तिलगंगाका चिकित्सकबाट बंगलादेश आन्दोलनमा घाइते भएकाहरुको आँखा उपचार

डिसी नेपाल
३० असोज २०८१ १४:०२

काठमाडौं। केही समय अगाडि बंगलादेशमा भएको आन्दोलन र त्यसपछि आएको नयाँ सरकारको आगमनसँगै, अहिले आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखिएको छ।

आन्दोलनको क्रममा आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा गम्भीर चोट लागेका बिरामीहरुको उपचारार्थ बंगलादेश सरकारको पहल र नेशनल इन्ष्टिट्युट अफ अप्थाल्मोलोजी, बंगलादेशको विशेष निमन्त्रणामा सेवा फाउण्डेशन, बंगोवन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल, बंगलादेशसँगको सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठानलाई प्रतिनिधित्व गर्दै वरिष्ठ आँखाको पर्दा रोग विशेषज्ञ डा. रबा थापाले उपचार सेवा प्रदान गरेका छन्।

सेवा फाउण्डेशन सन् १९७३ देखि आँखा स्वास्थ्यको क्षेत्रमा क्रियाशील एक सामाजिक संस्था हो। संसारभरका १५० भन्दा बढी आँखा अस्पतालहरुसँग सहकार्य गर्दै आएको सेवाले बंगलादेशमा पनि सेवा पुर्याउँदै आएकोमा हालैको अवस्थामा थप अन्तर्राष्ट्रिय उपचार सहायता आवश्यक परेको हो।

सोही क्रममा नेपालबाट डा.थापाका अलावा लुम्बीनी नेत्रविज्ञान अध्ययन संस्थानकि डा. सुशीला पटेल र डा. सबिता ढकाल पनि यस समुहमा सहभागी थिए। आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषत गोलीले क्षति पुगेका आँखामा जति सक्दो चाँडो उपचार आवश्यक परेकाले केराटोप्लास्टी र ग्लोब-सेभिङ प्रविधिहरूमा विशेषज्ञता भएका भिट्रेओ रेटिना सर्जनहरू र कोर्निया विशेषज्ञहरूको माग भए अनुसार उनीहरु सहभागी भएका हुन्।

तिलगंगा आँखा प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवा प्रदान गर्दै आइरहेको छ। सहभागी चिकित्सकहरुले समेत यस किसिमको सेवादायि कार्यमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै यस्तो सहयोगले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *