लघुकथा : दिनचर्या

प्रकाशचन्द्र खतिवडा
१९ असोज २०८१ ७:२३

‘‘तपाईं निवृत्त भएको कति भो?’’ चिया गफकै सिलसिलामा भोला सरले सोध्नु भो। ‘‘म निवृत्त भएको १७ महिना भयो।’’ मैले पनि चिया पिउँदै जवाफ फर्काएँ।

म शिक्षण पेशाबाट निवृत्त भएको हूँ। मेरो स्वेच्छिक अवकाश हो। स्वास्थ्यले साथ नदिए पछि मैले अवकाश लिनु नै उचित ठानें। १७ महिना फजुलमा बिते जस्तो लाग्छ। सम्झन्छु, कति दुःख गरेर प्राप्त गरेका प्रमाण पत्र र नियुक्ति पत्रहरु जसरी निकम्बा भएका छन, त्यसै गरी जिन्दगी पनि निकम्बा बन्ने त हैन ? पीर लाग्छ।

१७ महिनामा न कुनै समाज सेवा गरियो। न कुनै सम्झन लायक यात्रा नै गरियो। न कुनै पुस्तक प्रकाशन गरियो। विद्यालयमा अक्षयकोष राख्ने योजना पनि त पूरा गर्न सकिएन। तथापी निवृत्त राष्ट्र सेवक समाज नेपाल सुन्दरहरैंचामा सानो अक्षयकोष स्थापना गरियो।

बुबा ८७ वर्ष र आमा ७७ वर्षको हुनुहुन्छ। उहाँहरुको सामान्य हेरचाह बाहेक अरु केही गर्न परेको छैन। स्वास्थ्यमा जटिलता थपिएको छैन। कहिले काहीँ अस्पताल लाने ल्याउने र औषधिको बन्दोबस्ति गर्ने कार्य सामान्य नै हो। घर व्यवहार चलाउनु सबैको नियमितता नै हो।

साहित्यिक क्षेत्रमा पनि उल्लेख्य केही गर्न सकिएन बिगत ११ महिनामा। १२ औं महिना ०८१ बैशाख देखि केही कथा कविता लेख्ने र पढ्ने गरियो। केही अनलाइनहरुमा रचना प्रकाशनको बाटो खुल्यो। इटहरीमा आयोजित लघुकथा संग्रह बिमोचन र भानु जयन्तीमा सरिक भइयो।

निवृत्त राष्ट्र सेवक समाज नेपाल सुन्दरहरैंचाद्वारा आयोजित वडा दशैं ०८० शुभकामना आदान प्रदान र ८४ औं पेन्सन डे भाद्र १७ को अवसरमा कविता वाचन गरे भन्दा अरु रचनाहरु स्टेजमा प्रस्तुत गर्न सकिएन। कविता प्रतियोगिताहरुमा कविता पठाएर सहभागिता जनाइयो।

यही समयमा ठूली छोरीको विवाह भयो। उ फिनल्याण्ड गई। छोरो क्यानडा गयो। व्ययभार बढ्यो। व्यवहार मिलाउदै दिनहरु बिते। आफू सँग भएको १३ लाख रुपैयाँ सिद्धिएछ। नपुग रकम बैंक लोनबाट काम चलाइयो।

महिनै पिच्छे व्याज र किस्ता तिर्दा हैरान हुने रहेछ। घरायसी खर्च पनि बढेकै छ। औषधि, विजुली, ग्यास, खाद्यान्य र सब्जीको व्यवस्थापन पनि गर्नै पर्छ। आम्दानीको श्रोत भनेको मासिक निवृत्ति भरण रकम रु. ३४,४७२- मात्रै त हो।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *