बराहक्षेत्रमा हात्तीको आतंक

डिसी नेपाल
१८ असोज २०८१ २३:११

इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आतंक सुरु भएसँगै स्थानीय त्रसित बनेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जंगली हात्ती र अर्नाको आतंकले यहाँका स्थानीय त्रसित बनेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा आज भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतंक पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए। सप्तकोशी नदीमा आएको बाढीका कारणले आरक्षमा रहेका जंगली जनावर बस्तीमा पस्न थालेका उनले जानकारी दिए।

नगरप्रमुख कार्कीले बाढीबाट पीडित धान र तरकारी किसान आरक्षबाट आउने हात्तीको आक्रमणबाट त्रसित हुन थालेका बताउँदै दैनिक आउने हात्ती र अर्नाले करिब पाँच सय बिघा धान र तरकारी बाली नष्ट गरेको जानकारी दिए।

हात्ती नियन्त्रणका लागि सरोकार भएका निकायले समन्वय गर्नुपर्ने माग गर्दै नगरप्रमुख कार्कीले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गरे। आरक्षमा रहेका अर्ना तथा हात्ती भारतको सुपौल जिल्लाको भीमनगर नजिकै कटैयापावर हाउस वरपरका बस्तीमा आतंक मचाइरहेकाले तत्काल उद्धारका लागि पहल गर्न पनि उनले आग्रह गरे।

बाढी पीडित परिवारलाई तत्काल राहतसामग्री उपलब्ध गराउन थालिएको बताउँदै पुनःस्थापनाको पहल पनि भइरहेको जिल्ला अधिकारी रामचन्द्र तिवारीले उल्लेख गरे। जिल्लामा बाढी पीडितको तथ्यांक संकलन भइरहेकाले स्थानीय तहसँगको समन्वयमा तत्काल पीडित परिवारलाई खाना र अस्थायी बासको व्यवस्था गरिएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *