चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

डिसी नेपाल
४ कार्तिक २०८१ ७:२२

दाङ। गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ।

नजिकै आगो बालेको धुवाँ आइरहेको छ। आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ। गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् ।

घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिइन् । उनले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताइन् ।

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उनले सुनाइन् । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भनिन् । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको उनले बताइन् ।

उनले भनिन्, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताइन् । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उनले बताइन् ।

बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताइन् । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताइन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *