दुई डिआइजी एआईजी बढुवामा सिफारिस

डिसी नेपाल
५ कार्तिक २०८१ ७:३५

काठमाडौं। गृहमन्त्रालयले दुई डिआइजीलाई एआइजीमा सिफारिस गरेको छ। उमेरहदका कारण अवकाश हुन लाग्दा डिआइजी किरण राणालाई एआइजीमा सिफारिस गरेको हो। राणा १२ दिनपछि उमेर हदका कारण अवकाशमा जाँदैछिन्।

गृह मन्त्रालयले आइतबार बेलुकी बढुवा समितिको बैठक बोलाई राति नै सिफारिस सूची प्रकाशित गरेको छ। राणासँगै प्रहरी अस्पतालमा कार्यरत प्राविधिक डीआइजी डा. सुन्दरप्रसाद ह्वोजु पनि एआइजी बढुवा सिफारिसमा परेका छन्।

प्रशासन समूहमा राणा र प्राविधिकमा ह्वोजु एकल सिफारिस भएका हुन्। भदौ २६ मा उमेरहदकै कारण अवकाश भएका एआइजी श्यामलाल ज्ञवालीको रिक्त दरबन्दीमा राणालाई बढुवा गर्न सिफारिस गरिएको हो।

यसअघि सरकारले अवकाशको मुखैमा डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गर्‍यो। तर, मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत नहुँदै असार २१ गते उमेरहदका कारण उनले डीआइजी दर्जामै अवकाश पाए।

सिफारिस गरेर पनि बढुवा स्वीकृत नगरिँदा आफूमाथि अन्याय भएको भन्दै उनले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ। कात्तिक १६ मै अर्का एआइजी रामदत्त जोशीको पनि अवकाश हुँदैछ। यसपछि एआइजीको दुई पद रिक्त हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *