त्रिभुवन राजपथको चित्लाङ– काठमाडौं सडक एकतर्फी सञ्चालन

डिसी नेपाल
१३ असोज २०८१ २३:३३

बागमती। हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौं सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले पहिरो पन्छाएर आज साँझदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने जानकारी दिए।

यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरो खसेर अवरुद्ध भएका अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ। दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध छ।

दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *