उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन

डिसी नेपाल
८ कार्तिक २०८१ ८:४०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूरा भएको छ।

बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे। उनले आफूले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पूरा गरेको दाबी गरे। बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे।

ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नु अघि यो सरकार निर्माणको पृष्ठभूमि बारे चर्चा गर्नु सही हुन्छ।

यो सरकार देशकै ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो। सामान्यतया धेरै कम पटक यस्तो अवसर आउछ, जहाँ देशका प्रमुख प्रतिद्वन्द्वी दल मिलेर सरकार बनाउँछन्। हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ। प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालै पालो धोका खाएका कांग्रेस-एमाले एक ठाउँमा आएर र सरकार बनाए।

जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ।

अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त? ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिँदैन।

देशमा परेको ठूलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो। राजधानीमै सरकार उद्धार गर्न असफल भयो। पूर्व तयारीमा काम गरेको देखिएन। सरकारकै संयन्त्रले पूर्व सूचना दिएर चेतावनी दिँदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो।

यति ठूलो प्राकृतिक विपदमा न त सरकारको पूर्व तयारी देखियो न त विपदपछि सक्रियता नै। उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो।

न त यस अघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भीषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो। यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन। अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुँदा अमेरिकामा बरालिँदै गरेको पाइए। उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन्।

अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्बजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन्। यो उपलब्धि कसरी भयो र? यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन।

एउटा उदाहरण नै लिऊ, ओली सरकारको पहिलो निर्णय कीर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो। सय दिनमा के के भयो त? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्छन्? अहिले पनि तयारी हुँदै छ, निर्देशन दिएका छौं, पहल गर्दै छौं भन्छन्। हो समस्या यही निर नै हो।

प्रधानमन्त्रीले दुध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नु भएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त। यस्ता अति सामान्य र नगरि नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैंले आफ्नो उपहास गरेको देखिन्छ।

प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गरे भन्ने हो। सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो?

सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तिर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन।

प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत वितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छँदै छैन।

हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले। सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ। त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए। नयाँ कुरा केही भएनन् वा सरकारले गर्न सकेन।

राजनीतिक रुपमा कांग्रेस-एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउने बाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति केन्द्रित हुने सम्भावना नै देखिँदैन। किनकि कांग्रेस-एमाले मनदेखि मिलेका छैनन्। उनीहरुबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ।

उनीहरु अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकि भोलि एक अर्काविरुद्ध चुनाव लड्नुनै छ, टाढा हुन पनि सकेका छैनन् किनकि अहिले मिलेर सरकार पनि चलाउनु छ।

अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *