कविता : आन्दोलन यस्तो होस्

सुरेश भट्ट आश्रिन
६ कार्तिक २०८१ १०:२५

जहाँबाट हरेकले नयाँ कुरा सिकुन्
विनित भएर बोल्न सिकुन्
रचनात्मक बन्न सिकुन्
आन्दोलन सौम्य र शान्त होस्।

आन्दोलनले रगत माग्दैन
आन्दोलनले सहिद माग्दैन
आन्दोलनले अराजकता चाहँदैन
आन्दोलनले कसैको घर उजाडदैन
आन्दोलनले बीस-वमन गर्दैन
आन्दोलनले तेरो र मेरो मुद्दा भन्दैन
आन्दोलनले देश बोक्छ।
आन्दोलनकारीहरुले देशको वेथिती बोकुन् ।

माछापुच्छ्रेले आन्दोलनमा
आफ्नो प्रतिविम्ब देखोस्
फेवाले तन-मन शुद्धीकरण गराओस्
वेगनासले वेगले ॐ ध्वनि बोलोस्
यस्तो देखियोस –
बुद्धका अनुयायीहरु ध्यानका लागि
जलसेचन गरिरहेका छन् ।

झोला बोक्नेहरुले
उग्रवामपन्थी विचारका झोला फालुन्
नेताका कार्यकर्ता नबनुन्
बनुन त नीति-शास्त्रको बटुक बनुन् ।

आन्दोलनले ब्यक्ति नबोकोस्
ब्यक्तिका निजि स्वार्थ नबोकोस्
आन्दोलन यस्तो होस् –
जस्ले भोको पेटको गाँस बोकोस्
ओतको लागि बास बोकोस्
र ,
नाङ्गो आङको कपास बोकोस ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *