अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको छः मन्त्री दाहाल

डिसी नेपाल
१३ असोज २०८१ २३:१२

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

आज मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउने काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएका हुन्।

पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रिज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभागमार्फत काम अघि बढाइएको उनले जानकारी दिए।

उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्वसांसद विशाल भट्टराईलगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका थिए। मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउन देशैभरका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताए।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरुसँग समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *