बंगलादेशको विद्यार्थी आन्दोलनमा आँखाको ज्योति गुमाएकालाई नेपालबाट कर्निया पठाइयो

डिसी नेपाल
६ कार्तिक २०८१ १२:३९

काठमाडौं । बंगलादेशमा आरक्षणको विरोधमा गएको जुलाई र अगष्ट महिनामा भएको विद्यार्थी आन्दोलनमा आँखाको ज्योति गुमाएका पीडितहरुलाई पुनः आँखाको ज्योति दिने काममा नेपालले सहयोग गरेको छ । आन्दोलनमा घाइते भएर आँखाको ज्योति गुमाएका दुई बिरामीलाई आँखाको कर्निया प्रत्यारोपण गर्नको लागि नेपालबाट कर्नियाका तन्तु पठाइएको छ ।

यी दुई बिरामीहरु आन्दोलनमा घाइते भएर आँखाको कर्निया प्रत्यारोपण गरिने पहिलो बिरामी हुनेछन् । बंगलादेशको मिडिया द फाइनान्सियल एक्सप्रेसका अनुसार यी बिरामीहरुको आँखाको शल्यक्रिया बंगलादेशको नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी एण्ड हस्पिटलमा गरिनेछ । शल्यक्रियाका लागि आँखाको कर्नियाका तन्तुहरु विमान बंगलादेशको आकस्मिक उडानमार्फत नेपालबाट बंगलादेश लगिएको छ ।

कर्निया तन्तु नेपालबाट बंगलादेश पठाउने व्यवस्था सेबा फाउण्डेशनले गरेको हो । फाउण्डेशनले घाइतेहरुको उपचारको लागि ४० कर्निया उपलब्ध गराउन आग्रह गरेको थियो । तीमध्ये पहिलो २ कर्निया नेपालबाट पठाइएको हो ।

बंगलादेश सरकारका स्वास्थ्य सल्लाहकारका अनुसार आन्दोलनको क्रममा ४०० जनाले आँखाको ज्योति आंशिक वा पूर्ण रुपमा गुमाएका छन् । यो आन्दोलनको क्रममा ७७० जनाको मृत्यु भएको र २२ हजारभन्दा बढी घाइते भएको बंगलादेश सरकारको आधिकारिक तथ्यांकले देखाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *