काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, महिलासहित ३ जना पक्राउ

डिसी नेपाल
३० असोज २०८१ १३:००

काठमाडौं। काठमाडाैंमा एक पुरुषलाई कुटपिटपछि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।

सुर्खेतको लेकबेँसी-२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा-९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर मंगलबार अपरान्ह गोकर्णेश्वर-६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी अधिकारीले बताए । प्रहरीले हत्याको कारण खुलाइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *