कविता: लिए खोलाले बदला बाढी बनेर

सुशील लामा
१३ असोज २०८१ १३:३७

भूमाफियाहरुको भयंकरको रजगज
राजनीतिक शक्तिको आडमा
खोलाको बाटो थुन्नेहरुले
प्रकृतिसँग जिस्काएको मूल्य
बेहोर्न विवश भए
कठै!
मारमा परे भुँईँ मान्छेहरु
खोला-नाला गरेर अतिक्रमण
बनेका गगन चुम्बी महलहरुको
छिँडी र पिँढी भरी
पसेर बाढी
बनाएको छ, जलमग्न शहर बजारलाई
खण्डहर कुरुप बनाएको छ।
गाउँ-बस्ती अनि सुन्दर वन-पाखालाई
सति घाटमा बगेको पानी झैं बगे सललल…
रौद्र रुप लिएर रुद्रमती
भिमकाय सागर जस्तै बनेर
सुसाउँदै छ बिष्णुमती
सधैं विवश बनेर बग्ने
बागमती बने अचानक कोशी
रौद्ररुप लिएर बग्दै गरेको खोलासँगै
बगे थुप्रै जन अनि धन
खिस्रीक रुप लिएर पुकारे नबोल्ने देउतालाई
नभुली गरेको भुलको मागे माफी
सुनेन कृतिम मन भएको मान्छेको पुकार
दैवले
लिइ छाडे बदला
बगी जाने बाढी खोलानालाले

*******

कुलंगारहरुको बिना अनुग्रहीको
भूमाफिया करणमा निर्लिप्प प्लटिङ
घृणा र ग्लानीका रंगले पोतेका कुकर्मको कहर
डोजर आतंकले छियाछिया भएको
घाइते पहाड
बिकासको विकल्प अनुसन्धान बिना बनेका खनेका
पहाडको मुटु चीरेर बनाएका साँघुरो
कच्ची बाटा
बगे झरीले निम्तो गरेको
पैरो सँगै
पैरो खोलामा भयो परिणत
राजमार्गहरुले थेग्न नसकेर पैरोको भार
छुटे यात्रा गर्ने यात्रीहरु
छिने झोलुंगे पुल
भत्केर बगे मोटर हिँड्ने पक्की पुल
खोलासँगै
खोला जस्तै बनेर
ठिक यो बेला
गाउँदै होला वनको चरी वनैमा
बिरहको गजल
लिए निस्वार्थ सोझो मन भएको खोलाले
मै हुँ भन्ने बाठा मान्छेहरुलाई बदला

*********

सभ्यतामाथि गरिएका अत्याचार
उछिट्टिएर उपल्लो तहमा पुगेको चतुर
देश संचालकहरु
चोभार गल्छेडा उछिन्दै उर्लेर बगेको
हेरे पानीको भेल
त्रस्त छन्।
बाठा चतुर मान्छेहरु
गरेका आफ्ना गलत निर्णयहरु
छेउको जल विनायकलाई साक्षी राखेर
खाँदैछन् कशमका गाँसहरु
के गर्नु?
नहुनु पर्ने भइ सकेको छ प्रलय
निर्लज्ज छ, समवेदना हराएका सरकार
नभेटिने भोलिहरुको पर्खाइमा
आश्वासनको प्याला पिउँदै
बाँच्न विवश छन्
दैवी प्रकोपमा परेका पीडित
हिमाल पग्लेर,पहाड बग्दै,तराई डुबानमा
सबै सबै मनहरु थिलथिलो भइसकेको छ
बेपत्ता भएको आफ्नाहरुको
देह सकुशल खोज्दा-खोज्दै
बित्ने छ दिनहरु
लिइ छाडे खोलाले बाढी बनेर बदला
बाठा मान्छेहरुको खुशीहरुको लहर…।

पाँचखाल-११,काभ्रेपलान्चोक
हाल- लिमासोल,साईप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *