लेबनानस्थित शान्ती सेनाको आधार शिविरमा इजरायली सैनिक प्रवेश

डिसी नेपाल
२८ असोज २०८१ १८:२४

काठमाडौं। संयुक्त राष्ट्रसंघले इजरायलले दक्षिणी लेबनानमा शान्ती सेनाको आधार शिविरमा जबरजस्ती घुसपैठ गरेको आरोप लगाएको छ।

यस घटनाले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेना बीच मुठभेडका घटनाहरू बढ्न सक्ने आशंका बढेको छ।

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानका अनुसार आइतबार इजरायली सेनाको ट्यांकले मुख्य गेट तोडेर गोली चलाएको थियो, जसका कारण शिविर धुवाँले भरिएको थियो। जसका कारण १५ शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको छ।

यद्यपी, आइडीएफले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिलको पोजिशनमा प्रवेश गरेको बताएको छ।

इजरायलले बारम्बार शान्ति सैनिकहरूलाई दक्षिणी लेबनानका क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गरेको छ तर युनिफिलले भने अहिलेसम्म इजरायलका यी अनुरोधहरूलाई अस्वीकार गर्दै आएको छ।

अहिले करिब ५० देशका करिब १० हजार संयुक्त राष्ट्र शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा करिब ८०० नागरिक पनि तैनाथ छन्।

१९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘निलो रेखा’बीच गस्ती गरिरहेका छन्। लेबनान र इजरायल बीच संयुक्त राष्ट्रले मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *