नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध छ: उपाध्यक्ष घिमिरे

डिसी नेपाल
४ कार्तिक २०८१ १८:५३

काठमाडौं। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको बताएकी छन्।

नेपाल भ्रमणमा रहेको चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधीमण्डलले आयोजना गरेको अन्तरकृया कार्यक्रममा आइतबार बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीति प्रतिबद्ध रहेको बताएकी हुन् ।

‘नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध छ , यसमा सधै स्पष्ट र अटल पनि छ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै उपाध्यक्ष घिमिरे भनिन्, ‘हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो। यो प्रतिबद्धतामा हामी अडिग छौँ।’ उनले नेपाल र चीन असल मित्र र भरपर्दो साझेदारका रुपमा रहँदै आएको पनि बताइन्।

व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि प्रत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको चर्चा गर्दै उपाध्यक्ष घिमिरिेले नेपालका लागि चीनका बन्दरगाह सम्म पुग्ने वातावरण बनेको र कोभिडका समयमा बन्द भएका सबै नाकाहरु सुचारु भएका कारण दुई देशका बिचको ब्यापार तथा सिमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको बताइन्।

उनले पछिल्लो समयमा चीन र नेपालबीच सम्पन्न भएका विभिन्न सम्झौता र समझदारीहरूले रणनीतिक सडक सञ्जाल र राजमार्ग, हवाई मार्ग, रेलमार्ग र पारवहन सुविधा, र नवीकरणीय ऊर्जा विकास र विद्युतका प्रसारण लाईन बनाउने कुरामा महत्वपूर्ण उपलब्धी हासिल हुने बिश्वास लिएको बताइन्।

चीन सहित नेपाल र ट्रान्स-हिमालयन क्षेत्रका देशहरू बीचको व्यापार, पारवहन र कनेक्टिभिटीलाई बढाउँदा यस क्षेत्रले महत्वपूण फड्को मार्न सक्ने धारणा राख्दै उपाध्यक्ष घिमिरेले नेपालले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारको ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको उल्लेख गरिन्।

उनले ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई नेपालले उच्च प्राथमिकताका योजनाहरूको रूपमा कार्यान्वयन गर्न चाहेको र यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक बन्ने बिश्वास पनि ब्यक्त गरिन्।

चीनले नेपाललाई रेल, सडक, विद्युत, दूरसञ्चार, हवाईमार्ग मार्फत जोड्ने र चीन हुँदै नेपाललाई बाहिरी विश्वसँग जोड्ने काम प्राथमिकतामा राख्नु जरुरी रहेको बताउँदै उपाध्यक्ष घिमिरेले यसले नेपालको आर्थिक विकासमा नयाँ युगको सुरुवात गर्ने बताइन् ।

नेपालमा कृषि उत्पादकत्व र दक्षता बढाउन चिनियाँ कृषि प्रविधिको प्रसार र कृषिको यान्त्रीकरणलाई प्रयोगमा ल्याउन तथा चीनका बिभिन्न शहरबाट पोखरा र भैरहवास्थित अन्तराष्ट्रिय विमानस्थलमा सोझो हवाई सेवा सञ्चालन गर्दा नेपालले पर्यटनबाट ठुलो लाभ लिने पनि उपाध्यक्ष घिमिरेको भनाइ थियो ।

कार्यक्रममा चीनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *