पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ बालकको शव भेटियो

डिसी नेपाल
१२ असोज २०८१ २०:१४

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल रहेका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेको एन्फाले जनाएको छ ।  मृतक सबैको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सकुशल रहेका अन्य विद्यार्थीहरुलाई भने सेनाको हेलिकोप्टर मार्फत काठमाडौ पठाइने भएको छ । मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए । अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *