साहित्यकार अधिकारीको ‘प्रवासीको देश हुन्न’ बेल्जियममा विमोचन

भरत प्रधान
२३ असोज २०८१ १४:४८

लिस्बन। साहित्यकार पंचम अधिकारीको कथा संग्रह ‘प्रवासीको देश हुन्न’ बेल्जियममा विमोचन गरिएको छ। गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा साहित्यकार अधिकारीको कर्मभूमी बेल्जियममा कथा संग्रहको गृह विमोचन गरिएको हो।

कथा संग्रहको विमोचन गर्दै बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले लेखकले साहित्यिक नजर र भेदबाट प्रवासीको देश हुन्न भन्दै गर्दा साहित्यिक आख्यानको अर्को पाटोबाट प्रवासीको दुई देश हुन्छ, र बहुआयामिक दायित्व हुन्छ भन्ने सन्देश दिन खोजेको बताए।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, लेखक तथा स्तम्भकार दिल निशानी मगरले कथा संग्रह पठनीय र संग्रहरणीय रहेको बताए।

‘प्रवासीको देश हुन्न’ कथा संग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाको सँगालो रहेको छ। यस संग्रहका कथाहरूमा मातृभूमिको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कथा समेटिएको छ।

अमेरिकामा हुर्केको नेपाली बालकले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटिएका छन्।

शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृतिको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल काठमाडौं रहेको छ । विगत दुई दशकदेखि बेल्जियम बस्दै आएका आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि अधिकारीको ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *