‘द हिमालयन’ काउन्सिलको गम्भीर छानवीनमा

डिसी नेपाल
१९ असोज २०८१ १०:१८

काठमाडौं। एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको उजुरीमा प्रेस काउन्सिल नेपालले अंग्रेजी दैनिक द हिमालयनमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्य कार्यदल समेत गठन गरेको छ।

दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टल बाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल पुर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीका सम्बन्धमा थप अध्ययन गर्न कार्यदल गठन गरेको आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

यस्तो खालको कार्यदल काउन्सिलले अपवादजन्य घटनामा मात्र गठन गरी विशेष अनुसन्धान गर्ने गरेको छ। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले उक्त कार्यदलबारे निर्णय गरेको हो।

त्यस्तै, दृष्टि मिडिया प्रा.लि.द्वारा सञ्चालित दृष्टिन्यूज डटकमको परिचयपत्र, कार्यअनुभव पत्रलगायत नक्कली कागजपत्र बनाइ मिडियाको छाप र हस्ताक्षरसमेत नक्कली बनाइ अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषयमा थप अनुसन्धान गर्न काउन्सिलले नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयलाई समेत लेखि पठाएको छ।

आचारसंहिता उपसमितिमा अध्यक्ष बस्नेत, काउन्सिलका सदस्यहरु ठाकुर बेल्वासे, गणेश पोखरेल, शरद अधिकारी, लालबाबु शेख र नेपाल बार एशोसिएसनका प्रतिनिधि रहेका महासचिव अधिवक्ता अन्जिता खनालको सहभागिता थियो।

बैठकपछि सहप्रशासकीय अधिकृत रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा पत्रकार तथा सञ्चार माध्यमले सत्यतथ्य र सन्त७३घढसलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, समाचारका सम्बन्धमा सम्बन्धित पक्षको भनाइ एवं प्रतिक्रियालाई स्थान दिनु पर्ने, पेसागत आचरणविपरीत क्रियाकलाप गर्न नहुने पत्रकार आचारसंहितामा प्रष्ट व्यवस्था विपरित काम भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

यस्ता क्रियाकलापबाट सजग रहन सञ्चार माध्यम, आम पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध पक्षलाई काउन्सिलले चेतावनी समेत दिएको छ । पछिल्लो समय प्रेस काउन्सिलले आचारसंहिता विपरितका विभिन्न गतिविधिमा केन्द्रित मिडिया र पत्रकारमाथि कडा कारवाही र निगरानी गर्दै आएको छ । मिडियाका नाममा चल्ने युट्युवमाथि समेत काउन्सिलले कडाई गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *