जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो

डिसी नेपाल
२३ असोज २०८१ ६:५३

काठमाडौं। जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ। प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पुर्‍याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा भैरव जात्रालाई लिइन्छ ।

भैरवलाई पुनः टेकुमा लगिएपछि जात्रा सम्पन्न गरिने काठमाडौँ महानगरपालिका –१२ वडा सदस्य श्यामकृष्ण खड्गीले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *