विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

डिसी नेपाल
२ कार्तिक २०८१ ११:५२

काठमाडाैं। बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, र पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ध्यानाकर्षण पत्र बुझाउदा पनि सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा सरकार लागिपरेको भन्दै यस बिषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बाढी पहिरो लगायत विपत्तिमा सरकारले प्रभावकारी रुपमा खोज, उद्धार, राहतका काम गर्न नसकेको बताए ।

उक्त बिषयमा विपक्षी दलहरुको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र सुनुवाई नभए विशेष अधिवेशन बोलाउने निर्णय भएको उनले बताए। सरकारले पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको उनको भनाइ छ । बस्नेतले राजनीतिक पूवाग्रहका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने जिकिर गरेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णरुपमा असफल भएको भन्दै बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिने निष्कर्ष निकालिएको जानकारी दिए । उनले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाउने नियत राखेको भन्दै सजकताका साथ अघि बढ्ने धारणा राखे।

बैठकले सरकारलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराउनका लागि कार्यदल समेत गठन गरिएको उनले जानकारी दिए। उनले सवै बिषयमा ध्यानाकर्षण गराउदा पनि बिपक्षी दललाई पेल्ने काम भए बिशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने उल्लेख गरे।

रास्वपा नेता शिशिर खनालले बिपक्षी दलले बनाएको कार्यदलले आगामी कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि बिपक्षी दलबीच समन्वयनको काम गर्ने जानकारी दिए । कार्यदलमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *