गण्डक बाँधका सबै ढोका खोलिए

डिसी नेपाल
१२ असोज २०८१ ११:४५

पूर्वी नवलपरासी। अबिरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि पूर्वी नवलपरासीको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। यहाँ ३ लाख क्यूसेक पानीलाई खतराको तह मानिन्छ।

गण्डक बाधमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको हो। गण्डक ब्यारेजमा २ लाख ५० हजार क्युसेक पानीको बहाव भएपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए।

जलसतह मापन अनुसार गण्डकमा बिहान १० बजे जलसतह ३ लाख ६५ हजार क्युसेक पुगेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। त्यस्तै गैँडाकोट नगरपालिका–२ को सुकुम्बासी र बोटे टोल डुबानमा परेको छ।

अविरल वर्षासँगै नारायणी नदीको जल सतह बढ्दा गैँडाकोट-२, स्थित सुकुम्बासी बस्तीमा बाढी पसेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। सुकुम्बासी वस्तीमा बाढी पसेसँगै सो क्षेत्रका करिब ६० घरपरिवार बिस्थापित भएका छन्। बिस्थापित भएका घरपरिवारलाई नजिकै रहेको महेन्द्र स्मारक विद्यालयमा राखिएको प्रहरीले जनाएको छ।

नारायणीको बाढीको सतह बढेसँगै गैँडाकोट ९ र १० मा समेत डुबान भएको छ।

अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाको दलदले डेढगाउँ भित्री सडकखण्ड अन्र्तगत हुप्सेकोट गाउँपालिका ५ पांग्रेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *