आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने

डिसी नेपाल
१३ असोज २०८१ ८:०९

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ ।

आइपिएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम बनाएको छ भने अन्य पाँच खेलाडी भारतीय र विदेशी जो पनि हुनसक्ने नियम बनाएको छ । रिपोर्टका अनुसार शनिबार आईपीएल गभर्निङ काउन्सिलको वार्षिक बैठकमा यी निर्णयहरू गरिएको हो ।

त्यस्तै अब टोलीको पर्स सीमा पनि १०० करोडबाट बढाएर १२० करोड भारु पुर्याइएको छ । मेगा अक्सन यस वर्ष नोभेम्बरमा हुन सक्ने बताइएको भएपनि मिति भने अझै तोकिएको छैन ।

त्यस्तै यस बर्ष हुने मेगा अक्सनमा टोलीले राइट टु म्याच कार्ड पनि पाउनेछन् । एउटा टोलीले बढीमा ६ खेलाडीलाई टोलीमा राख्न सक्छ । यसले कोलकोता, सनराइजर्स, चेन्नई्, राजस्थान र मुम्बई जस्ता खेलाडीलाई फाइदा पुग्ने देखिएको छ ।

अक्सनअघि आईपीएल टोलीहरूले ५ अन्तर्राष्ट्रिय खेलाडी र एक अनक्याप खेलाडी राख्दा कुल ७९ करोड खर्च हुने भएको छ र तिनीहरूको पर्समा मात्र ४१ करोड रुपैयाँ बाँकी हुनेछ, जुन रकमले बाँकी २० खेलाडी किन्नुपर्ने हुने भएको छ । रिटेन गरिएका खेलाडीमध्ये शिर्ष २ खेलाडीको मुल्य १८–१८ करोड, २ खेलाडी १४–१४ करोड र १ खेलाडी ११ करोड हुने गरि तोकिएको छ । त्यस्तै रिटेन गरिने एक अनक्याप्ड खेलाडीलाई ४ करोडमा रिटेन गर्न सकिनेछ ।

हरेक पटक आईपीएल मेगा लिलामीमा विदेशी र भारतीय खेलाडी राख्ने सीमा तोकिएको थियो । तर, यसपटक विदेशी र भारतीय खेलाडीलाई रिटेन गर्ने कुनै सीमा छैन । फ्रेन्चाइजीले चाहेमा सबै पाँच भारतीय वा पाँच विदेशी खेलाडीलाई राख्न सक्छ ।

त्यस्तै पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी अनक्याप्ड प्लेयरको रूपमा आईपीएल खेल्न सक्ने भएका छन्। आईपीएलले आफ्नो पुरानो नियमलाई पुनस् लागू गर्ने निर्णय गरेसँगै धोनी अनक्याप्ड खेलाडीको रुपमा चेन्नईमा रिटेन हुन सक्ने भएका हुन् । आइपिएलले ५ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खेलाडीले अनक्याप्ड खेलाडीको रुपमा लिलामीमा सहभागी हुन पाउनेछन् ।

धोनीले सन् २०२० मा सन्यास लिएका थिए तर उनले आफ्नो अन्तिम खेल भारतका लागि २०१९ मा खेलेका थिए । यसरी सन् २०२५ को आईपीएलसम्ममा उनको सन्यास र अन्तिम खेल दुवै ५ वर्षभन्दा बढी हुनेछ । यो नियम पहिले कहिल्यै प्रयोग गरिएको थिएन, जसका कारण यसलाई २०२१ मा हटाइएको थियो । तर, अब सीएसकेले धोनीका लागि यो नियम प्रयोग गर्न सक्ने भएको छ ।

राइट टु म्याच कार्डको फिर्ता

आईपीएल मेगा लिलामीमा राइट टु म्याच कार्डले पनि पुनरागमन भएको छ । टोलीले कुनै खेलाडीलाई रिटेन गर्न नसकेमा राइट टु म्याच कार्ड प्रयोग गरी मेगा अक्सनमा रिटेन गर्न सक्नेछन् । यदि टोलीले चाहेमा, तिनीहरूले सबै ६ खेलाडीहरू राख्न सक्छन् वा केही खेलाडीहरू राख्न सक्छन् र केहीलाई राइट टु म्याच कार्डको प्रयोग गरेर टिममा राख्न सक्ने भएका छन् । टोलीले चाहेमा एक खेलाडीलाई रिटेन गर्नुको सट्टा राइट टु म्याच कार्डमार्फत सबै ६ खेलाडी किन्न पनि सक्नेछन् ।

राइट टु म्याच कार्ड भनेको के हो ?

राइट टु म्याच अर्थात् आरटीएम कार्ड लिलामीमा रहेका टोलीहरूले प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि, रोहित शर्मालाई मुम्बई इन्डियन्सले रिटेन गरेन भने उनको नाम लिलामीमा आउछ र उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोडमा किन्न खोज्यो भने मुम्बईले चाहेमा राइट टु म्याच कार्ड प्रयोग गरेर रोहितलाई १० करोडमा राख्न सक्छ । राइट टु म्याच कार्ड सबै टोलीसँग हुनेछ ।

इम्प्याक्ट प्लेयर नियम रहने

सन् २०२३ मा लागू भएको इम्प्याक्ट प्लेयर नियम पनि आईपीएलमा जारी रहने छ । यो नियमको सहायताले टोलीले प्लेइङ–११ को कुनै एक खेलाडीलाई खेलको बीचमा बेन्चमा बस्ने खेलाडीलाई बदल्न सक्छ । पछिल्लो सिजनमा यो नियमको प्रयोगका कारण बढी रन बनेको थियो । जसका कारण गत सिजन मात्रै प्रतियोगिता इतिहासको शीर्ष १० मा ९ उच्चतम स्कोर बनेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *