सिधाकुराका कार्यकारी सम्पादक ढुंगाना र प्रकाशक कँडेल कारागार चलान

डिसी नेपाल
१३ असोज २०८१ २१:०१

काठमाडौं। सिधाकुरा डटकमका सम्पादक र प्रकाशक कारागार चलान भएका छन्। सर्वोच्च अदालतको फैसला लगत्तै सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेल दुबै कारागार चलान भएका हुन्।

सम्पादक ढुंगानाले सर्वोच्चको फैसलाको सम्मान गर्दै आफू र प्रकाशक कँडेल कारागार चलान भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ। प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ। हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं’

सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोतलाई कैद सजाय सुनाएको हो।

सर्वोच्चले सिधाकुराका कार्यकारी सम्पादक ढुंगाना र प्रकाशक कँडेल र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको हो।

सर्वोच्च अदालतका अनुसार तिमिल्सिनालाई ६ महिना, कँडेल र ढुंगानालाई ३ महिना कैद सजाय सुनाइएको छ ।

त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ। सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।

अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो।

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो।

यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका प्रकाशक तथा प्रस्तोता कँडेल, कार्यकारी सम्पादक  ढुंगाना र उक्त सामग्री उपलब्ध गराएका तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *