राष्ट्रपतिसमक्ष दुई वटा आयोगको प्रतिवेदन पेस

डिसी नेपाल
२१ असोज २०८१ १६:५०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको सन्दर्भमा सोही बमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए।

उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे।

यस्तै थारू आयोगले पनि आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भने। ‘थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, सभ्यता र संस्कार रहेको छ’, उनले भने, ‘आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *