सत्ता जोगाउने लालसाले ओली अत्यन्तै कमजोर, अध्यादेशको समेत ‘च्याप्टर क्लोज’!

डिसी नेपाल
६ कार्तिक २०८१ १३:५०

काठमाडौं। सत्ता जोगाउने लालसाले कांग्रेसका मागहरु मान्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आएयताकै सबैभन्दा कमजोर स्थितिमा पुगेका छन्। आफ्ना मागहरु पूरा गराएपछि कांग्रेसले ओलीका कुरा सुन्न छाडेको छ र ओलीले आफूले काखी च्याप्दै आएका सहयात्रीहरुसमेत गुमाएका छन्।

कांग्रेसको दबाब थेग्न नसकेकै कारण ओलीले पूर्व गृहमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सहमत भएका थिए। रविको विषयलाई लिएर कांग्रेसले लामो समयसम्म संसद नै अवरुद्ध गरेको हुनाले उनलाई पक्राउ गर्ने विषय कांग्रेसको लागि प्रतिष्ठाको विषय थियो।

कांग्रेसको प्रतिष्ठा जोगाउने चक्करमा ओलीले आफूले काखी च्याप्दै आएका रवि लामिछानेलाई समेत आफूविरोधी कित्तामा हुत्याएका छन्।

रवि लामिछाने पहिलोपटक संसद भवन प्रवेश गर्दै गर्दा ओलीले नै उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाएका थिए। सरकारको नेतृत्व माओवादीलाई दिएर रविलाई उपप्रधानमन्त्री बनाउँदै आफूतर्फ तानेका ओलीले प्रचण्डलाई अर्को पटक प्रधानमन्त्रीको रुपमा समर्थन गर्दा पनि रविलाई उपप्रधानमन्त्री र गृहमन्त्री नै बनाए। तर, अहिले आफैं प्रधानमन्त्री भएका बेला रविलाई पक्राउ गरेर उनी रविको तारोमा परेका छन्।

ओलीले भनेझैं अहिले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा त्यसले ओली र एमाले मात्रै बलियो हुने कुरा सभापतिजीले राम्रोसँग बुझ्नु भएको छ। विभाजन सम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै पनि फाइदा गर्दैन। अनि ओलीलाई मात्रै बलियो बनाउने काम कांग्रेसले किन गर्ने?

पोखरा जिल्ला अदालतमा पेश गर्नका लागि लगिँदै गर्दा रविले संचारकर्मीसँग दिएको प्रतिक्रियाले पनि उनी ओलीसँग कतिसम्म रुष्ट छन् भन्ने झल्काउँछ। अर्कोतर्फ आफैंले समर्थन गरेर प्रधानमन्त्री बनाएका प्रचण्डलाई गलहत्याउँदै आफैं सत्तारोहण गर्न पुगेका ओलीसँग प्रचण्ड पनि असन्तुष्ट छन्।

ओलीका लागि अहिले मुख्य आड भनेको सत्ता हो। सत्ताबाहेक उनीसँग कुनै बलियो आधार छैन। सहयोगीहरुलाई बिच्क्याइसकेका ओलीले कांग्रेसको साथ छोड्ने हो भने उनी एक्लिने अवस्था छ। तर, कांग्रेससँग टाँसिएरै बस्दा पनि ओलीलाई कुनै फाइदा हुने संकेत देखिएको छैन। कांग्रेसले ओलीलाई प्रयोग गरेर आफ्नो मात्रै दुनो सोझ्याउने संकेत गरिसकेको छ।

कांग्रेसको दबाबमा रविलाई पक्राउ गर्न सहमत हुँदै गर्दा ओलीले राजनैतिक दलसम्बन्धी अध्यादेश ल्याउनका लागि कांग्रेसको सहयोग मागेका थिए। यो अध्यादेश ल्याएर माधव नेपालको पार्टी एकीकृत समाजवादी फुटाउने र उपेन्द्र यादवसँग अलग्गिएका अशोक राईको पार्टीलाई वैधानिकता दिने ओलीको दाउ थियो। तर, कांग्रेस अध्यादेशको विषयमा ओलीलाई साथ दिने पक्षमा देखिँदैन।

ओलीको मागअनुसार अध्यादेश ल्याउँदा यसले केवल ओलीलाई फाइदा हुने बरु आफूलाई उल्टै घाटा हुन सक्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले बुझेको देउवानिकट एक नेता बताउँछन्।

‘अरु पार्टी फुटाउनेगरी अध्यादेश ल्याउँदा फुटेकाहरु एमालेमै गाभिने अवस्था छ र यसले एमालेलाई मात्रै फाइदा हुन्छ’ ती नेताले भने ‘इतिहासदेखिको मुख्य प्रतिस्पर्धी एमाले बलियो हुनु भनेको कांग्रेसलाई घाटा हुनु हो भन्ने कुरा सभापतिले बुझ्नुभएको छ।’

स्रोतका अनुसार देउवा माधव नेपालप्रति सदाशयता राख्छन्। एमालेमा छँदै विद्रोह गरेर देउवालाई साथ दिँदै प्रधानमन्त्री बनाएका कारण माधव नेपाललाई नोक्सानी हुनेगरी कुनै कदम चाल्न देउवा तयार छैनन्। माधव नेपालको पार्टी बलियो हुँदा एमालेकै भोट काटिने र यसले कांग्रेसलाई सहयोग पुग्ने कुरामा देउवा जानकार रहेको उनीनिकट नेता बताउँछन्।

‘ओलीले भनेझैं अहिले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा त्यसले ओली र एमाले मात्रै बलियो हुने कुरा सभापतिजीले राम्रोसँग बुझ्नु भएको छ,’ देउवा निकट एक नेताले डिसी नेपालसँग भन्यो, ‘दल विभाजन सम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै पनि फाइदा गर्दैन। अनि ओलीलाई मात्रै बलियो बनाउने काम कांग्रेसले किन गर्ने?’

यतिबेला राजनीतिक रुपमा ओलीसँग आफू तल पर्ने कुनै पनि सम्झौता गर्नुपर्ने अवस्थामा कांग्रेस नरहेकोमा देउवा स्पष्ट छन्। अहिले ओली र देउवा एक अर्कालाई चिढ्याएर जान सक्ने अवस्थामा छैनन्। सबत्र आलोचित बन्दै आएका ओलीका लागि सत्ता नै प्रमुख चिज हो।

अहिले अध्यादेश ल्याउनबाट रोक्दा ओलीले बल मिच्याईँ गरेर जान सक्ने अवस्था नरहेको देउवाको निष्कर्ष छ। माधव नेपालको पार्टी विभाजन हुँदा त्यसको फाइदा ओली र एमाले मात्रै पाउने र आगामी चुनावमा त्यसको प्रत्यक्ष असर कांग्रेसमा पर्छ। चुनावमा माधव नेपालको पार्टीले एमालेकै भोट काट्ने हो। अहिले माधव नेपालको पार्टी विभाजित हुँदा त्यो भोट सबै एमालेमा जानेप्रति देउवा सचेत रहेको स्रोतले बतायो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *