परराष्ट्र मन्त्रालयका कर्मचारीले नेपाल-भारत सीमाका पुराना दस्तावेज लुकाए

काठमाडौं। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन्।
संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका हुन्। उनले कर्मचारीको नियत र मुलुक प्रतिको उत्तरदायीत्व माथि नै शंका व्यक्त गरे।
राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरि काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए।
पूर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भईरहदा पनि सरकार र सम्बन्धीत निकायले सम्बोधन नहुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे।
सीमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरि खोजिनुपर्ने उनले बताए।
उनले तराई क्षेत्रमा बर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क गरे।
Facebook Comment