अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्ण: राष्ट्रियसभा अध्यक्ष दाहाल

डिसी नेपाल
६ कार्तिक २०८१ १९:२८

काठमाडौं राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताएका छन्।

अन्तर–व्यवस्थापिका संघ (आइपियु)को एक सय ४९औँ महासभामा सहभागी भई स्वदेश फर्केपछि आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आइपियुको महत्वपूर्ण भूमिका रहने बताए।

औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आइपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको संघीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्वसमुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो।

महासभाका क्रममा एसिया–प्यासिफिक समूहको बैठक र दिगो विकाससम्बन्धी छलफलमा सांसद कृष्णप्रसाद पौडेल र तारामान स्वार तथा महिला तथा युवा सांसदको फोरममा सुनिता बराल र निशा डाँगी सहभागी भई आफ्ना विषयवस्तु राखेको अध्यक्ष दाहालले जानकारी दिए।

महासचिवहरूको फोरममा महासचिव पद्मप्रसाद पाण्डेले संसद् र नागरिकको सहभागिता, संसद्मा समाचार र नवप्रवर्तन, संसदीय समितिबीच प्रतिस्पर्धात्मक व्यवस्थापनलगायत छलफलमा सहभागिता जनाएका थिए। एक सय ८१ राष्ट्र सदस्य रहेको आइपियुको महासभामा एक सय ३० भन्दाबढी राष्ट्रका करिब एक हजार पाँच सय प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *