म्यानहटनको सेन्ट्रल पार्कमा अर्धनग्न नृत्य

खेमराज पोखरेल
२६ असोज २०८१ ८:०१

सायद मैले कतै पढेँ वा राजनीतिक खबर/भाषणमा पनि सुनेँ कि अमेरिकाको न्युयोर्कस्थित म्यानहटन र स्वीटजरल्यान्ड यी दुवै संसारभरिका धनाढ्यले गोरो/कालो धन थुपार्ने ठाउँ हुन्।

भनिन्थ्यो, स्वीटजरल्यान्डको बैँकमा पैसा राख्नु र म्यानहटनमा फ्ल्याट किन्नु विश्वका धनाढ्यको गरिमा मानिन्छ। त्यसकारण पक्का पनि मेरा दिमागको कुनै एउटा पत्रमा ती ठाउँको यात्रामोह सुसुप्त थियो नै होला। स्वीटजरल्यान्ड पुगेको छुइनँ। तर म्यानहटन यात्राको संयोग भने जुरेको छ।

त्यसो त म दुई वर्ष पहिला पनि न्युयोर्क पुगेको थिएँ। त्यो बेला जनवरी महिना थियो। र कुसंयोग त्यही बेला न्युयोर्कमा हिउँआँधी आएर तापक्रम माइनस २० डिग्रीमा सेन्टिग्रेडमा झरेको थियो।

त्यसो भए पनि भदाहासालो सुमेश भट्टराईले हिँउले जमेको सडकबाट तताएको गाडी गुडाउँदै मलाई सेन्ट्रल पार्क देखाएका थिए। त्यसले म्यानहटन तथा सेन्ट्रल पार्क हेर्ने धोको पूरा हुनुको साटो झन् भोकाएको थियो।

तर यस पल्ट भने सुसंयोग परेको छ। २०२१ को अप्रिल-मे महिनाको समय म अमेरिकाको पूर्वी तटतिर सांस्कृतिक निम्तो मान्ने बहानामा पाहुना लाग्न आइपुगेको छु। तथापि गुढ प्रयोजन भने घुम्ने नै हो। याने कि पशुपतिको जात्रा सिद्राको व्यापार हो। मेरो भदाहासालोको घर न्युयोर्कसँगैको ट्यापोन भन्ने सहरमा छ। म त्यहीँ बसेको छु। मलाई न्युयोर्क घुमाउने पानको बिडा उनले नै लिएका छन्। त्यसैले जसोजसो बाहुन बाजे, उसैउसै स्वहाः परिवेशमा छु।

मे महिना भएकाले मौसम गर्मी छ। गर्मी हुनु अनुकुल मौसम हो न्युयोर्क घुम्न। मे महिनाको २२ तारिक हो आज। हामी याने कि म मेरी श्रीमती सुशा, सुमेश र उसकी छोरी सान्वी गरी ४ जाना म्यानहटन तथा सेन्ट्रल पार्क घुम्न निस्केका छौँ। दिनको २ बजे हिँडेका छौँ। गर्मी निकै छ। ९० डिग्री फोरनहाइट तापक्रम छ। सात मध्ये पाँच सूर्य उदाएझैँ लाग्दै छ।

गाडी हडसन नदीमा बनेको जर्ज वासिङ्गटन पुलमाथिबाट दगुर्दै छ। पुल आफैँमा निकै मनोरम छ। म गाडीबाटै सो पुलको सौन्दर्य हेर्दै छु। पुल तारका त्यान्द्रातुन्द्रीमा अडिएको जस्तो देखिँदै छ। गाडी हाँकिरहेको सुमेशले मतिर नहेरी नै भनेका छन्, ‘भिनाजु, यो पुल अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको नाममा बनाइएको हो।

न्युयोर्कको जनजीवनमा यो पुलको ज्यादै महत्वपूर्ण भूमिका छ। पुलमा दुई तला गरी १४ लेनको सडक छ। ११९ फिट चौडा छ यो पुल। यो पुलमा इतिहास तथा आश्चर्य दुवै छ। न्युजर्सीबाट न्युयोर्क र म्यानहटनलाई जोड्छ यो पुलले। सन १९२७ मा बन्न थाल्दा यो संसारकै लागि आश्चर्यको विषय थियो।

मैले झट्ट नेपालको कर्णाली पुललाई सम्झेको छु। र, भनेको छु, ‘कर्णाली पुल पनि गजबको छ नि, तिमी गएका छौ ?’
उनी मजाले हाँस्तै भन्दैछन्, ‘भिनाजु, कर्णाली पुलचाहिँ म गएको छैन। तर त्यो पुलको डिजाइन चाहिँ मैले काम गर्ने कम्पनीले गरेको हो।’

उनी यही न्युयोर्क क्षेत्रमा नै काम गर्ने सिभिल इन्जिनियर भएको हुनाले आफ्नो जानकारी मलाई सुनाउँदै छन्।

अन्ततः हामी म्यानहटनको सेन्ट्रल पार्क पुगेका छौँ। गाडी पार्किङ गरेपछि सेन्ट्रल पार्कको पश्चिमी गेटमा पुग्न झण्डै करिब १५ मिनेट लागेको छ। प्रवेश निशुल्क रहेछ। पुस्तिकाका अनुसार यो सेन्ट्रल पार्क ८४३ एकडमा क्षेत्राकारमा फैलिएको रहेछ। मैले त्यो क्षेत्रफललाई नेपाली बिघामा रूपान्तरण गरेर हेरेँ।

आमाम्मा, त्यो भनेको झण्डै ५०४ बिघा हो रहेछ। म्यानहटनजस्तो संसारकै महँगो ठाउँमा ५०४ बिघाको पार्क ? पार्कको उत्तर दक्षिण लम्बाइ लगभग पौने चार किमी र पूर्वपश्चिम चौडाई झन्डै एक किमी रहेछ। न्युयोर्क सहरको मुख्य बजार र बसोबासको केन्द्र म्यानहटनका बिचमा रहेको यो पार्क ज्यादै ठूलो लागेको छ मलाई।

पार्कको वरिपरि ढुङ्गाको ३ फिट चौडा र १० फिट अग्ला पर्खालले घेरिएको कुरा आँखैले देखेको छ। ठाउँठाउँमा प्रवेश द्वारहरू छन्। युरोपेलीहरूको आगमन हुन थालेर न्युयोर्कमा बसोबास बाक्लिन थालेपछि म्यानहटनका गगनचुम्बी भवनको कल्पनासँगै यो पार्कको पनि कल्पना गरिएको रहेछ।

वर्तमान सेन्ट्रल पार्कमा दक्षिण अफ्रिकाबाट ल्याइएका काला जातिहरूको सेनेकन भिलेज नामको बस्ती थियो रे। त्यो बस्तीलाई अन्यत्र सारेर यो पार्क बनाइएको रहेछ। यो पार्कको भित्रभित्रै परिक्रमा गर्न झन्डै १० किमी घुम्नु पर्ने रहेछ। पार्कको निर्माण ल्यान्डस्केप आर्किटेक्चर टेकनिकबाट निर्माण गराइएको रहेछ।

याने कि त्यसबेलाको न्युयोर्कको भूगोललाई सुरक्षा गर्दै इतिहास तथा नमूनाका लागि यो पार्कको भौगोलिक अवस्थिति त्यही बेलाको प्राकृतिक नै छोडिएको रहेछ। नत्र त न्युयोर्क सहर बसाउँदा अन्य भूमि भने ताछतुछ पारेर सम्याइएको रहेछ। पार्कभित्र प्राकृतिक खोला, ताल, जङ्गल रहेछन्।

यो पार्क बन्नुभन्दा पहिलेको र अहिलेको समयमा धेरै परिवर्तन भइसकेको छ। म्यानहटनका अग्ला बिल्डिङहरू सानसौकत देखाउँदै छ। तर यो पार्क भने आफ्नो पुरानो अवस्थितिलाई ज्यूँका त्यूँ राखेर पर्यटक तान्दै छ। त्यो उस्तै छ।

पार्कभित्र अनुमति पाएका गाडी, पैदलयात्री तथा साइकल यात्री हिँड्न पाउने अलगअलग सडक छन्। त्यसमाथि जङ्गलभित्र बनाइएका डोरेँटोहरू पनि मनमोहक लाग्दै छन् मलाई। ती डोरेँटोहरू मैले चुरेपहाडमा हिँडेका जस्ता छन्। खानेकुरा घरैबाट लगेर परिबारै दिनभरि पार्कमा बस्ने चलन रहेछ। विविध प्रकारका दरी ओछ्याएर हजारौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन्।

खाइरहका छन्। पार्कका कुनाकुनाका चौरमा हजारौँ मान्छे पाहार तापिरहेका छन्। सिँयाल तापिरहेका छन्। कोही खेलिरहेका छन्। कतै फिल्म सुटिङ भइरहेछ। त्यो सुटिङलाई मान्छेहरू पर बसेर हेरिरहेका छन्। मैले भाइ सुमेशलाई सोधेको छु, ‘भाइ, यहाँ त फिल्म सुटिङ पनि हुँदो रहेछ हगि ?’

उनले जबाफ दिएका छन्, ‘हो भिनाजु, यो पार्कमा हजारौँ सिनेमाको छायाङ्कन गरिएको छ। संसारको सबैभन्दा बढी सिनेमा छायाङ्कन हुने ठाउँका रूपमा यो पार्क प्रसिद्ध छ।’

मैले पुस्तिका पल्टाएर हेरेको छु। आखिर गाइड भन्नु त्यही पुस्तिका त हो। त्यहाँ लेखिएअनुसार यो पार्कमा केटाकेटी खेल्ने २१ वटा ससाना खेल मैदान तथा स्थल रहेछन्। यसै गरी २६ वटाभन्दा बढी बेसबल कोर्ट, १२ वटा टेनिस कोर्ट, ६ वटा फुटवल मैदान र ४ वटा बास्केटबल कोर्ट र ४ वटा भलिबल खेल्ने चौर रहेछन्।

यसैगरी मानवनिर्मित तथा प्राकृतिक खुला पौडी खेल्ने पोखरीहरू पनि रहेछन्। अलिपरतिर एउटा ठूलो रङ्गिन चौर देखिएको छ। जसलाई स्ट्रावरी फिल्ड भनिँदो रहेछ। यो ठाउँ फोटो खिच्ने मान्छेहरूको लाम लागेको भीड छ।

त्यो चौरको फोटो खिच्नकै लागि मान्छे खचाखच छन्। यो स्ट्रावेरी फिल्डबाट देखिने प्यानोरमिक दृश्य निकै सुन्दर छ। जङ्गलका बिचमा फिल्ड र त्यसको छेउमा रहेको तलाउ र त्यो तलाउबाट देखिने म्यानहटनका गगनचुम्बी महलहरूको दृश्य संसारको स्वर्ग जस्तै लागिरहेको छ मलाई।

तर अचम्म लागिरहेको छ मलाई। कुकुरलाई सँगै सुताएर रुखको फेदमा पल्टिएकी गोरीलाई त्यहाँको अद्र्धनग्न दृश्यले छोएको छैन। मान्छेको भिडमा ऊ एक्लै अनुभूत गर्छे। त्यहाँको कोलाहलमा पनि ऊ शान्ति महसुस गर्छे।

हामी दृश्यलाई आँखा तथा क्यामराका लेन्समा घुसाउँदै हिँडिरहेका छौँ। बाटोमै इमरजेन्सी कल ९११ का लागि विभिन्न ठाउँमा स्वचालित बुथको व्यवस्था गरिएको देखिएको छ। सुरक्षाको राम्रो व्यवस्था देखिएको छ। किनभने बेलाबेला पुलिसका भ्यानहरू कुदिरहेका छन्। तर यति सुरक्षा भए पनि यहाँ मान्छे मान्छेबाटै मारिएका घटनाहरू रहेछन्। जङ्गलमा सेक्सुअल अपराध गरी मार्ने घटनाहरू पनि रहेछन्।

ड्रग सप्लाइ तथा ड्रग अपराधको त यो पार्क केन्द्र नै रहेछ। किनभने जङ्गल असाध्य घनघोर छ। मैले झट्ट आफ्नै देशको रत्नपार्कलाई सम्झेँ। हुन चाहिँ हो कि होइन, तर रत्नपार्कलाई पनि सहरको बिचमा र प्रहरी कार्यालयको अगाडिनै भए पनि यौन तथा लागूपदार्थको केन्द्र हो भन्थे मान्छे। उफ ! यो मान्छेको जात के खोज्छ कुन्नि ? के बुझ्छ कुन्नि ?

यो पार्क यति ठूलो र आकर्षक छ कि ५० मिलियनभन्दा बढी पर्यटकले हरेक वर्ष यो पार्कको यात्रा गर्ने गरेको तथ्याङ्क रहेछ। पार्क पस्ने २० वटा त गेट रहेछन्। गेटको नाम लेखक, कवि, तथा अमेरिकाको जीवनका विविध क्षेत्रमा योगदान दिने व्यक्तिका नाममा राखिएको रहेछ। तिनका २९ वटा मूर्तिहरू बनाइएका रहेछन्। यो कुरा जुन गेटमा पुग्यो त्यहाँ देखिने मूर्तिले प्रष्ट पार्छ।

पार्कभित्र २ ठूला रेस्टुरेन्ट तथा ठाउँठाउँमा पोर्टेबल रेस्टुरेन्टहरू रहेछन्। पार्कभित्र कुद्न, जगिङ, मर्निङ तथा इभिनिङ वाक गर्न ट्रेल, पैदल यात्री, साइकलयात्री, तथा स्केटिङ गर्न सडकको व्यवस्था गरिएको रहेछ। वाइक लेन तथा हिँड्ने बाटो अलगअलग रहेछ। न्युयोर्क सिटीको म्याराथन दौड यही सेन्ट्रल पार्कमै हुने गरेको रहेछ। यति भिमकाय रहेछ यो पार्क।

यो पार्क बनेपछि म्यानहटनका जग्गाको मूल्यमा एकै पल्ट ७०० प्रतिशत वृद्धिले भएको रहेछ। सेन्ट्रल पार्कबाट आँखा घुमाएर हेरिरहेको छु। पार्कको जङ्गलसँगै जोडिएका गगनचुम्बी भवनहरू उचालिएर हाँसिरहेका छन् जस्तो लागेको छ मलाई।

पानीका जङ्गली खोला, जङ्गल, वन्यजन्तु र अग्ला सहरी भवन एकै ठाउँबाट हेर्दा प्यानोरमिक दृश्य र आनन्द आइरहेको छ। तर फेरि उही गोरीलाई सम्झिरहेको छु। उसलाई के मतलब यी दृश्यसँग ?

यही आनन्द र उदेकका रन्कामा मैले भाइलाई सोधेको छु, ‘भाइ, म्यानहटनका गगनचुम्बी भवनमा लगभग ७०० क्षेत्रफलको एपार्टमेन्ट किन्न कति पर्छ बाबु ?’

उनले यसो मोबाइलमा हेरेर उत्तर दिएका थिए, ‘घटीबढी ४ मिलियन डलरभन्दा बढी पर्छ भिनाजु। सोही क्षेत्रफलमा भाडामा बस्न मासिक ४००० डलरभन्दा बढी पर्छ। त्यसैले यो म्यानहटनमा मध्यम र निम्न आय भएका मान्छेहरू एउटै कोठामा कोचिएर बस्छन्।’

पार्कभित्र हामी हिँडिरहेका छौँ। पार्कलाई ठाउँ ठाउँबाट अन्डर ग्राउन्ड टनेल रोड बनाएर वारिपारि गरिएको देखेर त म छक्क परेको छु। पार्कभित्र किरिङ मिरिङ पक्की तथा कच्ची बाटाहरू छन्। पार्कभित्र दोहोरो साइकल मात्र गुडाउन पाइने लगभग ६० फिटका सडक छन्। लाखौँ मान्छे पार्कभित्र छन्।

हामी लगातार हिँडिरहेका छौँ। रुखको सिँयालमा अर्की गोरी महिला उत्तानो परेर सुतेकी देखिइन्। उसको काखमा एउटा सानो सुन्दर पपी कुकुर पनि सुतेको छ। यसै बेला मलाई मान्छेको इच्छा र चाहना कस्तो होला भन्ने जिज्ञासा मनमा पलायो। मनमा लाग्यो कि जीवनका बारेमा के सोच्दी हो त्यो गोरी ? उसका नजरमा कस्तो होला यो संसार ? कस्तो सोच्दी हो अन्यत्रका मान्छेलाई ?

मैले भाइलाई सोधेको छु, ‘बाबु, यी अमेरिकीलाई यत्ति धेरै कुुकुरमोह किन ?’

जबाफ आएको छ, ‘मान्छेभन्दा कुकुर विश्वासिलो हो नि त भिनाजु।’

म गम्छु, हो त नि कुकुरले बिनासर्त मालिकको कुरा मान्छ। तर मान्छे ….. ?

हाम्रो हिँडाइमा प्रचण्ड गर्मीले बाधा हाल्दै छ। सिँयालसिँयाल खोज्दै हिँडिरहेका छौँ। बाटोमा गुराँसका ६-७ रङका बुट्यानहरू छपक्कै देखिए। यो गुराँस देखेर मेरी श्रीमती सुशा अत्यन्त खुसी भइन् र धडाधड फोटाहरू खिच्न थालेकी छिन्। म भने ताप्लेजुङको गुराँसे डाँडोमा छपक्क ढाकेर फुलेका गुराँसको जङ्गलको चक्षुदृश्यमै मस्त छु। खप्तड जाँदा बाटोमा देखिने विविध रङ्गका गुराँसका बुटाहरू सम्झँदै छु।

हिँड्दाहिँड्दै एउटा ठूलो पोखरी आइपुगेको छ। मा यसको नाम रिजर्भर पौन्ड रहेछ। यो पोखरीको रेलिङ्मा उभिएर जङ्गलपारि देखिने सामुन्नेको गगनचुम्बी महलले धन्याढ्यताको धाक लाएको जस्तो अनुभूत भएको छ मलाई। तर यो दृश्य हेर्दा मनमा रोमाञ्चकता भने थपेको छ। यो पोखरीलाई वरिपरिबाट घेरिएको छ। न्युयोर्कका लागि यो इमर्जेन्सी वा पुगनपुगमा पानी सप्लाई गर्ने स्टोर पो रहेछ यो पोखरी त।

पार्कभरि फूलका बगैँचा छन्। चिडियाखाना, किल्ला, कछुवाको पोखरी पनि देखिएका छन्। पार्कभित्र गतिला रेस्टुरेन्ट, पानीका झर्ना, प्राकृतिक जनावर हेर्ने स्थान, आर्सनल (नेसनल गार्डको बिल्डिङ), केटाकेटी खेल्ने प्ले ग्राउन्ड, संगीतको कार्यक्रम गर्ने मञ्च, तथा अनेकौँ वाटर पुलहरू रहेछन्।

ठाउँ ठाउँमा ससाना टुरिङ दोकानहरू पो रहेछन्। याने ठेलागाडाका दोकान छन्। ती दोकानहरूमा भारतीय र बङ्गलादेशी पनि मनग्गे देखिएका छन्। ठाउँठाउँमा व्यवस्थित र स्तरीय रेस्टरुमको व्यवस्था रहेछ। पार्कभित्र नेपालकै जस्ता मान्छेले तान्ने तथा बेट्रीले तान्ने रिक्सा पनि चलिरहेका छन्। यसबाहेक घोडाले तान्ने बग्गी पनि प्रशस्त चलेका छन्।

पार्कभित्र सेना तथा राजा बुझाउने सालिकहरू देखिएका छन्। ती त स्पेनसँगको युद्धका सेनानीहरूको स्तम्भ तथा पोल्याण्डका राजाको सालिक रहेछ। एउटा अग्लो स्तम्भ छ, त्यो अमेरिकी भेटरनको सम्झनामा बनाइएको रहेछ। सबैको नाम र इतिहास लेखिएको छ।

इतिहास मर्न नदिन शत्रुकै भए पनि सालिक बनाउने अमेरिकी चेतलाई सलाम गर्न मन लागेको छ। र तुरुन्त नेपाल सम्झेको छु। नेपालमा पृथ्वीनारायण शाहको सालिक फुटाउने कथित क्रान्तिकारीहरूलाई सम्झेको छु। यो बेला म आफ्नै नेपालीको बुद्धिलाई कोस्नु भन्दा के नै पो गर्न सक्छु र ?

मोटामोटी ४ घण्टा एकनासले पार्कभित्र हिँडिसकेका छौँ। घुमेर सकिने अवस्था रहेनछ। शरीरमा चारो पनि सकिन थालेको छ। थाकेर हत्तु भइएको छ। जति हेरे पनि नसकिने यो पार्कको दक्षिणतिरको गेटबाट बाहिर निस्केका छौँ। अब हाम्रो गाडी राखेको ठाउँमा पुग्न आधा घण्टा हिँड्नु पर्ने कुरा गुगलले बताइरहेको छ।

हामी फेरि सेन्ट्रल पार्कको छेवैछेउ हिँडिरहेका छौँ। सडकमा नै बारबेर गरेर रेस्टुरेन्ट चलाइँदो रहेछ। यस्तो कुरा मैले अन्यत्र देखेको थिएन। मान्छे बसेर खाइरहेका छन्। सडककै एउटा पेटीमा बाइक रेन्टल खुला दोकान देखियो। पार्कबाहिर सडकपट्टि राखिएका बेन्चमा जुत्ता र जिन्स लगाएका माग्नेहरू बसिरहेका छन्। सुतिरहेका छन्।

कोही सिगार तानिरहेका छन्। कोही त बियर नै घुट्क्याइरहेका छन्। तिनीहरूको जीवन बाटोमै बित्ने गर्दो रहेछ। यो नै एउटा यस्तो विन्दु रहेछ जहाँ संसारका धनाढ्य र संसारकै होमलेस बस्दा रहेछन्। मान्छे, सभ्यता तथा समाजले विभेद गरेको भए पनि पार्कले भने धनाढ्य र होमलेसका बीचमा केही विभेद गरेको छैन।

हामीलाई असाध्य भोक लागेको छ। गर्मी याम भएकाले एउटा घच्चीको रेस्टुरेन्टमा पसेर चिसो बियर पिउन मन नलागेको होइन। तर कोरोना कहरबाट हामी डराएकै छौँ। रेस्टुरेन्टमा पसेर खाजा खान आँट आइरहेको छैन।

त्यसकारण मास्क लगाएर एउटा रेस्टुरेन्टमा सुमेश पसेर बियर र स्याण्डबिज, फ्रेन्चफ्राई किनेर ल्याए। र, सडककै पेटीमा बनाइएको फलामे बेन्चमा बसेर खाँदै छौ। तर बियरको ग्लासचाहिँ कागजले छोपेर खानु पर्ने रहेछ। नत्र पुलिसको फन्दामा परिने रहेछ। बियर नै कागजको ग्लासमा छ। मैले सुमेशलाई सोधेको छु, ‘यो साँझै नपरी बियर, त्यो पनि सडकपेटीमा बसेर ?’

उनले भनेका छन्, ‘भिनाजु, म्यानहटनमा पुगेपछि एक ग्लास बियर नखाई हुन्न नि।’

कागजकै बियरग्लासलाई कागजकै खोलभित्र लुकाएर सडककै पेटीमा दिउँसै बियर पिउनु पनि एउटा नौलो र मजाको अनुभव नै भएको छ मलाई।

खासमा न्युयोर्कका पेटीमा हिँड्ने तथा सेन्ट्रल पार्कका कसैले मास्क लगाएका छैनन्। सरकारले नै अनिवार्य मास्क लाउनु पर्ने घोषणा रद्द गरिसकेको छ। तर पनि हामी भने डरका मारे घरी मास्क खोल्ने घरी लगाउने गरिरहेका छौँ। म्यानहटनका ठाउँठाउँमा कोरोना खोप लगाउने सूचनाहरू छन्। खोप फालाफाल छ।

अनि सम्झेँ-यही कोरोना कहरमा यो न्युयोर्क सहर मुर्दाघाट बनेको थियो। तर न्युयोर्क अहिले हाँसेको देखेर भने जिन्दगीसँग आस पलाएको छ। विज्ञानसँग भर लागेको छ। मानव सभ्यताको उत्थानप्रति विश्वास लागेको छ।

घर आइपुगेर म्यानहटन तथा सेन्ट्रल पार्कको यो यात्रालाई सम्झन थालेको छु। देखिएका कुरा वास्तवमा धेरै थिए। गगनचुम्बी भवन थिए। गज्याङ्गुजुङ मान्छे थिए। धनाढ्य मान्छे थिए। सडक पेटीमै गुजारा गर्ने मान्छे थिए। स्वतन्त्रता त्यहीँ थियो। विभेद त्यहीँ थियो। सहरका बिचमा घनघोर जङ्गल थियो।

जङ्गलमा प्राकृतिक खोला, दह तथा कृत्रिम स्रोत पनि थिए। ती सबै मध्ये पनि पार्कभित्र एउटा ठूलो चौरमा पचासौँहजार मान्छे बसेका-खेलेका-खाएका-रमाएका देखेर मन प्रफुल्ल भयो। ती मान्छेमा अधिकांस विकिनी मात्र लगाएका केटी तथा अन्डवियर मात्र लगाएका केटाहरू धेरै थिए। याने कि अर्धनग्न थिए।

त्यसमा भारतीय तथा पाकिस्तानी केटाकेटी पनि समावेश थिए। सायद त्यो भीडमा नेपाली पनि थिए नै होला। ती खेलिरहेका थिए। ठूलो स्वरमा म्युजिक बजाएर नाचिरहेका थिए। खाइरहेका थिए। पिइरहेका थिए। तिनीहरू उच्छवासमा रमाएका थिए। विकिनी तथा अन्डरवियर उनीहरूको स्वतन्त्रता थियो। चाहना थियो। इच्छा थियो। बुर्जुवा समाजले भनेझैँ त्यो कुनै यौनको ऐलान थिएन। कसैले कसैलाई दखल दिइरहेको थिएन। एक पल्टको जुनीमा रमाउन प्रयत्न गरिरहेका थिए।

यो बेला मेरा मनमा एउटा प्रश्न उठेको छ कि आखिर मान्छे के चाहन्छ ? मान्छेको स्वतन्त्रताले मान्छेलाई के के गराउँछ ? तर पनि त्यहाँ छताछुल्ल पोखिएका मान्छेको भिडबाट एउटा कुरा अनुमान लगाउन सकिन्छ कि मान्छे स्वतन्त्र हुन चाहन्छ।

स्वतन्त्र रूपले उड्न चाहन्छ। स्वतन्त्रताको यो चेतका परिधिमा मेरा दिमागभरि मान्छे र मान्छेले खोज्ने स्वतन्त्रताको जेनिथ छताछुल्ल भइरहेका छन्। म भने सामाजिक मान्यताका रापमा साङ्लाले बाँधेको जीवन बोकेर खुम्चिएको छु।

म्यानहटन र सेन्ट्रल पार्क घुमेको समाचार फेसबुकमा पोस्ट गर्नु थियो। त्यसैले मैले कम्प्युटरमा फेसबुक खोलेँ। अमेरिकामा कोरोना विरुद्धको खोप लाउने जनतालाई नगद पुरस्कार घोषणा गरिएका समाचारहरू छन्।

तर मेरो देश नेपालमा कोरोना खोप नपाएर मेरा नातेदार, छिमेकी, साथीभाइको कोरोना कहरका कारण मृत्युका समाचारहरू छरिएका छन्। लागिरहेको छ कि यो कोरोनाले नेपाललाई खाली पारिसक्यो। द्रवीभूत हुनुबाहेक अर्को उपाय छैन मसँग।नेपालको राजनीति साँढे जुधाइमा होक्काँ गरिरहेको छ। आम नेपालीझैँ मेरा मुखबाट एक पल्ट भद्दा गाली निस्क्यो, ‘साला सरकार।’

फेसबुक हेर्दै छु कि मेरो प्रिय साथी-दाइ तेजबहादुर श्रेष्ठको मेरै गाउँमा कोरोनाले निधन भएको खबर देखा पर्‍याे। म ज्यादै शोकाकुल भएको छु। यही शोकाकुल भएकै अवस्थामा फेसबुकले मलाई सूचना दिइरहेको छ कि पद्मकन्या बहुमुखी क्याम्पसमा सँगै पढाएका सहकर्मी अग्रज-अनुज मित्रहरू मध्ये मलाई असाध्य मन पर्ने सहकर्मी साहित्यकार वानिरा गिरी, सयौँपल्ट सँगै चिया पिएका अति मिलनसार मेरा सहकर्मी मित्र शेरजङ्ग खड्का तथा हेमलता उप्रेतीको कोरोनाको कारणले अवसान भएको छ। यो समाचारले द्रवीभूत भएको छु।

कठै मान्छेको जुनी। कठै जिन्दगी। त्यसपछि भने मैले फेसबुकका पानामा छरिएका आफन्तको मृत्युको खबर हेर्नसुन्न सकिनँ र आफू घुमेको म्यानहटन र सेन्ट्रल पार्कको कुरा पोस्ट नगरी फेसबुक नै बन्द गरेर ओछ्यानमा पल्टिएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *