अन्तिम समयमा आएर युरो टी–२० प्रतियोगिता रद्द
एजेन्सी । पहिलो पटक युरोपमा आयोजना हुन लागेको युरो टी–२० क्रिकेट प्रतियोगिता अर्को नोटिस जारी नहुँदासम्मका लागि रद्द गरिएको छ । आयोजकले प्रतियोगिता सुरु हुन दुई साता अगाडी अर्को नोटिस नआउँदासम्मका लागि स्थगित भएको जनाएका छन ।
युरो टी–२० का नाममा आयोजना हुन लागेको प्रतियोगिता नहुनसक्ने पनि बताइएको छ । पछिल्लो पटक क्यानडामा आयोजना भएको ग्लोबल टी–२० लिग आयोजकले नै यो प्रतियोगिता गर्न लागेका हुन् । ग्लोबल प्रतियोगितामा नै खेलाडीले पैसा नपाएको भन्दै खेल्न नमानेको समाचार बाहिर आएका बेला यूरो टी–२० मा खेलाडीलाई दिनसक्ने रकम आयोजकसँग नभएको बताइएको छ । गुरमित सिंहको बन्बे स्पोर्टस लिमिटेड र उड्स इन्टरटेनमेन्ट दुबैले ग्लोबल र युरो दुबैमा हात हालेका थिए ।
खेलाडीले आयोजकलाई पैसा उपलब्ध गराउन दबाव दिएपछि त्यो अवस्था अबको प्रतियोगितामा नआओस भनेर मंगलबार बसेको आपतकालिन बैठकले युरो टी–२० लाई सार्ने निर्णय गरिएको हो । प्रतियोगिताका आयोजकले विज्ञप्ती निकाल्दै रकमका लागि साझेदार, फ्रेन्चाइजी मालिकको निर्णयका आधारमा यो बर्ष यो प्रतियोगिता आयोजना गर्न संभव नभएको उल्लेख गरेको छ ।
यो प्रतियोगिताका लागि विभिन्न देशका स्टार खेलाडीलाई मार्की खेलाडी राखिएको थियो । जसमा रसिद खान, इयोन मोर्गन, डेल स्टेन, बाबर आजम, फाफ डुप्लेसिस रहेका छन । आयोजकले यो प्रतियोगिता रद्द गरेको बारेमा खेलाडी पुर्ण रुपमा जानकार नभएको बताइएको छ ।
Facebook Comment