शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

डिसी नेपाल
२२ असोज २०८१ १६:५७

काठमाडौं। शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो ।

ब्युटी प्याजेन्ट होस् वा र्‍याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणीत गरिन् ।

१९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन् । २०११ मा मिस ई कलेज–२०११ मा उनले पहिलोपटक भाग लिइन् । जहाँ उनी टप ५ सम्म पुग्दा दुईवटा सबटाइल भने जितिन् ।

त्यो प्रतियोगितामा उनलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका थिए । तर उनले टाइटल जित्न सकिनन् । “मलाई पनि अपेक्षा थियो । तर मेरो भाग्यमा नै यस्तै रहेछ भन्ने भयो,” शुभेच्छा भन्छिन्, “त्यो प्रतियोगिताबाट मैले धेरै कुरा सिकेँ । अझै धेरै गर्नसक्छु भन्ने अठोट गरेँ ।”

त्यसको एक वर्षपछि देशकै ठूलो ब्युटी प्याजेन्ट मिस नेपाल-२०१२ मा सहभागी भइन् । यसमा भने उनलाई ठूलो सफलता हात लाग्यो । उनको अठोट र लभावले काम गर्‍यो । मिस नेपाल इन्टरनेसनल-२०१२ टाइटल जितिन् । यो आफैँमा सफलता त छँदै थियो । त्यसबाहेक यो आगामी दिनमा अन्य क्षेत्रका ढोका पनि खुला भएका थिए । ती ढोका कला क्षेत्रका साथै अन्य क्षेत्रका पनि थिए । मात्रै उनले कुन क्षेत्र रोज्ने भन्ने मात्रै थियो ।

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्थिन् । टेलिभिजनमा हेरिरहेका ती प्रथियोगिताले उनको मन खिचेको थियो । मिस युनिभर्सदेखि मिस वल्डसम्म उनी हेर्न छुटाउँदिनन् थिइन् । “म ती प्रतियोगिता हेर्दिनमात्रै थिएँ, निकै प्रभावित पनि हुन्थेँ । यस्तै प्रतियोगितामा सहभागी भएर विजेता हुन पाए भन्ने लोभ पनि लाग्थ्यो । तर यही बाटो रोज्छु भन्ने निश्चित गरेको थिइनँ,” उनी नोस्टाल्जिक हुन्छिन् ।

उनमा यति धेरै दिलचस्पी थियो, मिस नेपालप्रति । उनी सानैमा प्रत्येक मिस नेपालको नाम कण्ठस्थ थियो ।

२०१२ को वर्ष प्लस टु सकेर स्नातक भर्ना भएकी थिइन् । एक्कासी उनलाई लाग्यो, यही वर्ष मिस नेपालमा जानुपर्छ भन्ने सोच आयो । परिवारले पनि उनलाई सहयोग गर्‍यो । शुभेच्छालाई झन सहज भयो ।

“मिस नेपाल मोडलिङमा जाने सबैभन्दा ठूलो प्लेटफर्म हो भन्ने लाग्यो,” उनी भन्छिन्, “यहाँ गएर मोडलिङको क्षेत्रमा नाम कमाउन सकिन्छ भन्ने थियो । त्यसैले म मिस नेपालमा सहभागी भएको थिएँ ।”

उनले आफूलाई स्थापित गर्न धेरै ब्युटी प्याजेन्टमा भाग लिनै परेन । उनले चारवटा प्रतियोगितामा भाग लिइन् । जसले उनलाई पर्याप्त नाम दियो । राष्ट्रियतर्फ मिस ई–कलेज–२०११ र मिस नेपाल–२०१२ र इन्टरनेसनलतर्फ मिस इन्टरनेसनल २०१२ (जापान) र वर्ल्र्ड मिस युनिभर्सिटी–२०१७ (कम्बोडिया)मा भाग लिइन् । यसले उनलाई नेम र फ्रेम दुवै दियो ।

शुभेच्छाले मोडलिङ सुरु गरेको १२ वर्ष भयो । जसले उनलाई नाम त दियो नै । सँगै देशका धेरै ब्रान्डसँग काम गर्ने अवसर जुटाइदियो । देशका थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बेस्डर भएर काम गरिन् ।

म्याजिक फुटवेर, ग्ल्याम एन्ड ग्लोरी हेयर रिमुभल क्रिम, मिनिसो, वेलबेल, टे«नेक्युलिटी स्पा, अप्सन कन्सल्टेन्सीको उनी ब्रान्ड एम्बेस्डर भइन् ।

मोडलिङ शुभेच्छाको पेसा हो, यसमै उनी रमाउँछिन् । उनलाई मोडलिङले आफ्नो इच्छालाई आकार दियो । जिन्दगीलाई रमाइलो बनाइदियो । क्यामेरा अगाडि निर्धक्क बोल्न र अभिनय गर्न अवसर दियो । थुप्रै ब्रान्डसँग जोडिन र बुझ्ने मौका दियो । सबैभन्दा ठूलो कुरा त पहिचान दियो ।

पत्रिकामा छापिनु, समाचारका हेडलाइन बन्नु, अन्तर्वार्ताको पात्र हुनु, टेलिभिजनमा विभिन्न भूमिकामा प्रस्तुत हुँदा, एमसी भएर बोल्नु आखिर मोडलिङले त दिएको हो उनलाई, त्यसैले उनी यो अवसर प्रदान गर्ने पेसाप्रति सधैँ नतमस्तक हुन्छिन् ।

जब उनी मिस नेपालमा सहभागी भइन् र मिस नेपाल इन्टरनेसनको उपाधि जितन् । उनलाई चलचित्रमा नायिकाका लागि अफर आउन थाले । तर उनलाई त्यो बेला आँट आएन ।

उनी सिनेमामा नखेले पनि यसलाई नजिकबाट नियालिरहेकी थिइन् । अफर आउँथे । उनलाई अफर स्वीकार गरौँ कि भन्ने पनि लाग्थ्यो । तर फेरि अर्को मनले भन्थ्यो, अझै केही समय कुर्ने की ।

तर जब गोविन्द सिंग भण्डारीबाट अफर आयो चलचित्रका लागि । निर्देशक भण्डारीको टिम देखेर उनलाई चलचित्रमा काम गर्न रहर लाग्यो । र उनले खेलिन्, रनवीर । जुन उनको पहिलो चलचित्र थियो ।

सिनेमामा प्रवेश गरिन् । ‘रनवीर’, ‘चित्रा’ लगायत चलचित्रमा नायिकाको रुपमा काम गरिन् । तर उनले मोडलिङलाई भुलेकी छैनन् । उन अझै मोडलिङलाई निरन्तरता दिने सोचमा छिन् ।

“चलचित्रमा पनि काम गर्दैछु । चाँडै नै दर्शकले मलाई ठूलो पर्दामा देख्नु हुनेछ । बाहिरका एजेन्सीसँग पनि टचमा छु । त्यहाँबाट पनि थुप्रै कामको अवसर आइरहेको छ,” शुभेच्छा भन्छिन्, “ती एजेन्सीसँगै अरु पनि काम गर्नेछु । चलचित्र र मोडलिङ त मेरो पहिचान नै हो, गर्ने नै छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *