नियात्रा : त्यो सालिकको खिइएको देब्रे जुत्ता

खेमराज पोखरेल
१० कार्तिक २०८१ ५:४४

त्यो सालिकको खिइएको देब्रे खुट्टाको जुत्ताको अगाडि उभिएको छु। यो सालिक पादरी जोन हार्वर्डको हो। याने विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय स्थापनाकर्ता दानवीरको सालिकको जुत्ता हो। हार्वर्ड विश्वविद्यालयको नाम सुन्नासाथ ममा एउटा आनन्द सञ्चार हुन्छ।

किनभने आफ्नो जीवनको मूल उर्वर कालखण्डमा मैले पनि नेपालको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेँ। संसारका केही विश्वप्रसिद्ध विश्वविद्यालयहरूको नाम स्वाभाविक रूपले सुनेँ। तर कहिले सुने ? त्यो भने पत्तो छैन।

आफ्ना कलेजीय जीवनमा हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयमा कसैले भर्ना मात्र पाएको कुरा सुनियो भने पनि त्यसलाई मनोवैज्ञानिक तबरले निकै ठूलो विद्वान मानिन्थ्यो। त्यही विश्वशिक्षासंस्कृतिमा म पनि लपेटिएको नै थिएँ।

त्यो बेला मेरा लागि हार्वर्ड विश्वविद्यालयको कुरो एकादेशको परीकथा जस्तो थियो। ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ थियो। त्यो आकाशभन्दा यति पर थियो कि सुन्दा वा कल्पना गर्दा आनन्द आउँथ्यो। तर त्यसका बारेमा जान्न वा अनुभूत गर्नका लागि न चिन्तन थियो। न मनन थियो। न गन्तव्य थियो। न चेत थियो। न परिवेश थियो।

त्यही कालखण्डमा थाहा पाएको थिएँ कि संसारको सबैभन्दा ठूलो र गतिलो विश्वविद्यालय हार्वर्ड हो। तर त्यो विश्वविद्यालय बोस्टनमा छ भन्ने कुरा भने धेरैपछि मात्र चाल पाएको थिएँ।

भाग्यले भनूँ होला। पढ्न नपाएको भए पनि बोस्टनमा रहेको हार्वड विश्वविद्यालय घुम्ने अुनकूल परिहाल्यो मलाई। म आफू भाग्यवादी नभए पनि हार्वर्ड विश्वविद्यालय घुमाइलाई मैले भाग्यले किन भनेको हो भने यो भ्रमणका लागि मेरो इच्छा त थियो, तर पौरख थिएन।

मेरो हुती र मैले निर्माण गरेको निजी थैलीको मुखले भ्याएको परिवेशको सौजन्य थिएन। त्यसैले यो परिघटना भाग्य थियो। भाग्य नभने पनि संयोग थियो। संयोग नभने पनि आकस्मिकता थियो। एउटा आकस्मिक जुराइ थियो। नसोचिएको संयोग थियो।

त्यसो त बोस्टन घुम्ने भएपछि हार्वर्ड विश्वविद्यालय नघुमी मेरो क्षुघा शान्त हुनेवाला थिएन। मेरा दिलदिमागमा त्यो विश्वविद्यालयका रुख र भवनबाट प्रवाहित हावा नपसी तिर्सना मेटिने थिएन। त्यसको तस्बिरलाई आँखाको नानीभित्र नहाली दिल रौसिने थिएनन्। त्यसको माटोलाई स्पर्श नगरी शान्ति पाइनेवाला थिएन।

सन २०२१ को जुन महिनाको ५ तारिकमा म पारिवारिक भ्रमणका क्रममा बोस्टन पुगेको छु संयोगले। यही जुन ७ को दिन बिहान मेरा सारथी भदाहासालो सुमेश भट्टराई, भदाहाबुहारी विवेका, उनीहरूका छोराछोरी सान्वी र युभान, तथा हामी दुई बूढाबूढी गरी ६ जना होटलबाट निख्रिएर हार्वर्डतिर लागेका छौँ। यो विश्वविद्यालयको नामको गहु्रङ्गो प्रभावले म यो भ्रमणका लागि अत्यधिक उत्सुक थिएँ। छु।

हाम्रो गाडी विश्वविद्यालयकै अगाडि पुगेर सडकमा पार्किङ भएको छ। सारथी सुमेशले भनेका छन्, ‘भिनाजु, अहिले समरको भएर हो। नत्र यहाँ गाडी पार्क गर्न कहाँ पाउनू ?’

यद्यपि सडकमा विद्यार्थीको चहलपहल बाक्लै देख्दै छु म। हार्वर्ड विश्वविद्यालयको सबै ठाउँ घुमेर हेर्ने सम्भावना छैन। किनभने विश्वविद्यालय निकै धेरै ठूलो क्षेत्रफलमा फैलिएको छ।

अर्कोतिर गर्मीको तडपन पनि उस्तै मापाको छ। त्यसैले हार्वर्ड विश्वविद्यालय लेखिएको साइन बोर्डका तल बसेर फोटो खिच्ने मात्र धोको छ। गेटमा एउटा फोटो खिचेर भित्र पसेका छौँ। गर्मी साँच्ची तप्त छ।

आरनको रापले पोलेझैँ पोल्दै छ। तर विश्वविद्यालयभित्र रहेका धेरै पुराना तथा झाङ्गिएका यामानका रुखहरूले हामीलाई राहत दिइरहेका छन्। कति धेरै रुख त्यो प्राङ्गणमा !

त्यसैले हार्वर्डप्राङ्गणमा पुगेपछि म आफूलाई संसारको भाग्यमानी मान्छेको कोटीमा राख्दै छु। किनभने मेरो परीकथाजस्तै असम्भव विश्वविद्यालयको भवन मेरासमिपमा छ यति बेला।

मेरा आँखाका सामुन्नेमा छ। सुन्दर र सफा छ। रुखका पात पनि अनुशासित छन् जस्तो लाग्दै छ। त्यहाँका रुखपात, बतास तथा समग्र परिवेशले प्राज्ञिक वातावरण प्रवाहित भएझैँ लागिरहेको छ।

जसरी पशुपतिको लागि हिँडेको शिवभक्त मान्छे गौसालामा बसबाट ओर्लेर हिँड्न थाल्छ अनि ऊ पवित्र धार्मिक भूमि हिँडेको अनुभूति गर्छ। पवित्रता अनुभूत गर्छ। त्यसै गरी म पनि संसारको शिक्षाको मन्दिर हार्वर्ड विश्वविद्यालयप्राङ्गणमा पुग्दा शिक्षाको संसार उक्लिएको जस्तो अनुभूत गरेको छ।

मन्दिरको गजुर हेर्दा आउने स्वर्णिम आनन्दमा छु म। मैले यसो सोचेको छु कि म फोटो खिच्न गएको मनुवा त यति विभोर हुन्छु भने साँच्चै यही विश्वविद्यालयमा पढेको मान्छे कति विभोर हुँदो हो। कति गौरव गर्दो हो।

म त यो सुनेर झन् छक्क परिरहेको छु कि हार्वर्ड विश्वविद्यालय प्राइभेट विश्वविद्यालय हो। यो विश्वविद्यालय सन १६३६ मा स्थापना हुँदा एउटा स्कुलको रूपमा थियो। यो स्थापना गर्नका लागि दान दिने पहिलो दानवीर पादरी जोन हार्वर्ड थिए। उनी उपनिवेस अमेरिकाको बेलायती मिनिस्टर थिए।

उनले आफ्नो कुल सम्पत्तिको आधा तथा आफ्नो सङ्कलनमा रहेको बहुमूल्य पुस्तकालय नै स्कुललाई दान दिएका थिए। त्यही सम्पत्तिको आधारमा हार्वर्ड विश्वविद्यालयको स्थापना भएको थियो। त्यो बेलाको दरभाउमा उनले दिएको सम्पत्ति बेलायती पौन्ड ७७९ बराबरको थियो।

भनिन्छ, अहिले त्यो सम्पत्तिको मोल मिलियनौँ डलर हुन्छ। उनको पुस्तकालयमा ४०० बहुमूल्य पुस्तक थिए। ती सबै दान दिएर उनले विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार तयार पारिदिएका थिए। यी पुस्तकहरू अति दुर्लभ कोटीका थिए। अहिले विश्वविद्यालय परिवेश उनले दिएको सम्पत्ति दानभन्दा उनले दिएका पुस्तकको महत्त्व सम्झेर आह्लादित हुन्छ।

यो सूचना थाहा पाएपछि मेरो दिमाग उनको दानवीरतातिर एकाग्र भएको छ। चिन्नु न जान्नुका जोन हार्वर्डप्रति सद्भाव र प्रेमको गुच्छा चढाएको छु। ती दानवीर पादरी जोन हार्वर्डको बारेमा केही नभनी हार्वर्ड विश्वविद्यालय घुमेको केही सार नहोला जस्तो लागेको छ। त्यसकारण उनका बारेमा केही बताउँदै छु :

नोबेम्बर २९, १६०७ मा बेलायतको लन्डनमा जन्मिएका हार्वर्डको मृत्यु सन १६३८ को सेप्टेम्बर १४ मा बोस्टन अमेरिकामा भएको थियो। याने कि उनी ३१ वर्षको कलिलो उमेरमा स्वर्गवास भएका थिए।

त्यही कलिलो उमेरमै उनले जे काम गरे, त्यो युगयुगसम्म स्तुत्य रहेको छ। यो पृथ्वीको अस्तित्व रहुञ्जेल उनको यो नाम संसारभरिका प्राज्ञका लागि मात्र होइन, पूरा मानव जातिका लागि अमर रहेको छ। अजर बनेको छ।

उनको मृत्युपछि सन १६३९ मा सो स्कुलको नाम उनको नाममा नामकरण गरी हार्वर्ड कलेज राखियो। यही कलेज नै हार्वर्ड विश्वविद्यालय हो। अहिले अमेरिकाको सबैभन्दा पुरानो उच्च शिक्षा प्राप्त गर्ने विश्वविद्यालयका रूपमा इतिहासमा नाम राख्न सफल भयो।

त्यसैले संसारमा हार्वर्ड विश्वविद्यालय भन्नेबित्तिकै सबैभन्दा इज्जतिलो ठानिन्छ। यसको स्थापना मासाच्युसेको जेनरल कोर्टले गरेको थियो। २०९ एकडमा फैलिएको यो विश्वविद्यालयमा धेरै स्कुलहरू छन्। याने फ्याकल्टीहरू छन्। ती फ्याकल्टीहरू समयका विभिन्न कालखण्डमा स्थापित भएका हुन्।

याने कि एकै पल्ट यति ठूलो विश्वविद्यालय भएको होइन। यसले पनि सङ्घर्षका पहाडहरूको लामो यात्रा तय गरेको छ। उदाहरणका लागि सन १६३६ मा सामान्य कलेज स्थापना भएको थियो भने २००७ मा इन्जिनियरिङ तथा एप्लाइड साइन्सको कलेज स्थापना भएको थियो। समयका प्रवाहमा आवश्यकताअनुरूप फ्याकल्टीहरू थपिँदै गएका छन्।

यो सुनेर म त झन चकित परेको छु कि अहिलेसम्म यो विश्वविद्यालयका उत्पादन मध्ये १६१ जनाले नोबेल पुरस्कार पाएका छन्। ८ जना अमेरिकाको राष्ट्रपति भएका छन्। ती मध्ये एक बाराक ओबामा हुन्। उनले हार्वर्ड विश्वविद्यालयको ल स्कुलबाट मास्टर गरेका थिए।

अमेरिकाका धेरै विलियनरहरू यही विश्वविद्यालयका उत्पादन छन्। यो विश्वविद्यालयले हजारौँ विभिन्न प्रकारका पुरस्कार पाएको छ। यसका उत्पादनहरू संसारभरि उच्च ओहोदामा पुगेका छन्।

सायद संसारको कुनै पनि प्राज्ञले हार्वर्ड विश्वविद्यालयको नाम नसुनेको हुँदैन होला। संसारको कुनै पनि सगरमा पुग्दा हार्वर्डको विद्याको सागर बगिरहेको देख्न पाइन्छ होला।

हार्वर्ड ठूलो तथा आवासीय अनुसन्धान गर्ने विश्वविद्यालय हो। यसमा ५० ब्याचलर डिग्री १३४ मास्टर तथा विद्यावारिधि डिग्री, र ३२ वटा पेशागत याने कि प्रोफेसनल डिग्री सञ्चालन गरेको छ। यो कुरा थाहा पाउनेबित्तिकै मलाई नेपालका निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलको सम्झना आएको छ।

उनी आफू जागिरबाट उमेर हदले निवृत्त भएपछि हार्वर्ड विश्वविद्यालयमा पढ्न गएको कुरा नेपालका मिडियाहरूलाई गौरवशाली खुराक भएको थियो। अहिले जातिवादी चिन्तन बोकेको नेपालको परिवेशबाट हेर्दा म आफैँ पनि पोखरेल भएकाले बन्धु हार्वर्डमा पढ्नु मेरा लागि पनि गौरवको विषय हो।

मसँगका सारथी मेरो भदाहासालो संयोगले उनै भोजराज पोखरेलका भानिज पर्ने हुन्। उनले पो मलाई भनेका छन्, ‘जागिर रिटायर्ड भएका संसारभरिका उपल्लो पदका कर्मचारीलाई हार्वर्डमा रिफ्रेस्मेन्टका लागि पढाउने कोर्सको व्यवस्था गरेको छ।’

हार्वर्ड विश्वद्यिालयको गौरवले म पुलकित भइरहेको छु म। त्यही गौरवशाली विश्वविद्यालयको प्राङ्गणमा छु म। ती भवनलाई छुँदै हिँडिरहेको छु म। हामी हिँड्दै छौँ प्राङ्गणका भित्रभित्र। भवनका छेउछेउ। हरियो चौर। सफा रुखहरू। भित्रभित्र बनाइएका पक्की बाटाहरू।

ती बाटामा बग्रेल्ती हिँडिरहेका विद्यार्थीहरू। हिँड्दै जाँदा हामी मूल पुस्तकालयको मूल भवनअगाडि पुगेका छौँ। पुस्तकालयप्राङ्गणमा सयौँ विद्यार्थी छन्। कोही रुखमुनि बसेर आफ्नो ल्यापटप चलाइरहेका छन्। कोही पुस्तक फिँजाइरहेका छन्।

उनीहरू आफ्नो पढाइमा एकाग्र छन्। को गइरहेछ, को आइरहेछ उनीहरूलाई केही मतलब छैन। एक मात्र ध्यावन्ना पढाइको छ। सायद उनीहरूलाई हार्वर्डको डिग्रीको तृष्णाले डोर्याएको होला।

पुस्तकालयप्राङ्गणमा पुगेपछि सुमेशले भनेका छन्, ‘भिनाजु, यो पुस्तकालय विश्वप्रसिद्ध पुस्तकालय हो। यहाँ मिलियनका मिलियन पुस्तकसामग्रीहरू छन्। अत्याधुनिक प्रविधिले युक्त छन्। अमेरिकी पुस्तकालय एसोसिएसनका अनुसार यो पुस्तकालय संसारकै सबैभन्दा राम्रो प्राज्ञिक पुस्तकालय हो। खासमा भन्ने हो भने हार्वर्डलाई हार्वर्ड बनाउने नै यही पुस्तकालय हो।’

संसारकै पहिलो र्‍याङ्किङमा परिरहने विश्वविद्यालय हो हार्वर्ड। यहाँ संसारभरिका विद्यार्थीहरू पढ्छन्। एसियन, अफ्रीकन, ल्याटिनो हिस्प्यानिक, गोरा, युरोपियन जस्ता अन्तर्राष्ट्रिय विद्याथी हुन्छन्। याने कि संसारभरिका अब्बल र चेत भएका जेहेन्दार विद्यार्थीको केन्द्र हो हार्वर्ड। संसारभरिका जेहेन्दार विद्यार्थीका लागि कल्पना र सपना हो हार्वर्ड।

पुस्तकालयअगाडि एउटा प्रोफेसर आफ्ना केही चेलाचेलीलाई पछाडि लगाएर हिँडिरहेका छन्। अचम्म उनले जुत्ता, भेस्ट र हाफ प्यान्ट लगाएका छन्। काँधमा कम्प्युटरको झोला, आँखामा पावरफुल चस्मा छ। त्यो चस्मा हेर्दा नै लाग्दथ्यो कि यसले कति पुस्तक पढ्यो होला।

उसको अनुहारमा विद्वताको गौरव चम्किरहेको जस्तो लागेको छ मलाई। तर विश्वविद्यालयप्राङ्गणभित्र प्रोफेसरले हाफ प्यान्ट लगाएको दृश्य मेरा लागि नौलोनौलै हो। तर ऊ विद्वताले धपक्क बलेको छ।

मेरा सारथी सुमेशले भने, ‘भिनाजु, अमेरिकामा त ड्रेसकोड कतैकतै मात्र हुन्छ। यो देखिएको प्रोफेसर आफ्नो विषयको निकै तगडा होला। तर भिनाजु त्यसलाई आफ्नो विषयबाहेक अरू कुरामा मतलब पनि हुँदैन। आफ्ना विषयमा भने संसारकै सबै कुरा थाहा हुन्छ।’

मैले एकाएक त्यो प्रोफेसरसँग आफूलाई दाँजेको छु। म नेपालीको एउटा प्रतिनिधि पात्र हुँ, जसलाई नआउने कुनै कुरै छैन। राजनीति, अर्थनीति, धर्मनीति, इतिहास, साहित्य सवैका बारेमा बगम्फुसे बयान गर्न सक्छु। तर जब आफूले पढेको विषयको कुरा आउँछ म एकछिन पनि टिक्तिनँ। गफाडी छु म। आम नेपालीको जस्तो गफले नै चलेको छु म।

हामी लगातार हिँडि नै रहेका छौँ। हिँडदाहिँड्दै एउटा भवनको छेउमा खुला ठाउँमा कुर्सीमा बसेको यामानको सालिकमा पुगेका छौँ। त्यहाँ मान्छेहरू फोटो खिच्न लाइन लागेका छन्। पचासौँ जना मान्छेको त्यो लाइनमा हामी पनि उभियौँ।

फेरि हाम्रापछाडि पनि मान्छेले लामो लाइन निर्माण गरिसकेका छन्। सालिकको आधार झन्डै ५ फिट अग्लो छ। त्यो अग्लो आधारमाथि कुर्सीमा बसेको पादरी जोन हार्वर्डको ठूलो सालिक छ। सालिकको देब्रे खुट्टो आधारपिलरको छेउमै छ।

मान्छेहरू उक्लिएर त्यही सालिकको देब्रे खुट्टालाई छोएर फोटो खिचिरहेका छन्। त्यो सालिक कफी रङको छ। तर त्यो देब्रे जुत्ताको बूढीऔँलापट्टिको भाग भने खिइएर-खुइलिएर सुनौलो रङको देखिएको छ।

त्यो खाली चौरको नाम नै हार्वर्ड यार्ड रहेछ। बल्लबल्ल पालो पर्खेर हामी त्यो सालिकको नजिकमा पुगेका छौँ र धडाधड फोटो खिचेका छौँ। धित मारेर फोटो खिच्ने सम्भावना छैन। किन भने हामी पछाडि पचासौँ मान्छे छन् लाइनमा। फोटो खिच्ने त्यो देब्रे जुत्ताको बूढी औँलो ओगटेर बस्ने कुरा पनि भएन। असभ्यताको त्योभन्दा जब्बर नमुना अर्को के हुन्थ्यो र ?

फोटो खिची सकेपछि हामी बाहिर निस्कँदै छौँ। मैले सुमेशलाई भनेको छु, ‘जुत्ता समाएर फोटो खिच्न पनि यस्तो हम्मे ? यत्रो ठूलो लाइन ?’
अनि उनले जबाफ दिएका छन्, ‘भिनाजु, अहिले विद्यार्थी नभएर मात्र हो। नत्र त घण्टा पनि कुर्नु पर्ने हुन्छ फोटो खिच्न।’

मलाई अचम्म लागिरहेको छ कि त्यो देब्रे जुत्तालाई नै समातेर किन फोटो खिच्नु पर्ने होला ? त्यसको के अर्थ होला ? कारण के रहेछ भने त्यो सालिकको देब्रे जुत्तामा समाएर फोटो खिच्नु गुडलक मानिँदो रहेछ। त्यो देब्रे जुत्तालाई समाउनु नै गौरव रहेछ।

मान्छे कुनै शुभकार्यको थालनी गर्दा त्यो जुत्तालाई समाएर गुडलक माग्दा रहेछन्। शिक्षाको वरदान मानिँदो रहेछ त्यो देबे्र जुत्ता। नामको, उन्नतिको तथा ज्ञानको स्रोत मानिँदो हरेछ त्यो जुत्ता। ठिक हाम्रो पूर्वीय हिन्दु परम्परामा माता स्वरस्वतीको मूर्तिअगाडि उभिएर वरदान मागेझैँ रहेछ।

याने कि हाम्रो पूर्वीय शिक्षा परम्परामा गुरु देवो भवः भनेर गुरुको खुट्टा धोएर पानी खाने प्रचलनजस्तै रहेछ। हार्वर्डमा पढ्ने-पढाउने विद्यार्थी-प्रोफेसरको त यो परम्परा नै रहेछ। त्यसबाहेक संसारभरिबाट त्यही देब्रे जुत्ता समाएर फोटो खिच्न बोस्टन यात्रा गर्ने एउटा लक्ष हुँदो रहेछ यात्रुको।

अझ गजबको कुरा त के भने संसारभरिका मान्छेलाई थाहा छ कि यो सालिक सन १८८४ मा काँसको धातुबाट बनाइएको हो। त्यो बेला जोन हार्वर्ड स्वर्गवास भएको पनि २४६ वर्ष भइसकेको थियो। यो सालिकलाई फ्रेन्च कलाकार ड्यानियल चेस्टरले बनाएका थिए। तर यो खासमा उनकै सालिक चाहिँ होइन रे अझ। सिम्बोलिक हो रे।

यो सालिक बनाउनका लागि जोन हार्वर्डका सन्तानको खोजी भएको थियो। तर त्यो बेला कोही सन्तान जीवित थिएनन् वा सन्तान नै थिएनन् वा सन्तान फेला परेनन्। त्यस कारण हार्वर्ड विश्वविद्यालयका पूर्व विद्यार्थी तथा मासाच्युसेका संघीय संसदमा डेमोक्य्राटिक पार्टीका सांसद शेरम्यान होरलाई मोडल बनाएर राखिएको थियो।

त्यही मोडेलका आधारमा यो सालिक बनेको थियो। त्यो सालिक पूरापूर भौतिकवस्तु थियो। त्यो सालिक देखादेखी भौतिक थियो। तर त्यो सालिक भौतिक वस्तु हो भनेर जान्दा जान्दै पनि भौतिक मान्छे कुँडुलो परेर त्यो देब्रे जुत्ता समाउन त्यहाँ पुग्थे। त्यो सालिक इसाइ पादरीको हो भनेर जान्दाजान्दै इसाइइतर धर्मावलम्वी धार्मिक आडम्बर त्यागेरै भए पनि सो देब्रे जुत्ता समाउन पुग्थे।

मेरो सैतान दिमागले एक पल्ट त भनेको छ कि अमेरिकामा पनि कस्तो अन्धविश्वास हो यो। हार्वर्डका विद्यार्थीको कस्तो अन्धविश्वासी रीत होला। त्यत्रो विज्ञानले बनाएको कारण तथा परिणामका सूत्रहरू पढाइ हुने त्यो विश्वविद्यालयमा त्यस्तो अन्धविश्वास ?? तत्क्षण मेरो दिमागका पत्रमा मेरा हात समाएर कखग लेख्न सिकाउने नवराज अधिकारी गुरुको सम्झना आयो।

स्कुले जीवनमा लट्ठी लिएर सही बाटोमा हिँड्न लगाउने धेरै गुरुहरूको नाम सररर आयो। कलेजमा फुक्र्याइफुक्र्याई ‘तिमी त जान्ने छौ, अलि मिहिनेत गर्यौ भने तिम्रो भविष्य उज्ज्वल छ’ भनेर उच्च शिक्षा दिने गुरुहरूको सम्झना आयो। मैले घ लेख्न नजानेका बेला सत्यनारायणको पूजा लगाएर घ लेख्न सिकाइ माग्ने मेरी आमाको सम्झना आयो। हातमा लौरो लिएर पहाडा घोक्न लगाउने बुवालाई सम्झिएको छु।

अनि ती सम्झाइमा म यसरी वसीभूत भएको छु कि अहिले नै ती तमाम गुरुको खुट्टा समाएर आफ्नो गुडलकको कामना गरूँ। अनि मनमा लाग्यो कि पादरी जोन हार्वर्डको दानवीर र शिक्षाको चेतलाई सम्मान गर्नका लागि यो कृत्य स्तुत्य नै लाग्यो। यो बेलामा भौतिक शास्त्रका सूत्रहरू काम नलाग्ने पनि ठहर गरेँ।

अनि तत्क्षण मेरो दिमागमा आयो कि खोइ मेरो त्रिविमा यस्तो परम्परा ? गुरुभक्तिको यस्तो परम्परा ? नेपालमा मान्छे कि त धार्मिक अन्धविश्वासमा परेर भगवानको रूप मानेर व्यक्ति पूजा याने कि गुरुको पूजा गर्छन्। कि त गुरुको खिल्ली उडाउँछन्। खासमा त न गुरु गुरुजस्ता छन्।

न चेला चेलाजस्ता छन्। तर त्यो पादरी जोन हार्वर्डलाई बुझाउने सिम्बोलिक सालिकको देब्रे खुट्टो इसाइका लागि मात्र होइन, संसारका सबै धर्मावलम्वीका लागि उत्तिकै महत्वको छ। सबैलाई थाहा छ कि त्यो काँसको सालिक हो। सिम्बोलिक हो।

यसो भएकाले यो बेला म आफैँ सोचिरहेको छु। म यदाकदा भन्छु कि भगवान ढुङ्गामा हुँदैन। भगवान कुनै मूर्तिमा हुँदैन। तर जब मैले पादरी जोन हार्वर्डको देब्रे खुट्टा समाएर फोटो खिच्दै छु मलाई ज्ञात भयो कि ढुङ्गामा देवता हुने रहेछ। मूर्तिमा देवता हुने रहेछ। त्यो मूर्ति बोल्छ र भक्तजनलाई गुडलक दिँदो रहेछ। यो एउटा एकाग्रताको तिब्र मनोवैज्ञानिक क्रियाप्रतिक्रिया हो।

त्यो कुन शक्ति हो जसले त्यो देब्रे जुत्तालाई छुन मान्छे लालयित हुन्छ ?? मान्छे किन त्यो सालिकको देब्रे खुट्टा छोएर मात्र शुभकार्यको थालनी गर्छ ? यति बेला मेरा मनमा लागिरहेको छ कि पादरी जोन हार्वर्डको कृत्य नै यस्तो गौरवशाली भएर संसारमा देखापर्‍याे कि मान्छे उनको सालिक देख्दा नतमस्तक बन्न पुगिहाल्दो रहेछ।

हार्वर्ड विश्वविद्यालयका भवन तथा विश्वख्याति देखेर मान्छे श्रद्धाले शिर झुकाउँदो रहेछ। त्यो चेतका अगाडि सबै विभोर हुँदारहेछन्। खैर यो भौतिक तथा पराभौतिक वादविवादमा पर्ने कुरा आउँदैन। तर पनि म यति बेला पादरी जोन हार्वर्डलाई सम्झिरहेको छु कि आफ्नो तीस बर्से उमेरमै कस्तो चेत होला उनको कि आफ्नो आधा बहुमूल्य सम्पत्ति दान दिएर सत्कार्यमा मन लाग्ने। नत्र त म नेपालका कैयौँ करोडपतिलाई चिन्दछु।

अरबपति र खरबपतिलाई चिन्दछु, जो चितामा जल्ने अवस्था हुञ्जेलसम्म सुरुवालका इँजारमा पैसा लुकाउँछन् र मरेपछि छोराहरूमा उही रोग सारिदिन्छन्। रडाको र कलहको बीउ रोपिदिन्छन्। र आफू एउटा देस्यानले प्याट्ट मरेपछि सकिन्छन्। पञ्चतत्त्व आआफ्ना ठाउँमा मिलेपछि उसको भौतिक मात्र होइन, पराभौतिक नाम पनि सकिन्छ।

यस्तै यस्तै सोच्दै छु। दिन ढल्किन थालेको छ। फिर्नु छ फेरि न्युयोर्क। म गाडीमै तन्द्रामा पुगेँछु। म तन्द्रामा पनि ती ३१ बर्से किसोर वयमै महाप्रस्थान सुरु गरेका पादरी जोन हार्वर्डलाई सम्झिरहेको रहेँछु। उनको चेतलाई सम्झिरहेको रहेँछु। उनको सत्कार्यलाई उनकै सालिकको देब्रे जुत्तालाई छोएर उनैमाथि श्रद्धा गर्दै रहेँछु। म त गजबले एकोहोरिएँ छु।

आफैँलाई औडाहा भएछ। र, आफ्नै जीवन जो जोन हार्वर्डभन्दा दोब्बरभन्दा पनि बढी बाँचिसकेको छ, त्यसलाई अचम्मसँग सोद्धै रहेँछु कि मैले मेरा जीवनको कति समयलाई निस्वार्थ सार्वजनिक हितका लागि लगाएँ हँ ? म बाँचे कि मरेँ हँ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *