बलिङ सल्लाहकार पनि बनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *