दुर्घटना न्यूनीकरणका लागि रामेछापमा यात्रु विश्रामस्थलमा नि:शुल्क खाजा

डिसी नेपाल
२८ असोज २०८१ ९:१७

रामेछाप। दशैंमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका-३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्। यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन्।

त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए।

उनले भने, “लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ। घटस्थापनापछि मात्रै यहाँ दुई-तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो। निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन्। अभियान प्रभावकारी भएको छ।”

उनका अनुसार यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रुलाई लक्षितगरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो। फेरि दशैं मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना छ।

उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले बताए।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन्।

भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ। उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *