कविता : मैले गाउँनै छोडे जीवनको मिठो गीत

प्रकाशचन्द्र खतिवडा
२६ असोज २०८१ ७:२९
मैले गाउनै छोडें
जीवनको मिठो गीत
तिनीहरु मलाई लखेटिरहेछन्
म निरन्तर भागिरहेछु
जीवन यात्राको दौडमा
दौड जित्नै पर्छ भन्ने केही छैन
दौड हार्न सकिन्छ
पुनःदौड सुरुवात गर्नका लागि
म सँग
के प्रतिशोध साँध् छौ ?
युगौं देखि
दमित छु म
मेरा आवाजहरु
कहाँ बिष्फोटित हुन पाएका छन् र ?
निर्दयी
निर्मोही छ संसार
हाँस्नै कहाँ पाइएको छ र ?
जीवनका जिजीबिषाहरु
उर्लन्छन् खहरे जस्तै
अभिशप्त बगरहरुमा
बगरमै पछारिएको छु
मेरो को छ र यहाँ ?
न आमा
न बुबा
न दाजु
न भाइ
न दिदी
न बहिनी
न कुनै इष्ट मित्र
फगत
एक्लो छु म
ऐेया भन्दा
के भयो भन्ने कोही नभए पछि
बाँच्न चुनौती पूर्णै हुने रहेछ
दासत्वका जालोहरु
च्यातिन  सकेनन् किन ?
परिवर्तन भयो भन्छौ
भोको पेट उक्सनै सकेन
मैले भन्नुनै थियो
नाङ्गो आङ्ग ढाकिनै सकेन
सम्बन्धित निकाय मौन किन ?
बुुङदे !
मैले जान्दा देखि नै
बेघरबार छ
सरकार् !
सुकुम्बासी आयोग कता छ ?
बुङ्देको नाम सिफारिस हुनै सकेन
भुण्टीको आङ् नाङ्गै छ
मैले लेख्नु नै थियो
भुण्टीको पेट पनि भोकै छ
राहत दिने कोही भएन
ठूलीले
स्कूल छोडि रे
ड्रेस किन्ने पैसा छैन
कापी कलमको
उस्तै समस्या छ रे
बुङ्देले
चाँजो, पाँजो मिलाउनै सकेन
बुङ्दे जस्ता
सयाैं बुङ्देहरु
भुण्टी जस्ता
सयाैं भुण्टीहरु
म जस्ता
सयाैं हामीहरु
प्रताडित हुने किन ?
हाम्रो के दोष छ र
हामी हेपिने किन ?
हेपिनुको पनि सीमा हुन्छ, हैन र ?
अनुत्तरित प्रश्नहरु त थुप्रै छन्
जवाफ दिने कोही भएन
अनि कसरी
गाउँन सकिन्छ जीवनको मिठो गीत ।
सुन्दरहरैंचा-६, दुलारी,मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *