विद्या भण्डारीलाई अघि सारेर फेरि वाम सहकार्यको तयारी

डिसी नेपाल
२७ असोज २०८१ १०:१०

काठमाडौं। तत्कालीन एमाले माओवादी एकीकृत भएर बनेको नेकपाको एकता दीर्घकालसम्म टिक्न नसके पनि फेरि नयाँ शिराबाट दुई पार्टीको सहकार्यको मिलनबिन्दु खोज्न थालिएको छ।

करिब दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर पदमुक्त भएकी तत्कालीन एमाले नेतृ विद्या भण्डारीलाई अघि सारेर एमाले माओवादी सहकार्यको सुरुवात थालिएको स्रोतले जनाएको छ।

एमालेमा भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित भएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन माओवादीले भण्डारीलाई उपयोग गर्न थालेको छ।

भण्डारीले सक्रिय राजनीतिक उद्देश्यले एमालेको पार्टी सदस्यता समेत नवीकरण गरेको चर्चा समेत चलेको थियो। यद्यपि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस गुहकार्यमा पार्टीका उपमहासचिव वर्षमान पुनलाई अघि बढाएका छन्। प्रचण्डको निर्देशनमा पुनले पटक पटक भण्डारीसँग भेटवार्ता गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रचण्डको राजनीतिक जीवनको विश्रामका लागि सम्मानजनक उचित पदीय व्यवस्थापन गर्ने र माओवादीलाई एमालेमा विलय गराउने सम्मको तयारी छ।

२०७४ को निर्वाचन अघि भएको एमाले माओवादी सहकार्य पार्टी एकतासम्म पुगेको थियो। निर्वाचन पछि भएको दुई पार्टीबीचको एकता करिब दुई बर्ष पनि टिक्न सकेन। पार्टीका अध्यक्षद्वयबीचको तिक्तताले राजनीतिक विभाजनको संघारमा पुगेको तत्कालीन नेकपा सर्वोच्च अदालतको फैसला पछि प्राविधिक रुपले दुई पार्टी पूर्ववत् स्थानमा पुगेका थिए।

अहिले फेरि प्रयत्न थालिएको सहकार्य पार्टी एकताकै तहमा पुर्‍याउने गरी हो या आगामी निर्वाचनमा वाम सहकार्यका लागि मात्रै हो भन्ने बारेमा नेताहरुले सार्वजनिक टिप्पणी नगरेपनि दुई पार्टी एकता गरेर पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने सम्मको तयारी रहेको स्रोतको दाबी छ।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने बाम एकता गर्ने गरी कुनै दलकाे नेतासँग भण्डारीकाे भेट भएकाे विषयलाई अस्वीकार गरे। उनले यस्ताे भेटकाे विषयमा कुनै जानकारी नभएकाे समेत बताए।

यस अघि एमालेसँगकै सत्ता सहयात्रा गरेर प्रचण्डले बीचमै धोका दिएपछि एमाले अध्यक्ष ओली प्रचण्डसँग रुष्ट बनेका थिए। तथापि केही समयमै दुई शीर्ष नेताले संवाद थालेर बिग्रेको सम्बन्ध सुधार्दै पुनः सहकार्य थाले पनि विश्वासको वातावरण बन्न सकेको थिएन।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले बीचमै सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेको केही समयमै फेरि एमालेसँग सहकार्य गरेपनि एमाले विश्वस्त बन्न सकेन र अन्ततः कांग्रेस एमाले मिलेर सरकार गठन प्रक्रिया अघि बढाएपछि प्रचण्ड करिब १९ महिना पछि सरकारबाट बाहिरिएका थिए।

प्रचण्डको हरेक पटकको धोका र अस्थिर राजनीतिक संस्कारले आजित भएको एमाले अब प्रचण्डको राजनीतिक व्यवस्थापन बेगर सहकार्य नगर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
त्यसैले उनको सक्रिय राजनीतिको बैठान राष्ट्रपति पदमा आसिन गराएरमात्रै सहकार्य थाल्ने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।

उता प्रचण्ड पनि पार्टीको आन्तरिक किचलो र शक्तिहीन भएपछि केही साना वाम घटकहरुसँग सहकार्य सुरु गरे पनि त्यसले सफलता हासिल गर्न सकेको छैन। सरकारबाट बाहिरिएपछि चार दल सम्मिलित समाजवादी मोर्चालाई सक्रिय तुल्याएका उनले पार्टीको आन्तरिक व्यवस्थापनका लागि एकता गर्ने सम्मको तयारीमा थिए।

यद्यपि मोर्चामा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तदारुकता नदेखाएपछि एकताको सम्भावना तत्कालका लागि टरेको छ।अन्य विभाजित माओवादीका विभिन्न घटकसँग एकता गर्ने प्रचण्डले घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन।

विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराईको नेसपाबाट विभाजित महिन्द्रराय नेतृत्वको दलसँग समेत एकता प्रक्रिया अघि बढाउन असमर्थ भएका छन्।

पार्टीकै उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्पका बारेमा बहस छेडेपछि रन्थनिकएका प्रचण्डले त्यसलाई मत्थर पार्न विप्लवसँगको एकतामा जोड दिएका थिए। उनले विप्लव भित्र्याएर पार्टीको अन्तरसंघर्ष फरक दिशातर्फ मोड्ने प्रयत्न गरे पनि सफल हुन सकेन।

विप्लवसँगको एकताले पनि गति लिन नसकेको र अर्कोतर्फ उपमहासचिव शर्माले चुनौती दिएपछि उनी पार्टीभित्र थप संकटमा परेका छन् । एमालेसँग सहकार्य गरेर र आफ्नो राष्ट्रपतिबाट सम्मानजनक सक्रिय राजनीतिक जीवनबाट बहिर्गमित हुने प्रचण्डको दाउ रहेको स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *