नियात्रा : बोस्टन टी पार्टीको एक झल्को

खेमराज पोखरेल
१९ असोज २०८१ ७:३३

जुन ६, २०२१ को दिन हो आज। हामी याने कि म र मेरी श्रीमती सुशा बोस्टनको घुमघाममा छौँ। यो घुमघामको नेतृत्व तथा व्यवस्थापन न्युयोर्कमै बसोबास गर्दैगरेका मेरो भदाहासालो सुमेश भट्टराई तथा बुहारी विवेकाले गरिरहेका छन्। हाम्रा साथमा उनीहरूका मसिना छोराछोरी पनि छन्। याने कि हाम्रो टोली कुल मिलाएर ६ जनाको छ। यो यात्राको प्रयोजन नितान्त घुमघाम हो। एक पथ दुई काज होइन।

आजको घुमाइको एउटा गन्तव्य बोस्टन टी पार्टी पनि रहेको छ। संयोगले भनूँ वा आकस्मिकताले भनूँ, म इतिहासको विद्यार्थी हुँ। त्यसकारण विद्यालयीय शिक्षादेखि विश्वविद्यालयीय शिक्षासम्म इतिहासलाई नै जीवन धान्ने भर्याङका रूपमा निर्माण गरेँ। इतिहास विषयलाई नै मेजर राखेर प्रमाणपत्र बोकेँ।

त्यही संयोगीय प्रमाणपत्र बोकेर मैले कलेजमा इतिहास प्राध्यापन गर्ने जागिर पाएँ। त्यसैले मैले मेरा जीवनका लगभग ४५ वर्षका पलहरू प्रत्यक्ष तथा अप्रत्यक्ष, जानेर वा नजानेर, बुझेर वा नबुझेर इतिहासकै पानामा बिताएँ। उर्वर जुनी इतिहासमै बित्यो। र, जुन बेला अमेरिकाको स्वतन्त्रताको कारण पढ्नु वा पढाउनु पथ्र्यो, त्यो बेला तत्कालीन कारणका रूपमा बोस्टन टी पार्टी पढ्नु-पढाउनु परि नै हाल्थ्यो।

यस बेला कक्षा कोठाको एउटा घटना सम्झेको छु। एउटा विद्यार्थीले मलाई सोधेका थिए, ‘सर, टनका टन चियालाई समुद्रमा फाल्ने विध्वङ्स कर्म पनि पार्टी हुन्छ र ?’

मसँग त्यो प्रश्नको ढाँटढुँट उत्तर त थियो, तर पनि चित्त बुझ्दो उत्तर थिएन। मलाई पनि त्यस्तो नामकरण किन गरिएको होला भनेर अचम्म लाग्थ्यो। विध्वङ्सलाई पनि पार्टी ! त्यसकारण बोस्टन पुगेका बेला बोस्टन टी पार्टी पुग्नु मेरो अत्यन्त महत्त्वको गन्तव्य थियो।

नत्र त इतिहास विषयले मलाई सराप्ने थियो। जुन थालमा खानु, त्यहीँ गोब्य्राउनु भनेझैँ हुन्थ्यो। बोस्टन टी पार्टी नजानू चाहिँ जिन्दगी चुकचुकाउने एउटा घटना पनि हुन सक्थ्यो। मलाई मेरो मनले कृतघ्न ठान्ने परिवेशको निर्माण हुन्थ्यो। त्यसैले यो बोस्टन यात्रा अवसर हो मेरा लागि।

मलाई थाहा छ कि अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा ज्यादै धेरै घुम्ने ठाउँहरू छन्। तर दुई दिनमा सबै एकसरो मात्र पनि घुमेर भ्याइने कुरा होइन। त्यसकारण हामीले धेरै गन्तव्य मध्ये दुईचार छान्नु पर्ने बाध्यता छ। यो क्रममा मैले आफ्नो घुमाइको उच्च प्राथमिकतामा बोस्टन टी पार्टीलाई रोजेको छु।

मेरो त्यो रोजाइ मेरा टोलीका सदस्यका लागि भने रुचिकर होइन। यात्राका व्यवस्थापकहरू बोस्टनमै डाक्टरी अध्ययन गरेकी विवेका तथा न्युयोर्कमा बसोबास गरिरहेका सुमेश दुवै बूढाबूढीलाई पनि यो रोजाइ अचम्म लाग्दो भएको छ।

यहाँसम्म कि मेरै श्रीमतीले पनि आइएमा सो विषय पढेकै थिइन्। तर उनले त्यो सबै कुरा बिर्सेका कारणले उनको गन्तव्य पनि बोस्टन टी पार्टी होइन। बरु मलाई नै सोध्दैछन्, ‘के हो त्यो ? चिया पिउने ठाउँ हो ? चिया त अन्तै पिए पनि भइहाल्यो नि।’

हामी समुद्रको किनारैकिनार बोस्टन टी पार्टीतिर जाँदै छौँ। घामले हामीलाई तप्त बनाइरहेको छ। समुद्रको छेउमा भए पनि सातै सूर्य एकै पल्ट उदाएझैँ अनुभूत भइरहेको छ। हामी रापिएका छौँ। गर्मी र तप्पतप्प चुहेका पसिनालाई परबाह नगरी हामी बोस्टन हार्वर समुद्रको किनारैकिनार बोस्टन टी पार्टीतिर जाँदै छौँ।

बाटामा देखिने स्वतन्त्र युवायुवतीका अर्ध पहिरनको शृङ्गारिक गोरोकालो दृश्यले पनि मन तानेको छैन। नेपालमा हुँदा त्यस्तो दृश्य देख्दा मनभित्र कोकोहोलो र दिमागभित्र झट्का लागेको अस्तिजस्तो लाग्छ। अहिले त्यसको पनि बाउ दृश्यले ताँइँतुँइँ केही गरेको छैन। कौन पुछे खेसडीका दाल भनेझैँ छ।

अँ त गुगलले हामीलाई मोबाइलमा बसेर गाइड गरिरहेको छ। त्यो ठाउँ मेरै करले गर्दा जाँदै छौँ। म टोलीको अग्रज सदस्य भएकाले मेरो कुरा काट्न उनीहरूले नसकेका कारणले गर्दा मात्र भ्रमण जुरेको हो आज। हाम्रा आँखैको सामुन्नेमा छ बोस्टन टी पार्टी। परैबाट जहाज देखिँदै छ।

तर त्यसको करिब ५० फिट पहिले नै टोलीका सदस्यहरू बाटैको रुखमुनि बनाइएको फलैँचामा फ्यात्त बसेका छन्। र घामले रापिएर स्याँस्याँ गर्न थालेका छन्। अनि मलाई उनीहरूले भने, ‘उः त्यही हो बोस्टन टी पार्टी। गएर हेरेर आउनू।’

म भने मनमनै सम्झँदै छु। अमेरिकी स्वतन्त्रता सङ्ग्रामका लागि कोसेढुङ्गा बनेको त्यो बोस्टन टी पार्टीका बारेमा विचरा उनीहरूलाई केही थाहा छैन। थाहा भए पनि उनीहरूको इच्छाको विषय होइन त्यो।

म एक्लै उत्सुकता तथा दिग्दारी भावमा बोस्टन हार्वरमा बनाएको पुलैपुल जाँदै छु। मेरो सम्झाउनी बिर्साउनी फोटो खिच्नका लागि पनि अर्को एक जना चाहिन्छ। सेल्फी खिचेर त के फोटो खिचेँ भन्नु र ? तर विवेकाले मेरो मर्म सायद बुझिन् क्यार। मसँग गएर फोटो खिच्ने महत्त्वपूर्ण काम गरिदिइन्।

मैले मनमनै विवेकालाई धन्यवाद दिइरहेको छु। त्यो बोस्टन टी पार्टी म्युजियम काङ्गे्रस स्ट्रिटको बोस्टन हार्वरको पुलसँग जोडिएको छ। पुललाई फराकिलो पारेर बनाइएको सो म्युजियमको अगाडिपट्टि टिकट काउन्टर छ। टिकट काटेर भित्र जाने समय छैन हामीसँग। तर बाहिरबाटै मुख्य जहाज देखिइरहेका छन्।

ती दुई जहाज बोस्टन टी पार्टीमा प्रयोग भएको इलिएनर र बिएभर नामका जहाजका रिप्लिका हुन्। म भने प्राङ्गणमा उभिएर हेरिरहँदा कल्पना गरिरहेको छु। इतिहास मेरा दिमागको पत्रपत्रमा कुदिरहेको छ। मानूँ मै त्यो बोस्टन टी पार्टीमा समावेश भएको थिएँ। मानूँ मै बेलायतका विरुद्ध आन्दोलनमा सरिक भएको थिएँ। मानूँ चियाका बन्डललाई पानीमा फालिरहेको थिएँ म आफैँ।

मनमा लाग्यो पहिले हेरेर पछि कक्षा कोठामा पढाउन पाएको भए खासा हुन्थ्यो नि। तर के गर्नु ? यो कुरा नै इतिहास भइसकेको छ। अब चुक्चुकाएर हुने कुरा पनि छैन। पहिले यो कुरा सम्भव पनि थिएन। मनको लड्डु मात्र त थियो यो कुरा।

मलाई थाहा छ कि वर्तमान अमेरिका बेलायतको उपनिवेश थियो। भारत पनि बेलायतको उपनिवेश थियो। यी दुवै ठाउँमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको राइँदाइँ थियो। त्यसैले बेलायत राज्यमा कहिल्यै सूर्य नअस्ताउने भनिन्थ्यो।

भारतमा घाम अस्ताउँदा अमेरिकामा उदाउने, अमेरिकामा अस्ताउँदा भारतमा उदाउने प्रकृति थियो। त्यसैले बेलायती साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन थियो। अहिले आएर त्यही एउटा समय उपनिवेश भएको अमेरिका संसारको ज्यादै शक्तिशाली देश भएको कुरा पनि सम्झेँ। भारत शक्ति उन्मुख देश भएको प्रसङ्ग पनि दिमागमा आइहाल्यो। यसै बेला नेपाल सम्झेँ र वर्तमान नेपालको विकासको अवस्थालाई गमेँ। दिग्दार लागेर आयो।

तर तत्क्षण त्यही बोस्टन टी पार्टीमा उभिएर मेरो देश नेपाल कहिल्यै कसैको उपनिवेश नभएकोमा गौरवबोध गरेको छु। यो गौरवबोध पैसाले किनेर पाइने कुरा पनि होइन। विकासले ल्याइदिने कुरा पनि त होइन। विकासले सम्बृद्धि त ल्याउला तर गौरव भने ऐतिहासिक हुन्छ। म यही गौरवमा पुलकित भइरहेको छु।

आफ्नो उपनिवेश अमेरिकामाथि साहु सोचको बेलायतले दनादन कर लाउनु र पैसा असुल गर्नु वैश्य मान्यतामा स्वाभाविक थियो। त्यस मध्ये स्टाम्प एक्ट र टी एक्टको भने निकै ठूलो विरोध भएको थियो अमेरिकामा।

फलस्वरूप अमेरिकन कोलोनिस्टले विद्रोह गरेका थिए। जसमा अमेरिकन कोलोनिस्टलाई बेलायती फौजले मासेक्रा नै गरेका थिए। मलाई अमेरिकी इतिहासको यो बोस्टन म्यासेक्रालाई सम्झँदा मान्छेले मान्छे मारेर बनाएको सभ्यता र मान्छेलाई निर्मम तरिकाले मारेरै बनाइएको आधिपत्यको कडी देखेर दिग्दार लागिरहेको छ।

नेपालको इतिहासमा पनि कोत म्यासेक्रा, भारतको इतिहासमा पनि जालियावाला बाग हत्याकाण्ड यस्तै नरसंहारका घटना हुन्। यो कुरा सम्झँदा भने पत्रु हुनआँटेको यो झन्डै छ फिटे शरीर पनि गलित भएको महसुस गर्दै छ। तर पनि मान्छेले यो संसारमा आफ्नो अस्तित्व, स्वतन्त्रता तथा स्वाधीनताका लागि निकै ठूलाठूला सङ्घर्षहरू गरेका छन्। देश जोरेका छन्। देश चोरेका छन्। पाएका छन्। गुमाएका छन्। मरेका छन्। मारेका छन्।

साहु भएको बेलायतको चिया व्यापारको विरोध गर्दै अमेरिकी कोलोनिस्टले चियाको बहिस्कार गर्नु विद्रोहको सिद्धान्तमा स्वाभाविक थियो। तर अचम्म यो विद्रोहको नेतृत्व चियाका तस्कर मध्यम वर्गीय व्यापारी जोन ह्याङ्कक र सामुयल एडेम्सले गरेका थिए।

उनीहरूको अन्तर्य आफ्नो चिया तस्करीको सुरक्षा गर्नु थियो। व्यापारको सुरक्षा गर्नु थियो। त्यसकारण यिनीहरूले एउटा सङ्ठन खोले ‘द सन अफ लिवर्टी’। अन्तत यसैको नेतृत्वमा बोस्टन टी पार्टी भएको थियो।

वास्तवमा संसारभरिकै सामाजिक, अर्थिक तथा राजनीतिक विद्रोहको बारेमा कुरा गर्ने हो भने मध्यम वर्गले नेतृत्व गरेको पाइन्छ। यो मध्यम वर्ग आफ्नो स्वार्थको रक्षा गर्नका लागि परिवर्तन चाहन्छ। मध्यम वर्ग भनेको चोट्टा समूह हो। स्वार्थी समूह हो।

जो गरिब निमुखाका कुरा उठाउँछ। गरिब र निमुखालाई उराल्छ। आन्दोलन गर्छ। परिवर्तन पनि गर्छ। तर उसको ध्याउन्ना भने धनी बन्ने हुन्छ। मध्यम वर्गीय स्वार्थ संरक्षण गर्न खोज्छ। संसारको इतिहासले यही भन्छ। त्यसकारण यही तस्करी स्वार्थ परिपूर्ति गर्न डिसेम्बर १६, १७७३ मा बोस्टन टी पार्टी घटना भएको थियो।

पढिन्थ्यो, पढाइन्थ्यो कि त्यो बेला अमेरिकामा सालाना १.२ मिलियन पौन्ड चिया खपत हुन्थ्यो। मजाको कुरा के थियो भने आदिवासी अमेरिकीहरूलाई चियाको स्वाद थाहा थिएन। तर बेलायतले अमेरिकामा उपनिवेश बनाएपछि चियाको लत लगाइ दिए। चियाका पारखी युरोपेलीहरूले चियाको निकोटिनको रन्को अमेरिकामा पुर्‍याइ हाले।

चिया नपिई नहुने भयो अमेरिकीलाई। त्यसपछि ब्रिटेनले चिया बेच्न थाल्यो। यो वैश्य तरिका थियो। तरिका पनि कस्तो गजबको थियो भने एकाधिकार पाएको ब्रिटिस इस्ट इन्डिया कम्पनीले चीनमा चिया किनेर अमेरिकामा लगेर बेच्थ्यो। अमेरिकी आफैँले चियाको उत्पादन तथा व्यवसाय गर्न पाउन्न थिए। यस्तो अन्यायका विरुद्ध अमेरिकी कोलोनिस्टहरूले चिया बहिस्कार गरे। ब्रिटेनले बल प्रयोग गर्‍याे।

त्यस कारण आन्दोलनकारीले ब्रिटिस इस्ट इन्डिया कम्पनीले अमेरिकामा पठाएका ३४२ चियाका ठूला प्याकेटलाई बोस्टन हार्वर समुद्रमा डुबाइ दिए। त्यो दिन बोस्टन हार्वरको समुद्रमा डुबाइएको चिया झन्डै ४५ टन थियो। १६ वर्षदेखि ४० वर्षसम्मका मान्छेले भाग लिएका थिए।

यो कुरा थाहा पाएपछि मेरा दिमागमा मूलत दुई कुरा आएका छन्। एउटा कुरा आयो कि समाज परिवर्तन गर्ने काम युवाले मात्र गर्न सक्छन्। समाजमा आन्दोलन गर्ने र समाजलाई अग्रगमनतिर लैजाने वर्ग नै यही हो। त्यसकारण नै होला इटलीको संझना आयो मलाई।

इटलीको एकीकरण गर्ने एक योद्धा मेजिनी परिवर्तनका लागि युवा नेतृत्व भन्ने नारा दिन्थे। नेपालमा पनि बूढा नेतृत्वको कारणले नेपाल पछाडि परेको भन्ने तर्क मैले सुनेकै हो। अर्को कुरा तस्करले नै गरेको भए पनि बोस्टन टी पार्टीलाई सरकारले सुरक्षा गरेको छ।

उनीहरूको इतिहास संरक्षण गरेको छ। तर यही बेला सोच्दै छु कि ज्यानको बाजी लगाएर राज्य एकीकरण गर्ने पृथ्वीनारायणको सालिक फोड्छ क्रान्तिकारी नेपाल। योभन्दा ठूलो विपर्यास परिवेश के होला जिन्दगीमा।

इतिहासमा पढीपढाएकै कुरा हो कि यो बोस्टन टी पार्टीका जहाजलाई खाली पार्न ३ घण्टा लागेको थियो। यो घटनामा कोही हताहत भएका थिएनन्। कुनै आगजनी भएन। जहाजलाई कुनै क्षति पुर्याइएन। यो घटनामा संलग्नले जहाजलाई बढारेर सफा पारेर निस्केका थिए। अहा ! विध्वंस पनि अनुशासित।

मैले नेपालका आन्दोलन, जुलुस, आमसभा गरेपछि नेपालका सडकको अवस्था आफ्नै आँखाले देखेको छु। ऐतिहासिक सम्पदालाई घनले हानेको देखेको छु। आगो लगाएको पढेको छु। विकासका पूर्वाधार गल्र्याम्म ढाल्ने अग्रगमन नेपालमै देखेको छु।

यहाँसम्म कि एउटा पार्टीको सरकारले गरेको राम्रो काम पनि अर्को पार्टी सरकारमा गएपछि काउछो भएको अनुभूत गरेको छु। त्यसकारण जति भने पनि यस्ता विभत्सताले मन रुनु सिवाय के नै पो गर्न सकिन्छ र ? यस्ता नेपाली बाँदरका दूतले पनि के देश बनाउँछन् होला र खै ?

अमेरिकी स्वतन्त्रता संग्रामको लागि बोस्टनले आगो झोस्यो। यसैका दौरान अमेरिकी स्वतन्त्रा सुरु भयो। यही बोस्टन टी पार्टीले बनाएको वातावरणको जगमा आन्दोलन भएको थियो।

सन १७७६ को जुलाई ४ का दिन ग्रेट ब्रिटेनका १३ वटा कोलोनी न्यु ह्याम्पसायर, मासाच्युसे, कनेक्टिकट, रोह्डे आइल्यान्ड, न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनियाँ, डेलावर, मेरी ल्यान्ड, भर्जिनियाँ, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, र जर्जियालाई मिलाएर स्वतन्त्रताको घोषणागरी संयुक्त राज्य अमेरिका बनाइएको हो। वर्तमान संयुक्त राज्य अमेरिकाको पुरानो नाम टर्टल ल्यान्ड हो।

अमेरिकामा उपनिवेस बनाएका कारणले बेलायतलगायत अन्य युरोपीय देशहरूले टर्टल ल्यान्डको नाम युनाइटेड कोलोनिज राखेका थिए। स्वतन्त्रतापछि मात्र संयुक्त राज्य अमेरिका नामकरण गरिएको हो।

अचम्मको कुरा त के भने देवानी तथा फौजदारी अभियोगको सामना गर्नु पर्छ भनेर बोस्टन टी पार्टीमा संलग्न कसैले आफू त्यहाँ उपस्थित भएको बताएनन्। किनभने अमेरिकाका नेता तथा प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनलगायत तत्कालीन अमेरिकी नेताहरू यो बोस्टन टी पार्टीको बिरोधमा थिए।

व्यक्तिको वा कम्पनीको चिया त्यसरी नस्ट गर्नु हुन्थेन भन्ने विचार थियो। यो बुँदामा सोचिरहँदा संसारकै सम्पत्ति तान्न तथा व्यक्तिगत सम्पत्तिको सुरक्षा र स्वतन्त्रताका लागि अमेरिकी शासन पद्धतिमा दिमाग लगाउन पुगिरहेको छु।

राजनीतिमा बदलाको राजनीति नलिएर सबैको समान अस्तित्व स्वीकार गरेको देखिन्छ। नेपालमा भए कृत्रिम नाम उभ्याएर भए पनि राजनीतिक पीडित भनेर पैसा कुम्ल्याउने थिए। र यस्ता फटाहाहरू समाजमा नामी ठानिन्थे।

अँ त त्यो बोस्टन टी पार्टी भएको स्थानका केही फोटाहरू विवेकाले खिचिदिएकी छिन्। ती फोटामा सम्झाउनी बिर्साउनी म उभिएको छु। घामको तप्तता अग्घोरै छ। पसिना चुहाउँदै पुलवारि टोली बसिरहेका ठाउँमा म र विवेका आयौँ। बाटाभरि म इतिहास तथा महत्त्वका बारेमा सम्झेर चित्त बुझाउने प्रयत्न गर्दै छु।

आखिर हरेक विषय तथा स्थानको महत्त्व भनेको परिवेशीय हुँदोरहेछ। म पो इतिहासको विद्यार्थी त ! मेरा पो दानापानीमा इतिहास पसेको छ ! तर अरूलाई बोस्टन टी पार्टीको के मतलब ? के महत्त्व ? यस्तै बेला नेपालको दुल्लुमा खस राजाको शिलालेख कसैको निजी घरको खाँवो बनाइएको दृश्य मेरा आँखामा सम्झना भएर आइरहेको छ।

जे भए पनि पुगेको छु। यति छोटो हुँदा पनि मैले बोस्टन टी पार्टीका बारेमा धेरै चश्मज्ञान पाएको छु। छाल हान्दै गरेको समुद्रमा राखिएका ती जहाज आँखैले देख्दा भगवान भेटिएको भक्तझैँ खुसी भएको छु। पढाएकोभन्दा खुला आँखाले बोस्टन टी पार्टी हेर्नुको छुट्टै मजा आएको छ। पढाउँदा जागिर खाने प्रयोजन थियो। कक्षा कोठामा पढेको पढाएको जस्तो मात्र कहाँ हुन्थ्यो र बोस्टन टी पार्टी ? भव्य पो छ त।

मलाई थाहा छ, त्यो बोस्टन टी पार्टीको जहाज छ। सम्बन्धित म्युजियम छ। म्युजियमभित्र एउटा मिटिङ हल छ। चिया पिउने स्टल छ। मुख्य कुरा त यो बोस्टन टी पार्टीमा चिया पिउनकै लागि संसारभरिबाट मान्छेहरू आउँछन् र चिया पिउँछन्।

तर मलाई भने समयले यसरी पेल्यो कि दस पाइला परतिर भए पनि एक प्याला चिया पिउन अनुमति दिएन। समय यस्तो बलवान हुन्छ त म के गरूँ ? तर पनि बोस्टन टी पार्टीका मुख्य इलिएनर र बिएभर नामका दुई जहाजका रिप्लिकाले मलाई चिया पिउन आमन्त्रण गरि नै रहेका छन्। मनभरि पेटभरि भएको छु।

तर ‘फेरि फर्केर आउँला है चिया पिउन’ भनेर वाचा गर्न पनि सकिनँ। जिन्दगीको के सार हुन्छ ? समय असाध्य क्रुर हन्छ। त्यसैले कुनै तीर्थ यात्रीले मन्दिरको अगाडि उभिएर दर्शन गरेझैँ स्थलको दर्शन गरेर फर्किएको छु। तर पनि यो यात्रा मेरा दिमागभरि नमुर्झाउने गरी जमठ भएर बसेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *