राष्ट्रसंघीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताए।
सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताए।
प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसदमा गरेको संकल्प बमोजिम काम गरेर स्वदेश फर्किएको बताए।
यसैबीच एमालेको सचिवालय बैठकले ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो। एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेकाे प्रस्ताव संसदीय दलबाट पारित भएको छ। प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हालसम्म भएका प्रगतिबारे आज दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताए।
उनले बाढीपहिरो र प्राकृतिक विपद्बाट मुलुक आक्रान्त भएकामा आफूहरु सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूकोे शीघ्र स्वास्थ्यलाभको कामना गरे। सरकारले घाइतेहरुको यथोचित उपचार गर्ने जानकारी गराए।
“सरकारका तर्फबाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन्। सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए। कुनै गुनासाप्रति हामी प्रतिवाद गर्दैनौं। जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो। हामी जनताका सेवक हौं। सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भने। “राहत कोषमा संकलन हुने रकमको सही सदुपयोग गरिनेछ।”
Facebook Comment