सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि प्रश्न

कारबाही सिफारिस गरेका एसपी थापालाई उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत

डिसी नेपाल
३० असोज २०८१ ७:४७

काठमाडौं। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि प्रश्न उठेको छ।

आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेपछि आयोगको प्रतिवेदन थप विवादित मात्रै बनेको छैन, यसको औचित्यमाथि प्रश्न उठेको छ।

ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो। तत्कालै रवि लामिछाने नेतृत्वको गृहमन्त्रालयले उनीहरुलाई कारवाही गर्ने भन्दै ठूलै प्रचारबाजी गरिएको थियो।

६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेपछि आयोगमा उल्लेख भएको विषय स्वतः खारेज भएको एक प्रहरी अधिकृतले बताए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो।

केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो। आयोगको प्रतिवेदनका आधारमा एसपी थापालाई तत्कालै नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको थियो।

तर, कसैमाथि पनि विभागीय कारबाही भएको थिएन। कारबाही सिफारिसमा परेकी एआइजी बज्राचार्य हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्। एआइजी बज्रचार्यकै नेतृत्वमा करिब ६१ किलो सुन तस्करीको अनुसन्धान भएको थियो।

उत्कृष्ट अनुसन्धानकर्तासम्बन्धी छनोटका लागि प्रहरी प्रधान कार्यालयले सुरुमा डिआइजी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरेको थियो। भट्टराईको कर्णाली प्रदेशमा सरुवा भएपछि एसएसपी गोविन्द थपलिया नेतृत्वमा समिति बनेको थियो।

सोही समितिको सिफारिसलाई आधार बनाएर आइजिपी कुँवरले पुरस्कार दिएका हुन्। उनीसहित धेरै प्रहरी अधिकृतहरुलाई यसपटक पुरस्कार प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *